arrow

नाकाबन्दीविरुद्ध कलाकारको प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1614561115.jpeg
काठमाडौं । टेलिभिजन र फिल्म क्षेत्रमा आबद्ध कलाकारहरुले मंगलबार राजधानीमा नाकाबन्दीविरुद्ध वृहत जागरण ¥याली निकालेर प्रदर्शन गरेका छन् । झण्डै तीन महिनादेखि भारतले लगाईरहेको अघोषित नाकाबन्दीविरुद्ध आम सर्वसाधारणलाई पनि उत्रन आव्हान गर्दै प्रदर्शन गरेका हुन् ।

‘सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार नारासहित’ उनीहरुले रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर प्रदर्शन गरेका थिए । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान नाम दिईएर आयोजना गरिएको ¥याली भद्रकाली, न्यूरोड, इन्द्रचोक, असन हुँदै कोणसभामा परिणत भएको थियो । 

कोण सभालाई सम्बोधन गर्दै अभियान संयोजक वरिष्ठ कलाकार हरिहर शर्माले भारतीय नाकाबन्दीविरुद्ध कलाकर्मी र सर्वसाधारण सडकमा आउनु खुशीको कुरा रहेको भन्दै सबैलाई धन्यवाद दिएका थिए । ‘हामी नेपालीहरु अहिले अत्यन्त जटिल अवस्थामा गुज्रिरहेका छौं,’उनले भने,‘यो बेला फुटेर होईन जुटेर राष्ट्रिय समाधान गर्नुपर्ने खाँचो छ, त्यसकारणले पनि हामी अभियानलाई अझ नयाँ रुपले लैजादैछौं ।’ उनका अनुसार आगामी मंसीर १४ गते कलाकारहरुले सिंहदरबारबाट पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयसम्म मानव साङ्लो निकालेर प्रदर्शन गरिनेछ ।

प्रदर्शनमा सहभागी चर्चित लोकगायक बद्री पंगेनीले नेतालाई भन्दा बढी कलाकारलाई जनताले विश्वास गर्ने भएकाले कलाकारले ¥याली निकालेको बताए । ‘नेपाली जनताहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने बेला आएको छ,’उनले भने,‘हामी नेपालीलाई अन्य मुलुकका मान्छेहरुले नेपाली भनेर सम्मान गर्दैनन्, त्यसकारण नेपालीहरुको एकता नै अहिलेको आवश्यकता भएको छ ।’

वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले नेपालीहरु आफ्नो समस्या समाधान गर्न आफै सक्षम भएकाले सबै मिलेर त्यसमा लाग्नुपर्ने भन्दै देशको आन्तरिक मामलामा हस्तक्षेप गरेर नाकाबन्दी गर्नु भारतको ठूलो भूल भएको बताईन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले नाकाबन्दीविरुद्ध कलाकारले गरेको प्रदर्शनमा जनताले पनि साथ दिनु सकारात्मक भएको बताए । विभिन्न नारासहित कलाकारहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा झण्डै एक हजार बढी कलाकारको सहभागिता रहेको थियो । 
 
¥यालीमा वरिष्ठ अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, अभिनेता रमेश उप्रेती, हाँस्यकलाकार दीपकराज गिरी,  निर्मल शर्मा, सीपी पुडासैनी, सञ्जय खतिवडालगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ