arrow

उज्वल थापा काँचो उमेरका एक पाको चिन्तक थिए

logo
रविन्द्र महर्जन 
प्रकाशित २०७८ जेठ २३ आइतबार
rabindra-mahajan.jpg.

उज्वलले मलाई एक दिन भनेको थियो- ‘दाई हामी मिलेर एउटा नयाँ राजनीतिक पार्टी खोलौं । मात्र युवाहरूको र त्यसको अध्यक्ष तपाईं बन्नुपर्छ।’ उज्वल र मेरो चिनाजानी २०४२ सालमा बुढानीलकण्ठ स्कुलमा भएको थियो। स्कुलमा उ मभन्दा कनिष्ठ भएकोले खासै हिमचिम भएको थिएन।

त्यस्तै २०६८ सालतिरको कुरा जस्तो लाग्छ, म बुढानीलकण्ठ भूतपूर्व विद्यार्थी समाज (सोसाइटी अफ एक्स बुढानीलकण्ठ स्टुडेन्टस-सेब्स)को कार्यसमितिमा सदस्य थिए । उज्वल एक दिन सेब्सको अफिसमा आउँदा भेट भयो। हाम्रा पुरानो चिनजानलाई आ-आफ्ना रोल नम्बर र नाममार्फत पुनर्ताजकी गरायौं। त्यसपछि उ त्यहाँ दिनदिनै जसो आउन थाल्यो। म त त्यसै त्यहाँ हुने नै भए। हामीबीच सामीप्य बढ्दै गयो । कुराकानीको दायरा पनि फराकिलो हुँदै गयो। उ भर्खर अमेरिकामा पढेर नेपाल फर्केको थियो। उसमा नयाँ नौलो काम गर्ने जोश र जाँगरले भरिपूर्ण भएको जोकोहीले महसुस गर्न सक्थ्यो।

‘केही त गरौं, दाइ। यो तालले भएन क्या। हामीले मिलेर देशमा केही गरौं।’ एक्कासि एक दिन उसले मलाई भन्यो। अमेरिकाबाट पढेर आएका धेरै जना देखिसकेको भोगिसकेको भएर मलाई लाग्यो यो केटो भर्खर अमेरिका देखेर नेपाल फर्केको छ, चुरीफुरी अर्कै छ। कत्ति न ब्रह्माण्ड नै थेगुँला झैं गर्छ। मैले मनमनै सोचें ।

‘ल त हामी दुई जना भएर भोलि हाम्रो सेब्सको अफिसमा नयाँ रङ लगाऔं, तिमी जरुर आउनु नि। म सामान ल्याउँछु’ मैले भने। भोलिपल्ट उज्वल समयमै आइपुग्यो। दुवैले जानी नजानी तीन दिन लगाएर अफिसमा रङ लगाइयो।

‘अफिस त नयाँ भयो दाइ, अब भने यहाँबाट काम पनि नयाँ नै गर्नुपर्छ।’ उसले फेरी नयाँ कामकै लागि जोड गर्‍यो। ‘हुन्छ नि, तर के गर्ने कसो गर्ने छलफल गरौला नि’ मैले छोटो जवाफ फर्काए।

‘दाइ, म अमेरिकामा कलेज पढेको, अमेरिका भरीमै प्रायः जसो केटीहरू मात्र पढ्ने कलेजमा आइटीमा स्नातक पढेर आएको। अहिलेसम्म त्यो कलेजमै त्यो विषयमा सिर्फ स्तानक तहसम्ममात्र छ। म वेबसाइट बनाउने देखि भिजिटिङ कार्ड, ब्रोशर आदी इत्यादि अमेरिकन स्तरमा डिजाइन गर्न सक्छु। यहाँ एउटा नयाँ कम्प्युटर किनौं। अनि तपाईं हामीले यहीबाट संस्थालाई पनि आम्दानी हुने काम थालौं ।’उसले मलाई प्रस्ताव गर्‍यो र यो यो ुस्पेसिफिकेशनु अनुसारको हुनुपर्छ है भनेर लेखेर दियो।

एक हप्ताभित्रै मैले अध्यक्षलाई सुनाए र कार्यसमितिबाट निर्णय गराएर त्यो बेला निकै महँगो मानिएको ७५००० रुपैयाँ पर्ने कम्प्युटर किनियो। केही समय उसले त्यो कम्प्युटरमा सेब्सको ‘राष्ट्रव्यापी छ, छात्रबृद्धि कार्यक्रम’ को ब्रोशरदेखि छुट्टै वेबसाइट बनायो। निकै आकर्षक थियो। त्यो बेला उसले संस्थाको सूचनालाई व्यवस्थित एवम् आकर्षक तरिकाले प्रस्तुत गर्ने तरिका पनि सिकायो ।

एक दिन दोलखाको एक जना युवा साइकलमै विश्व यात्रामा निस्केको समाचार देखेर मैले उज्वललाई भनें, ‘लौ यो युवाको आटलाई सम्मान गर्दै हामीले पनि संस्थागत हातेमालो गरौं र हाम्रो सञ्जालले भ्याएसम्म सहयोग गरौं। उनी कुनै दिन फर्केपछि ‘फ्रान्समा टुर डे फ्रान्स’ को नाममा आयोजना गरिने खेलले कति महत्त्व पाएको छ। हामीले पनि काठमाडौं देखि लुम्बिनीसम्म साइकल यात्राको आयोजना गर्ने पो हो कि’ भनेर के भनेको थिए। ल डन, को-कोसँग कुरा गर्नुपर्ने हो गरिहाल्नुस्। उसले जिद्दिपना देखायो।

खोजीनिती गर्दा पुष्कर शाहलाई सहयोग गर्ने हेतुमा एउटा संस्था नै रहेछ। हामीले कुरा गर्‍यौं। उज्वल, सुरज भट्टराई, सम्यक तुलाधर र म चारजना काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्नको निमित्त खाने, बास बस्ने र बाटोको सुविधा लगायतको अनुसन्धान गर्न हिँडियो।

बाटै भरी सूचना रेकर्ड गर्दै लुम्बिनी पुग्यौँ। फर्केर हामीले राम्रो रिपोर्ट तयार गरी संस्थामा पेश गर्‍यौ। तर आवश्यक आर्थिक जोहो गर्न सकेनौं र साइकल यात्राको आयोजना गर्ने सपना थाती रहन गयो। यही समयताका उसले ‘डिजिटल म्याक्स’ नामक आइटी कम्पनी सुरु गर्‍यो। त्यो कम्पनी मार्फत धेरैजनालाई डिजिटल संसारमा पुर्‍यायो। धेरैजनालाई प्रशिक्षण पनि दियो।

म बेलाबखत विदेशी पाहुना लिएर नेपालको विभिन्न ठाउँमा ट्रेकिङ लाने गर्दथे। यही सिलसिलामा उसलाई पनि १० दिने लाङटाङ उपत्यका हुँदै गोसाईंकुण्ड लिएर गएँ। ठुलो ज्यान, बिस्तारै हिँडाइ र उसको लगाइले गर्दा घोडातबेलामा पुग्दा चेकपोस्टमा सेनाले ऊसँग पनि ट्रेकिङ अनुमति पत्र माग्यो। उ भने केही नबोली मुसुमुसु हाँसिरह्यो। सेनाहरू भने यो ‘बन्दुके’ (इजराएली पर्यटकलाई प्रयोग गरिने शब्द) लाटो जस्तो छ । केही बोल्दैन । खाली हाँसिरहन्छ मात्र। पर्मिट पनि देखाउँदैन। थुन्ने हो कि फिर्ता पठाउने हो भनेर जोडले करायो।

त्यसपछि भने अवस्था बिग्रिने डरले म पोस्टमा उज्वलको छेउमा गएर ‘के गरेर बसेको भनेर कराए ।’‘हाम्रो देशको चालामाला हेरिरहेको नि।’केही सेना पोस्टनिर उभिएका थिए भने एक जना रजिष्टरमा पर्यटकको नाम लेख्न व्यस्त थियो। उसकै छेउमा गएर उज्वलले, ‘दाइ नेपालमा हिँडडुल गर्न नेपालीलाई पनि पर्मिट चाहिन्छ र रु’ भनेर सोध्यो। त्यहाँ सबैको हाँसोको फोहोरा छुट्यो।

धेरै दिन यसरी सँगै हिँडेपछि हामी धेरै विषयमा कुरा गर्थ्यौ। कालान्तरमा हामी हाम्रो सम्बन्ध यती घनिष्ठ भो कि हामी एकले अर्कालाई दाइ र भाइको कुरै छोडौं, सिर्फ जिस्काउने नामले बोलाउने गर्थ्यौ। देश बनाउने र सबै नेपालीका लागि सुखी समाज बनाउने सपना बुन्थ्यौं।

केही वर्षपछि उज्वलले नेपालमा युवाहरूको सीपलाई उपयोग गर्दै व्यवस्थित समाजको परिकल्पना अनुरूप ‘इन्टरप्रेनर फर नेपाल-इफोरएन' गठन गरी हप्तैपिच्छे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न थाल्यो। मलाई पनि कहीं कतै जागिर खानुभन्दा पनि आँफैंले केही गर्नुपर्छ भन्ने लागिरहने भएकोले उसको कार्यक्रमहरूमा सहभागी हुने गर्दथें।

कार्यक्रमपछि के कस्तो लाग्यो, के कस्तो गर्दा राम्रो होला भनेर सोध्ने गर्दथ्यो। यही कार्यक्रमबारे पनि उसले सबै वक्ताहरूको प्रस्तुत गरिएका बिचार र प्रस्तुतिलाई पुस्तकाकारमा प्रकाशित गर्‍यो। यो पुस्तक ‘केही गरौं’ भन्ने जोश भएका तर के गर्ने कसो गर्ने भनेर अलमलिएर बसेका युवाहरूको लागि गुरु मन्त्र नै साबित हुन्छ ।

उज्वल गाउँ गाउँ घुम्न पनि रमाउँथ्यो। म विदेशी लिएर जहाँ गए पनि मिल्छ भने उसलाई पनि सँगै लान भन्थ्यो। उसले बिदेशीहरुलाई नेपालको पर्यटकिय स्थल र अन्य सूचना दिने उद्देश्यले एउटा ब्लग पनि चलाएको थियो। त्यसमा मेरो अनुभव र म पुगेका ठाउँहरुको फोटो र भिडियोहरू हाल्न भन्थ्यो। म भने सधैं अल्छी गर्थें। उ मलाई प्रायः जसो हामीले राजनीति गर्नुपर्छ। हामीले नगरे कसले गर्ने । अहिले नगरे कहिले गर्ने ? भनेर झकझकाइ रहन्थ्यो।

म पनि कुनै एउटा राजनीतिक पार्टीको सदस्यको हैसियतमा क्रियाशील रहेको कुरा उसलाई थाहा थियो। त्यसैले पनि होला ‘दाइ यो पुरानो पार्टी र संरचनाले देश बन्दैन क्या। त्यसैले हामी जस्ता विवेकशील युवाहरूले नै केही गर्नुपर्छ। युवाहरूको मात्र एउटा पार्टी खोलौं । तपाईंसँग क्षमता छ, देश विदेश पुग्नु भएको छ। समाजसेवामा उत्तिकै लाग्नु भएको छ। मैले तपाईंको गतिविधिलाई धेरै पहिलादेखि नियालिरहेको छु। तपाईँ सक्नुहुन्छ। बरु तपाईँ नै यो पार्टीको अध्यक्ष बन्नुस्।’ उसले मलाई एकदमै गहन रूपमा भन्यो।

मैले उसको प्रस्तावलाई स-धन्यवाद अस्वीकार गरिदिएँ । राजनीतिक पार्टीको नेतृत्व गर्न अनुभव र क्षमता हुनुपर्छ, त्याग र तपस्या हुनुपर्छ। देशमा धेरै जना नेता पनि चाहिँदैन, सबै त्यागेर सिर्फ देश र जनताको लागि काम गर्ने व्यक्ति चाहिन्छ। मेरो निम्न वर्गीय परिवार भएकोले आम्दानी बिना पारिवारिक जिम्मेवारीबाट पन्छिन सकिँदैन। मेरो आर्थिक अवस्थाले गर्दा पनि मलाई यताउता हिँड्न सुविधा हुँदैन। बरु तिमीले सोच्नु भनेर सल्लाह दिएको थिएँ। यो कुरा सुनेर मसँग खुब रिसायो।

उसले साँच्चिकै राजनीतिक पार्टी खोल्ने निर्णय गरेछ। विवेकशील नेपाली दल। संविधान सभाको निर्वाचनमा काठमाडौंको मुटु क्षेत्र-५ नम्बरबाट उम्मेदवारी दिने भए । चिन्ह चाही कुकुर पाए है। अब मलाई सबैसँग कुकुरलाई तपाईंको अमूल्य मत दिनुस् भनेर भोट माग्न सजिलो भो भन्थे। मसँग पनि फोनमा कहाँ हो ? कुकुरलाई तुरुन्त भेट्न आउनु पर्‍यो भनेर भन्यो।

बिरामी पर्नु अगाडि पनि उसले मलाई फोनमा अब त सबै कुरा खुल्ला भो। अरूलाई सगरमाथा चढाउने, मलाई पनि एभरेष्ट आधार शिबिरसम्म जान मन लाग्यो। तपाईंसग हिँड्न बेग्लै रमाइलो हुन्छ, अहिले त सगरमाथा आरोहण गर्ने समय पनि हो। दुई भाइ जाऔँ न भनेर भनेको थियो। मैले अहिले नै जान असमर्थ भएको बताए। उनलाई म सँग जिन्दगीको अन्तिम यात्रा गर्न मन लागेको थियो क्यारे। अहिले थकथकी लागिरहेको छ।

उज्वल साधारण व्यक्ति थिए, सरल थिए, सु-संस्कृत थिए । तर आफ्नो कुरामा साह्रै ढिपी गर्ने बानी। शायद उसको राशि वृष या वृश्चिक हुनुपर्छ । उनी आफै नेता बन्ने मान्छे होइनन्। तर उनको जस्तो सपना बोक्ने हजारौं युवाको सपना र क्षमतालाई एउटै मालामा उनेर देशको उन्नतिको सपना देख्ने चिन्तक, कल्पनाकार र योजानाविद् थिए। अझ भनौं उनी एक दार्शनिक थिए। मेरो बुझाइमा उज्वल काँचै उमेरमा पनि एक पाको चिन्तक थिए।
 



नयाँ