arrow

प्रबुद्ध समूहको बैठकले आइसब्रेकको काम गर्ला त ? शुरुआत हो –नीलाम्बर आचार्य

logo
बाबु नेपाली,
प्रकाशित २०७३ असार २२ बुधबार
ice.JPG.jpeg
काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठका दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्धिपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले भने –‘विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएक छैनन् ।’ 
 
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबार र मंगलबार गरी दुई दिन काठमाडौंमा बसेको हो । 
 
भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले भने –‘नेपाल–भारतबीच सन् १९५० को सन्धिपछि कर्णाली र कोसीका नदीमा कति पानी बगे होलान्, परिवारमा त असमझदारी हुन्छ। हाम्रो समूहको बैठकले दुई देशकाबीच कहीँकतै असमझदारी भएमा यसको खोजी गरी समाधान गर्न दुवै देशका सरकारलाई सुझाव दिनेछ।’
 
के यो समूहको बैठकले अहिलेसम्म देखिएका असमझदारीको समाधान खोज्ला त ? खोज्नुपर्छ । किनकि असमझदारी बढ्दै गयो भने त्यसले नकारात्मक असर देखाउँदै जान्छ । आपसी सम्वादले नै यसको समाधान गर्ने हो । गत वर्ष भारतले लगाएको नाकाबन्दी त्यसको परिणाम हो । भारतले एकतर्फी प्रक्रिया अगाडि बढाउँदा र हस्तक्षेप गर्न खोज्दा निम्तिएको परिणाम हो त्यो । 
 
नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध भएकाले पनि त्यसैअनुसार सम्बन्धलाई प्रगाढ बनाइराख्नु पर्छ । नेपाल र भारतको सम्बन्ध राजनीतिक परिवर्तनमा पनि त्यत्तिकै महत्वपूर्ण रहेकाले पनि स्वार्थपूर्ण तरिकाले भन्दा पनि व्यवहारिक रुपले सुल्झाउनु पर्छ । 
 
सुरुवात हो –नीलाम्बर आचार्य 
नेपालका लागि प्रबुद्ध समूहका सदस्य नीलाम्बर आचार्यले हाम्राकुरासंगको कुराकानीमा वार्ताको सुरुवातमात्र भएको बताए । उनले सन् १९५० देखिका सन्धी सम्झौतालगायतमा देखिएको असमझदारीबारे पहिलो पटक छलफल हुनु सकारात्मक भएको प्रतिक्रिया दिए । 
आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई अरु कसैसंग तुलना गरेर हैनकि आपसी समझदारीमा टुङ्गो लगाउनु पर्ने बताए ।
 
उनले व्यक्तिव्यक्तिबीच पनि आफ्ना सोचाइ हुनसक्छन् भन्दै व्यक्तिले के भन्यो भनी पछि लाग्नुभन्दा समग्रमा समाधान कताबाट निस्कन्छ भनी लाग्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक विष्लेषक आचार्यले नेपाल भारतबीचको दायरालाई फराकिलो बनाउन पनि यस समूहको वार्ताले मद्धत पुग्ने बताए । पहिलो चरणको वार्ताले थप अगाडि बढ्न ढोका खोलेको भन्दै आचार्यले दोस्रो चरणको वार्तामा थप गृहकार्य गर्नुपर्नेमा जोड दिए । 
 
उनले भने –‘पहिलो बैठकमा परिचयात्कम कार्यक्रममात्र भएको हो । आफ्ना विचार राख्ने काम भएको हो । अब दोस्रो बैठकमा भने बढी नै गृहकार्य गरी अगाडि बढ्नु पर्छ ।’ 
 
आचार्यका अनुसार दोस्रो बैठक तीन महिनाभित्रै भारतको राजधानी नयाँदिल्लीमा हुँदैछ । प्रारम्भिक खाका अनुसार सेप्टेम्बर महिनाको मध्यतिर यो बैठक बस्न सक्नेछ । उनले भने –‘योबीचको अवधिमा हामीले हाम्रा एजेन्डालाई मजबुद बनाउनु पर्छ । सन् १९५० को सन्धी ठीक छैन भने कहाँ कहाँ के गर्ने भनेर हामीले वृहत सोचका साथ अगाडि बढ्नु पर्छ ।’ 
 
आचार्यले थपे ‘यो वार्ताले कोसेढुङ्गाको काम गर्छ ।’
 
समूहमा नेपालकातर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुन मन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहेका छन् । त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ