arrow

चोभारको फनपार्कमा तीन दिनमा तीन दूर्घटना..

खेल्न गएका बालक अस्पतालको शैयामा

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असार २७ सोमबार
chobar-funpark.jpg.jpeg
काठमाडौं। झापा स्थाई घर भएका दृष्टान्त भण्डारी परीक्षाको ठीक एक साता अगाडि फनपार्कमा रमाइलो गर्नको लागि आईतबार मध्यान्ह तिर परिवारको साथमा चोभार पुगे। बालापनको रमाइलोको आनन्दको लागि सबैले नयाँ र अन्तराष्ट्रिय स्तरको भनेको सुनेर उनैको रोजाईमा सपरिवार चोभार गएको थियो। तर दूर्घटना भएर परीक्षाको मुखमा अस्पतालको शैयामा बस्नुपर्छ भन्ने थाहा भएको भए न त उनले नै उक्त स्थानलाई रोजाईमा पार्थे होला न त उनको परिवार नै उनलाई लिएर त्यहाँ पुग्थे। 
 
तर भण्डारी अहिले बयोधा अस्पतालको २०९ नं शैयाँमा उपचाररत छन्। अबको आउँदो साता उनको परीक्षा पनि आउँदै छ। तर, उनी अस्पतालबाट परीक्षाको तयारी गर्न पनि सकिरहेका छैनन्। वानेश्वरमा रहेको पाठशाला स्कूलमा कक्षा आठमा अध्ययनरत भण्डारीलाई सोमबार दिउँसो भेट्न पुग्दा उनी विद्यालय र साथीहरूले थाहा पाउने भन्दै फोटो खिच्न र बोल्न समेत मानेका थिएनन्। ‘साथीहरूले थाहा पाउँछन् भनेर हामीलाई पनि फोटो खिच्न दिँदैन।’ उनका काका आनन्द भण्डारीले भने ‘उसको अगाडि त यस विषयमा कुरा गर्‍यो भने पनि रोइदिन्छ।’ तर, उनका परिवारले यो फनपार्कको व्यवस्थापन कमजोरीका कारण यस्तो हविगत भएको आरोप लगाएको छ। 
 
के भएको थियो उनलाई ?
उनी आइतबार फनपार्कमा खेल खेल्नकोलागि परिवारको साथमा चोभार गएका हुन्। अपराह्न चार बजेतिर उनले ‘वाटर स्लाईडिङ’को लागि पानी माथि चिप्लिने ठाउँको सबैभन्दा माथि पुगेर आफ्नो बाबुआमालाई हात हल्लाए र उनी चिप्लिँदै बेगले पानीको पोखरी तिर गए। तर उनीसँगै अर्को व्यक्तिलाई पनि पठाईयो र पानीमा पुग्नेवित्तिकै अर्को वेग गतिमा आएको बालकको ठक्करबाट उनी घाइते बन्न पुगे र बेहोस पनि भए। 
 
उनी बेहोस हुने वित्तिकै उनलाई काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पताल पुर्‍याईयो। सिटिस्क्यान गरेर हेर्दा उनको किड्नीमा सानो समस्या देखिएको भएपनि उनको अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई अझै कम्तिमा दुई दिन अस्पतालमा नै राख्नुपर्ने सुझाव पनि अस्पतालले दिएको उनका काका भण्डारीले जानकारी दिए। 
 
‘उपचार त परै जावस् फनपार्क सञ्चालक विरामी भेट्न पनि आएनन्’ 
आफ्नो कमजोरीले यसरी बच्चा घाइतेभएर अस्पतालमा उपचारगरिरहँदा फनपार्क सञ्चालकले भने उपचार खर्च बेहोर्नुको त परैको कुरा विरामी भेट्न समेत नआएको गुनासो पीडितपक्षले गरेको छ। यस विषयमा कुराकानी गर्दा फनपार्क ‘होपल्याण्ड’ का प्रवन्ध निर्देशक सुदन बस्नेतले सो विषयमा आफूहरूलाई कुनैपनि जानकारी नभएको भन्दै पन्छिने कोशिस गरे। उनले परिवारले आफूलाई खबरै नगरी विरामीलाई अस्पताल लगेको भन्दै इन्सोरेन्सको सुविधाबाट विरामीलाई उपचारको खर्च बेहोरिदिने जानकारी पनि दिए। तर उनका काका भण्डारी भने आजसम्म भेट्न पनि नआएको र अहिलेसम्म लागेको सबै खर्च आफैंले गरिरहेको स्पष्ट पारे। 
 
३ दिनमा ३ दूर्घटना 
सबैभन्दा विडम्बनाको कुरा त के भने यो फनपार्क खुलेको जम्मा ६ दिन भएको छ। तर पछिल्लो तीन दिनमा मात्रै यो पार्कमा तीनवटा दूर्घटना भएको स्वयं सञ्चालकले समेत स्वीकार गरेका छन्। अस्पतालको शैयामा रहेका बालकलाई भेटेपछि सो विषयमा प्रतिक्रिया लिन पुगेका हाम्राकुराका प्रतिनिधिसँग प्रवन्ध निर्देशक बस्नेत स्वयंले शनिबार र सोमबार थप दूर्घटना भएर मान्छे घाइते भएको कुरा खुलाए। 
उनले भने ‘शनिबार घाइते भएका महर्जन जी त हाम्रै स्टाफ हुन् नि, उहाँलाई त हामीले उपचार नै गरिसकेका छौं। आज घाइते भएकी बच्चीको भने सामान्य चोट लागेको भएपनि हामीले अस्पताल पुर्‍याईसकेका छौं।’ यसरी दैनिक दूर्घटना हुनुले फनपार्कको सुरक्षा प्रति नै प्रश्न उठेको छ। यसरी शनिबार आईतबार र सोमबार दैनिक उक्त फनपार्कमा मान्छे घाइते हुँदै आएका छन्।  
 
फनपार्क भन्छ ‘मान्छेको चापले यस्तो भयो, डाक्टरको टोली ल्याएर राख्छौं’ 
फनपार्क भने यस्तो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो काम रोक्ने भन्दा पनि बरू अस्पतालको वार्ड नै फनपार्कमा लगेर राख्ने पक्षमा छ। प्रवन्ध निर्देशक बस्नेतले बयोधा अस्पतालसँग कुराकानी भईरहेको भन्दै अस्पतालबाट डाक्टरको टोली नै ल्याएर राख्ने तयारी रहेको बताउँछन्। तर, दूर्घटना कसरी भयो भन्ने प्रश्नमा उनको उत्तर थियो ‘मान्छेको चाप धेरै भएर व्यवस्थापन गर्न गाह्रो पर्‍ यो।’  
 
यसरी वालवालिकालाई मनोरञ्जन दिनको लागि भनेर खुलेको उक्त फनपार्कले स्थापना कालमा नै असुरक्षित सावित गराईसकेको छ। यसरी अन्तराष्ट्रिय स्तरको भनेर भनिएको फनपार्कको हविगत यस्तो छ भने वालवालिकाले कसरी सुरक्षित महशुस गर्ने ? भन्नेप्रश्न पनि उब्जिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ