arrow

काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेमा अधिकांश नेता एकमत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
519902137.jpeg
सिबी अधिकारी।काठमाडौँ। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने सो पार्टीका अधिकांश नेताहरुको अभिमत रहेको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान निर्माणको नेतृत्वकर्ता ठूलो दल भएका हैसियतले संविधानको कार्यान्वयनका लागि पनि काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राखेका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय समितिको बैठकमा ५६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो। यद्यपि काँग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्ने विषयमा केन्द्रीय समिति एकमत भए पनि नेतृत्व कसले गर्ने भन्नेबारे टुङ्गोमा पुगेको छैन। पहिला सरकारको नेतृत्व काँग्रेसले लिने निर्णय गरिने र त्यसपछि उम्मेदवारका विषयमा पुनः केन्द्रीय समितिले नै टुङ्गो लगाउने जनाएको छ। बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले अहिलेको अवस्थामा काँग्रेसको नेतृत्वमै सहमतिको सरकार हुनुपर्छ भन्ने धारणा आएको बताउनुभयो।
 
“संस्थागत रुपमा काँग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने निर्णयमा पुग्नेबित्तिकै कुन व्यक्तिले नेतृत्व गर्छ भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्छ”– उहाँले भन्नुभयो। बैठकमा बोल्ने अधिकांश सदस्यले मुलुकको पछिल्लो अवस्था, संविधान निर्माणपछिको सफल कार्यान्वयन र मधेसमा देखिएको समस्या समाधानका लागि पनि काँग्रेसले नेतृत्व गर्नुपर्ने आवाज उठाएका छन्।
 
प्रवक्ता बडूले मुलुकमा प्राप्त उपलब्धिलाई सुरक्षित ढङ्गले संस्थागत गर्नुपर्ने भएकाले जिम्मेवार पार्टीको नाताले काँग्रेसले नै नेतृत्व गर्नुपर्दछ भन्ने अधिकांश केन्द्रीय सदस्यले आवाज उठाएको र बाँकी सदस्यले बोलिसकेपछि संस्थागत निर्णय हुने बताउनुभयो ।
 
नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्छ, भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता बडूले भन्नुभयो– “उहाँहरु (केन्द्रीय सदस्यहरु) को एकमात्र विचार अहिले पार्टीले नेतृत्व गर्नुपर्छ भन्ने सबैको एकमत छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्छ, बनाउनुपर्छ, मुलुकको अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्वले मात्रै परिस्थितिलाई सम्हाल्न र हिमाल, पहाड र तराईलाई समेटेर निकास दिनसक्छ भन्ने राय प्रकट भएको छ, यसबारे भोलि सबैको विचार सुनेपछि पार्टीले संस्थागत निर्णय गर्छ ।”
 
सरकार नेतृत्वबारे पार्टीभित्र संस्थागत निर्णय गर्नुपर्ने चर्को आवाज उठेपछि पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले संस्थागत निर्णयका लागि आज केन्द्रीय समितिको बैठक बोलाउनुभएको हो। बैठकमा हरेक सदस्यले बोल्न चाहेकाले बैठक लम्बिएको बताइएको छ । काँग्रेस केन्द्रीय समितिमा ८४ जना सदस्य हुनुहुन्छ ।
 
अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि बैठकमा बोल्ने अधिकांश सदस्यले संविधान निर्माणको नेतृत्वकर्ता र सबैभन्दा ठूलो दलको हैसियतले र अहिले देखिएका समस्याको समाधान गर्न काँग्रेस नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने अत्यधिक धारणा आएको बताउनुभयो। राष्ट्रपति डा रामवरण यादवले एक साताभित्र सहमतिको सरकार गठनका लागि दिनुभएको समयावधि आज समाप्त हुँदैछ। भोलि बस्ने व्यवस्थापिका– संसद्को बैठकमा सहमति नभए बहुमतीय आधारमा सरकार गठन गर्ने प्रक्रिया सुरु हुनेछ।
 
संविधान जारी भएपछि सहमतीय सरकार गठनका विषयमा छलफल गर्न आज बैठक बसेको हो। राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा आज सकिँदैछ। काँग्रेस केन्द्रीय समितिको अर्को बैठक भोलि बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ