arrow

अब जिल्ला जिल्लामा इलाका प्रशासन : गृहमन्त्री

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
sakti-@-basnet-sadan-n.jpg.jpeg
काठमाडौँ  । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा दिन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताउनुभएको छ । 
 
विनियोजन विधेयक–२०७३ अन्तर्गत गृहमन्त्रालयमाथिको शीर्षकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सांसदहरुको सुझावलाई दृष्टिगत गरी साधन स्रोतले भ्याएसम्म इलाका प्रशासन कार्यालय विस्तार गरेर लैजान सरकार दृढ रहेको उल्लेख गर्नुभयो । 
 
जिल्ला प्रशासनले माग गरेर पठाएको प्रहरी चौकीको स्थापना र स्तरोन्नति हेर्ने हो भने निकै ठूलो जनशक्तिको आवश्यकता देखिन्छ भन्दै उहाँले आवश्यकतालाई पनि प्राथमिकीकरण गरेर अघि बढिरहेको उल्लेख गर्नुभयो । 
 
‘‘भौतिक पूर्वाधार र व्यवस्थापन गर्नुपर्ने जनशक्तिसहितको विषयलाई समावेश गरेर कारागार सुधार कार्ययोजना अघि बढाएको जानकारी दिँदै बन्दीको चापलाई ध्यान दिएर स्रोत साधनको समेत व्यवस्था गर्ने प्रयास भइरहेको छ’’ – उहाँले भन्नुभयो । 
 
गृहमन्त्रालय मातहतका कर्मचारीको सरुवा र पदस्थापनलाई कार्यतालिका बनाएरै अघि बढाउने काम भइरहेको बताउँदै गृहमन्त्रीले जिल्ला प्रशासन कार्यालयलाई प्रविधियुक्त र जनतामैत्री बनाइने दृढता व्यक्त गर्नुभयो । 
 
सांसदहरुले राख्नुभएको जिज्ञासाले गृहमन्त्रालयका लागि थप बजेटको व्यवस्था र कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । 
 
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्रका विषयमा उठेका प्रश्नलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्न मन्त्रालय दृढ रहेको बताउँदै उहाँले राष्ट्रिय अनुसन्धान विभागलाई आधुनिक र राष्ट्रिय आवश्यकताअनुरुप बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ