arrow

स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले

logo
रासस,
प्रकाशित २०७८ भदौ १३ आइतबार
Panchang.jpg

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् ।
  
स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ । आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । 

यस वर्ष समितिबाट १४ पात्रोले स्वीकृति पाएका थिए । आगामी वर्षका लागि १५ वटा पात्रोले स्वीकृति पाउँ भनी गणित गणना गरी समितिमा बुझाएका छन् । समितिसँग स्वीकृति नलिइ ज्वाला, वैदिक र दृग् पञ्चाङ्ग अहिले पनि प्रकाशन भइरहेका छन् । यसमध्ये वैदिक पञ्चाङ्गको सिद्धान्त फरक छ । पूर्णरुपमा वैदिक भनी पुसतिर यो पात्रो प्रकाशन हुने गर्छ । फरकफरक पात्रो निस्कँदा आम मानिसमा भ्रम उत्पन्न भएको भन्दै सूर्यसिद्धान्तमा आधारित भई गणना गरेर स्वीकृतिका लागि पेश गर्न समितिले आह्वान गर्दै आएको छ ।
  
आगामी वर्षका लागि पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेबाट समितिले साउन महिनाको एकमहिने म्याद राखी निवेदन माग गरेको थियो । समितिमा दर्ता भएका पात्रोको गणित गणनाका विषयमा छलफल गरी तीन महिनाभित्रमा चाडपर्व, तिथिमिति, साइतका विषयमा निर्णय गरिनेछ । निर्णयपछि पात्रोलाई प्रकाशनको अनुमति दिइने समितिले जनाएको छ ।
 
समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी गणित गणना गरी पेश गरेका पञ्चाङ्गकारलाई बैठकमा बोलाइ मिले-नमिलेका विषय जाँच, चाडपर्वको निर्णय गरी पात्रो प्रकाशनका लागि स्वीकृति दिइने बताउछन् । ढिलोमा फागुनसम्ममा पात्रो बजारमा आउने गरी निर्णय गरिने उनको प्रतिबद्धता छ ।



नयाँ