arrow

प्रमुख निर्वाचन आयुक्तमा यादवको नाम सर्वसम्मतीले अनुमोदन

सुनुवाईमै यादवले भने, ‘कुनै पनि दलका कार्यकर्ताले आचारसंहिता उल्लङ्घन गरे कारबाहीमा पर्छन्’

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
ayodhi-yadhv-sunuwai-FNL.JPG.jpeg
काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मतीले अनुमोदन भएको छ । शुक्रबार विहान संसदीय सुनुवाइ विशेष समितिको सचिवालय सिंहदरबारमा बसेको सुनुवाई समिति बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित यादवको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । 
 
समिति सचिवालयले तत्काल अनुमोदन गरेको सिफारिस राष्ट्रपतिलाई पठाउने छ । राष्ट्रपतिले एक दुई दिनमा यादवलाई पमुख आयुक्तमा नियुक्त गर्ने समिति सभापति चिनकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बैठकपछि भने, ‘उहाँबारे सुनुवाई भयो, सर्वसम्मतीले अनुमोदन भइसकेकाले सिफारिसका लागि राष्ट्रपतिलाई पत्राचारको लागि सभापतिले भनि सक्नु भएको छ ।’ समितिको अनुमोदनलाई राष्ट्रपतीले प्रमाणित गरेपछि यादवको नियुक्ती हुनेछ । 
 
सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको सुनुवाईमा यादवलाई तपाइको योजना के छ भनि सोधिएको थियो । जवाफमा यादवले, ‘निर्वाचन आयोगलाई अझ चुस्त बनाउने र आवश्यक काम कारबाहीका लागि रदम तयार रहेको बताए ।’ यादवले यसअघि मधेसी कोटामा काम गरिसकेकाले अब अन्यले अवसर पाउनु पर्ने भन्दै दुई वटा रिट परेका थिए । 
 
संसदको नयाँ नियमावली अनुसार समितिको दुई तिहाई सदस्य संख्याले अस्वीकृत गरे मात्रै अस्वीकार गर्ने व्यवस्था कानुनी व्यवस्था छ ।
 
यस्तै, उजुरीकर्ताले आफ्नो उजुरीमा सम्पर्क नम्बर वा इमेल नदिएका कारण तत्काल उजुरीबारे सोधपुछ गर्न सम्भव नभएको भन्दै समितिले सिधै संसदीय सुनुवाई सुरु गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगमा पदाधिकारी नहुँदा निर्वाचनको तयारी सम्बन्धि विभिन्न कामहरु रोकिएका थिए । 
 
यादवले जवाफमा के भने ? 
सुनुवाइमा प्रस्तावित प्रमुख आयुक्त यादवले आगामी मङ्सिर महिनामा स्थानीय तहको निर्वाचनका लागि साउनभरिमा सम्पूर्ण पूर्वाधारको व्यवस्थाका साथै स्थानीय तह निर्वाचनसम्बन्धी ऐन पारित भए आयोग निर्वाचन गराउन तयार छ–भने ।  
 
सधैँका लागि र सबैका लागि निर्वाचन आचारसंहिता बनाइसकिएकाले आगामी दिन कुनै पनि दलका कार्यकर्ताले आचारसंहिता उल्लङ्घन गरे कारबाहीमा पर्ने जानकारी दिँदै यादवले स्वच्छ निर्वाचनका लागि आधारभूत शर्त पालना गराउन र राम्रो व्यवस्थापनका लागि पर्याप्त छलफल अघि बढाउनु पर्ने बताए ।  
 
प्रस्तावित प्रमुख आयुक्त यादवले विद्युतीय मतदानका लागि छलफल भइरहेको, प्रवासी नेपालीको अनलाइन मतदानका काम अघि बढाइएको र सञ्चारमाध्यम पनि निर्वाचनका लागि सशक्त माध्यम भएकाले आगामी निर्वाचमा तिनको पनि साथ लिने उल्लेख गरे ।  
 
उनले २०६४ सालको मतदाता सूचीमा रहेका त्रुटि सच्याउन फोटोसहितको मतदाता परिचयपत्र बनाइएको, मतदाता शिक्षा र सूचनाको अभियानलगायतका काम भएको बताए ।  
 
आफ्नो पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिटमा प्रस्तावित प्रमुख आयुक्त यादवले अन्तरिम संविधानमा पुनःनियुक्तिका बारेमा कुनै कुरा उल्लेख नभएको र राष्ट्रपतिबाट संविधानअन्तर्गत बाधा अड्काउ फुकाउ आदेशबमोजिम गरिएका काम कारबाहीका सम्बन्धमा परेका अन्य रिटमा सर्वोच्च अदालतले संवैधानिक जटिलता र रिक्तता हुने अवस्था ठहराई मागबमोजिम आदेश जारी गर्न नपर्ने भनेकाले आफ्नो हकमा संवैधानिक जटिलता नआउने उल्लेख गरे ।  
 
समिति सदस्य चीनकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, चित्रलेखा यादव, डा प्रकाशशरण महत, आनन्दप्रसाद ढुङ्गाना, गणेशमान गुरुङलगायतले प्रश्न गरेका थिए । 
 
सुशीला कार्कीको सुनुवाई आइतबार 
प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीको सुनुवाई पर्सी आइतबार हुने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश कार्कीका हकमा आइतबारको बैठकमा उजुरीकर्तालाई आफ्नो उजुरी पुष्टि गर्न बोलाउने र पर्सी नै उहाको संसदीय सुनुवाइ गर्ने कार्यक्रम तय भएको छ ।
 
कार्कीविरुद्ध आफन्तको नाममा फैसला गरेको र अकुत सम्पति कमाई बसुन्धारामा घर–घडेरी जोडेकोलगायत ६ वटा उजुरी परेका छन् । यसैगरी, न्यायपरिषद्. सदस्य, सर्वोच्च अदालतका लागि सिफारिस भएका ११ न्यायाधीश, विभिन्न २१ देशका राजदुतको प्रस्तावमाथि समेत क्रमश सुनवाई गर्ने समितिको कार्यतालिका  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ