arrow

डाक्टरको अभाव, भिडियो एक्सरे बन्द : सेवा प्रभावकारी बनाउन भन्दै सीसी क्यामेरा जडान

प्रमुख र अध्यक्षको कार्यकक्षमा सीसी क्यामेरा छैन

logo
प्रकाश बम,
प्रकाशित २०७३ असार १५ बुधबार
CC-tV-jadan-doctor-6e-na.jpg.jpeg
डोटी । स्वास्थ्य सेवा प्रभावकारी बनाउन भन्दै जिल्ला अस्पताल डोटीमा सीसी क्यामेरा जडान भएको छ । सेवा सुविधा प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुले गर्ने गरेको गुनासोलाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
 
अस्पतालको सुदृढीकरण योजनाबाट पाँच वटा सीसी क्यामेरा जडान गरीएको जनाइएको छ । सेवाग्राहीलाई अस्पतालबाट प्रदान गरीने सेवाहरु स्वास्थ कर्मीहरुले के कसरी दिइरहेका छन् भन्ने कुरा को प्रत्यक्ष निगरानीका लागि यस्तो कार्य गरीएको बरिष्ठ जनस्वास्थ अधिकृत रिता भण्डारी जोशीले बताइन् ।
 
सेवाग्राहीलाई सहज रुपमा सेवा नदिएको भन्दै एक पछि अर्को विवाद आउने गरेकाले अस्पताले निगरानी बढाउनको लागि सीसी क्यामेरा जडान गरेको बरिष्ठ जनस्वास्थ अधिकृत जोशीले बताइन् । अस्पताले प्रदान गर्ने सेवाहरु गुणस्तरीय नभएको, म्याद नागेका औषधि वितरण भएको, व्यवस्थापन त्यति राम्रो नभएको भन्ने जस्ता विवादले अस्पतालको व्यवस्थापनमाथि प्रश्न उब्जिने गरेको थियो । 
 
त्यति मात्र नभई नक्कली कागजात भएको भन्दै एक जना डाक्टर समेत छानविनका क्रममा पक्राउ समेत परेका थिए । अहिले सेवालाई प्रभावकारी बनाउन ओपीडी, विरामी भर्ना, आकस्मिक कक्ष, एक्सरे कक्ष र ल्यावमा सीसी क्यामेराहरु जडान गरीएको जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ निरीक्षक रमेश मलासीले बताए ।
 
पाँच वटा सीसी क्यामेराले मात्र अझै निगरानी राम्रोसग नहुने भएकाले फेरी पनि अझ जडान गरीने बरिष्ठ जनस्वास्थ अधिकृत जोशीको भनाई छ । काम गर्ने शैलीको आलोचना हुने अवस्थाबाट उन्मुक्ति पाउन अस्पताल व्यवस्थापनले गरेको नयाँ अभ्यासको सेवाग्राहीले प्रशंसा गरेपनि सरसफाई र खानेपानीको निकै समस्या रहेको सेवा लिन आउनेहरुले गुनासो गरीरहेका छन् । 
 
सीसी क्यामेरा जडान गरेर सवै स्थास्थकर्मीहरुको काम गर्ने शैली र आनीबानीमा परिवर्तन आएको जिल्ला अस्पतालका मेडीकल अधिकृत डा.तेज विक्रम शाहले बताए । पुरानो अस्पतालका रुपमा चिनिने यो अस्पतालमा भौतिक संरचनाको निर्माण भने अहिले निकै भएको पाइन्छ ।
 
केही दिनअघि मात्रै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत दिएका थिए । जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे २ महिना देखि बन्द र म्याद नागेका औषधि वितरण हुने गरेका जस्ता कुरा समेटेर डोटीका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद आर्चायलाई ज्ञापनपत्र बुझाएका हुन् ।
 
डाक्टरको अभाव 
जिल्ला अस्पताल डोटीमा ३ जना डाक्टरको दरबन्दी भएपनि अहिले एक जना मात्रै डाक्टर उपलब्ध छन् । मेडीकल अधिकृतका रुपमा डा.तेज विक्रम शाह वैशाख ३१ गते देखि हाजिर भई काम गरी रहेका छन् । अर्का एक जना डा.अमित कुमार झा विदामा जेठ २१ गते बसेको अस्पताल श्रोतले बताएको छ । मेडिकल सुपरीटेन्डेन्ट डा. हरी बहादुर केसी २०६९ साल जेठ १ गते सरुवा भएर गएपछि अहिले सम्म कोही नआएको बताइएको छ । 
 
त्यस्तै सीओसी फाटमा रहेका डा.मदन भण्डारीको पनि निक साईमन नामक गैर सराकारी संस्थाले छात्रवृत्ति कोटाबाट अध्ययन गरेर सेवा गर्न पठाएको समय असार १५ गते सकिएको  श्रोतले बताएको छ । फेरि पनि उक्त संस्था मार्फत सेवाका लागि डाक्टर आउने जिल्ला स्वास्थ डोटीले जनाएको छ । 
 
भिडियो एक्सरे बन्द 
२ महिना देखि जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे बन्द रहेको छ । अर्को एक्सरे सेवा समेत लामो कागज नभएको भन्दै कहीले काँही हप्ता दिन बन्द रहने गरेको सेवाग्राहीले बताउँछन् । दक्ष जनशक्तिको अभावका कारण  भिडियो एक्सरे सेवा केही महिना बन्द अवस्थामा रहेको र यसको लागि प्रयास भइरहेको जनस्वास्थ निरीक्षक मलासीले बताए ।
 
प्रमुख र अध्यक्षको कार्यकक्षमा सीसी क्यामेरा छैन 
जिल्ला स्वास्थ कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ प्रशासक रीता भण्डारी जोशी र अस्पताल विकास समितिका अध्यक्ष शंकर दिप मडैको कार्यकक्षमा भने सीसी क्यामेरा जडान नगरिएको भेटिएको छ ।
 
सीसी क्यामेरा जडानपछि डोटीका प्रमुख जिल्ला अधिकारी अनुगमनमा आएपछि ती दुई ठाउँमा पनि जडान गर्न सुझाव दिएको जिल्ला स्वास्थ कार्यालय डोटी जनस्वास्थ निरीक्षक मलासीले बताए ।सुदृढीकरण कार्यक्रमबाट सीसी क्यामरा जडान गरीएको समेत उनले बताए । अब तत्काल दुई वटा सीसी क्यामेरा र मोनिटर जडान गरीने मलासीले जानकारी दिए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ