arrow

स्कुल खोल्न सकिन्छ त ! 

logo
लक्ष्मी विलास कोइराला,
प्रकाशित २०७८ भदौ २७ आइतबार
Public_school_1618134814.jpeg

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकेँ होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेँ हुँला । स्कुल खुल्ने समाचार देखेर अनलाइन कक्षा सकिने बित्तिकै छोरीले प्रश्न गरिन् ।  छोरी ! समय नै यस्तो छ । सरकारले खोल्ने त भनेको छ । खोइ के हुन्छ ? ल्यापटपमा अनलाइन कक्षामा आँखा तानितानी पढ्दा थाकेकी र साथीहरूसँग उफ्रिएर रमाउन नपाउँदा आत्तिएकी छोरीलाई मैले सम्झाउने कोसिस गरेँ । 

छोराका प्रश्नहरूले मेरो मथिङ्गल झनझनायो । कोरोनाको महामारीको कारण लकडाउन भएर पोहोर झैँ यस वर्ष पनि स्कुलहरू महिनौँदेखि बन्द छन् । लाखौँ विद्यार्थीहरू अन्योलमा छन् । विद्यार्थीहरूलाई स्कुल बोलाउने हिम्मत कसैले जुटाउन सकेका छैनन् । विद्या आर्जनको लागि विद्यार्थीहरू स्कुलमा अनिवार्य रूपमा उपस्थित हुनु पर्दछ । स्कुल होटेल रेस्टुरेन्ट, मल, सैलुन, पार्लर जस्तो गए पनि हुने नगए पनि हुने स्थान होइन । विद्यार्थी जम्मा हुने थलो भएकाले सङ्क्रमण तीव्र हुन सक्ने भयले अभिभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा रहेका छन् । स्कुल खोल्ने र सञ्चालन कसरी गर्ने भन्ने विषयले शिक्षक, विद्यार्थी, अभिभावक, स्कुल सञ्चालक, समुदाय र सरकारको अगाडि गम्भीर चुनौती बनेको छ ।  

विद्यार्थीको पीडा
कोरोनाको सङ्क्रमणले च्याप्दै ल्याएपछि पोहोर  देशव्यापी लकडाउन शैक्षिक संसारमा अनिश्चितताको बादल लामो समयसम्म लागिएको छ । स्कुल बन्द छन् । घरपरिवार समाज कठिन मोडमा खडा छ । त्यसको प्रभाव पनि विद्यार्थीमाथि परेको छ । लामो समय घरभित्र बस्नुपर्दा विद्यार्थीहरूले स्कुलको जीवन सम्झनु स्वाभाविक हो । स्कुलमा गएर सिकेको शिक्षा दिगो पनि हुन्छ । विद्यार्थीहरू साथीहरूसँग खेल्दा र रमाउँदा मानसिक रूपमा स्वस्थ र पढन उत्प्रेरित पनि हुन्छन् । स्कुलहरू बन्द भएकाले पाँच वर्षदेखि एक्काइस वर्ष उमेर समूहका विद्यार्थीहरू घरभित्र सीमित भएर बसेका छन् ।
 
शिक्षकको पीडा

सङ्क्रमणको भयले स्कुलहरू बन्द भएपछि सशरिर विद्यार्थीहरू स्कुल आउने वातावरण बनेको छैन ।  अविभावकहरुलाई स्कुलको फि तिर्नु की नतिर्नु बनाएको छ । सरकार वा सामुदायिक विद्यालयमा पढाउने अविभावकहरुले विद्यालयको शुल्क खासै बुझाउनु नपर्ने भएकाले त्यसको खासै चिन्ता रहेन ।  सामुदायिक स्कुलका शिक्षकहरूले तलब भत्ता महिनैपिच्छे पाइरहे । निजी विद्यालयका अविभावकहरुले शैक्षिक सत्रको फि आधा आधा मात्रै तिरेका कारण त्यसको असर सोझो रूपमा शिक्षकहरूमाथि परेको छ । शिक्षकहरूले पुरा तलब पाएका छैनन् । विद्यालय सञ्चालकहरू विद्यार्थीले बुझाएपछि दिउँला भन्दै टारिरहेका छन् । शिक्षकहरूको दैनिक गुजारा नै जोखिममा परेको छ । उनीहरू ल्यापटप किनेर अनलाइन कक्षा चलाउने सीप सिक्न पनि बाध्य भए ।  

सरकारको अलमल
सरकारले वैकल्पिक शिक्षण विधिको रूपमा सूचना प्रविधि अवलम्बन गरेर विद्यार्थीलाई कम्प्युटरमा पढाउने व्यवस्था मिलायो । पोहोरका एसइई र बाह्रका परीक्षाहरू भए नतिजा पनि प्रकाशित भए । स्कुलको मूल्याङ्कनको आधारमा विद्यार्थीहरू कक्षा चढे । यस वर्ष एसइई भए पनि सरकार बाह्रको परीक्षा गर्न अलमलियो । छिमेकी भारत सरकारले वेलैमा विद्यार्थीहरूले सामान्य अवस्थामा पढ्ने पाठ्यक्रमको भार बिस प्रतिशतले कम गरेर विद्यार्थीहरूलाई हल्का बनायो । दश र बाह्र कक्षाको परीक्षाको बारेमा वेलैमा टुङ्ग्यायो । हामी शैक्षिकसत्रहरु सुरु भइसक्दा पनि पाठ्यक्रम, विद्यार्थी र शिक्षकको बारेमा नीतिगतरुपमा स्पष्ट हुन अलमलमा परिरहयौं । जुन बाह्रको परीक्षा कसरी गर्ने वा कि नगर्ने भन्ने टुङ्गोमा पुग्न भएको ढिलाइले देखाउँछ ।   
 
अनलाइन र दूर कक्षाको प्रभावकारिता
सतहत्तर साल असारबाट स्कुल नगईकन रेडियो टेलिभिजनबाट दूर शिक्षा र अनलाइन कक्षाहरू चलाउने व्यवस्था आरम्भ भएको हो । घरभित्र बस्दा बस्दा आत्तिएका विद्यार्थीहरूलाई अनलाइन पढाई वा दूर शिक्षाले केही राहत दियो । विद्यार्थीहरू अनलाइन र दूर शिक्षाको माध्यमबाट पढ्ने कोसिस गरिरहेका छन् । वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको ५१ प्रतिशतको रेडियोमा, ५६ प्रतिशतको टेलिभिजनमा र ५५ प्रतिशत जनसङ्ख्याको मोबाइल फोनमा पहुँच पुगेको थियो भने ३ प्रतिशत जनसंख्यामात्र इन्टरनेट सुविधामा आबद्ध थिए । रेडियो प्रयोगकर्ता गाउँमा ५० प्रतिशत र सहरमा ५४ प्रतिशत थिए भने टेलिभिजन प्रयोगकर्ता गाउँमा ४१ प्रतिशत र सहरमा ११४ प्रतिशत रहेका थिए । 

यसै गरी मोबाइल फोन प्रयोगकर्ता गाउँमा ६० प्रतिशत र सहरमा ८४ प्रतिशत रहेको थियो भने इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्या गाउँमा ४ प्रतिशत र सहरमा १३ प्रतिशत मात्र थियो । पन्ध्रौँ योजनाले आर्थिक वर्ष २०७५-७६ सम्ममा विद्युत् सेवा पुगेको जनसङ्ख्या ८८ प्रतिशत र इन्टरनेट सुविधा पुगेको जनसङ्ख्या ६६ प्रतिशत रहेको देखाएको छ । यसबाट अनलाइन र दूर शिक्षामा विद्यार्थीहरूको पहुँच कम रहेको स्पष्टै देखिन्छ । शहरको तुलनामा ग्रामीण, धनीको तुलनामा गरिब, निजी विद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूको अनलाइन शिक्षा र दूर शिक्षामा पहुँच कम देखियो । यसले भविष्यमा शिक्षा आर्जनमा ठुलो असमानता ल्याउने जोखिम देखिएको छ ।

रेडियो, टेलिभिजन, मोबाइल फोन र इन्टरनेटमा पहुँच बढ्दै गएको भए पनि शैक्षिक गतिविधि चलाउन ती साधनहरूको गुणस्तर पनि उचित हुनुपर्दछ । गाउँदेखि सहरसम्मका निम्न वर्गका जनता एउटै कोठामा पाँच छ जना बस्ने हुन्छन् । गरिब विद्यार्थीहरूका लागि दूर शिक्षा वा अनलाइनमा पढ्ने वातावरण छैन । सबै परिवारसँग स्मार्ट मोबाइल पनि छैन । शिक्षा विज्ञहरू अनलाइन दूर कक्षाको गुणस्तरको हिसाबमा हेर्ने हो भने केवल एकतिहाई विद्यार्थीहरूले मात्र सिक्न सकेको राय प्रस्तुत गर्दछन् । 

सामान्यतः पाँच वर्षदेखि सत्र वर्ष उमेर समूह स्कुले उमेर हो अभिभावक शिक्षकले पढ भनेर उत्प्रेरित गर्दा पनि पढ्नभन्दा साथहिरुसँग खेल्न रमाउने उमेर हो । घरमा थुनिएर बसेका छोराछोरीहरूलाई बाबुआमाले पढ् पढ् भनेर धेरै कर गर्न सक्ने अवस्था पनि छैन । विद्यार्थीलाई अनलाइन कक्षा र दूर शिक्षाका लागि कम्प्युटर अगाडि केन्द्रित गराउन हम्मे हम्मे परिरहेको छ । 

कोरोनाको पहिलो दोस्रो लहरका बिच सामुदायिक र निजी स्कुलहरूले आफ्नो आफ्नो हिसाबले अनलाइन पढाई सुरु गरेको पाइन्छ । निजी स्कुलहरूले चलाएका अनलाइन कक्षाहरूको पहुँच करिब सत्तरी असी प्रतिशत विद्यार्थीसम्म पुगेको र गुणस्तर पनि राम्रो भएको अनुमान रहेको छ । शैक्षिक सत्रको कोर्स नै सक्न लागेको विद्यार्थीहरू सुनाउँछन् । तर, सरकारी शिक्षकहरूमा देखिएको उदासीनताले सामुदायिक स्कुलहरूको अनलाइन पढाइले गति लिन सकेको छैन । करिब तीन लाख पचास हजार सरकारी शिक्षकहरूमध्ये केवल तीस प्रतिशत शिक्षकहरू मात्र अनलाइन पढाइमा संलग्न रहेको शिक्षा विज्ञहरूको अनुमान छ । यस कारण अनलाइन र दूर कक्षा चलाएर ढुक्क हुने अवस्था छैन ।

शैक्षिक वातावरणको व्यवस्थापन   
संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास संस्थाले कोरोना सङ्क्रमणको अवस्थालाई आशावादी चरण, मध्यवादी चरण र निराशावादी चरण गरी तीन भागमा बाँडेको छ । आशावादी चरण भनेको खोपको आविष्कार र प्रयोगको अवस्था जहाँ सबै निर्धक्क हिँडडुल गर्न सक्दछन् । दोस्रो, मध्यवादी चरण भनेको खोपको अनुसन्धान भइरहेको र सङ्क्रमणको तीव्रता धिमा भएको र तेस्रो निराशावादी चरण कोरोना सङ्क्रमण उच्च दरमा फैलिएको अवस्था हो । 

शैक्षिक सत्र लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । हामी निराशावादी चरणमा स्कुल खोल्ने कल्पना पनि गर्न सक्दैनौँ भने आशावादी चरणमा स्कुल खोल्न कहिले पनि रोकेको हुदैन् । महामारीको सङ्क्रमण तीव्र भैरहयो भने स्कुल कलेज बन्द गरेर शैक्षिक सत्र नै गुजार्नु पर्ने अवस्था नआउला पनि भन्न सकिन्न । अहिले विश्व सङ्क्रमणको मध्यवादी चरणमा छ । विश्वभर खोप अभियान चलेको छ । लकडाउन खुकुलो भएसँगै मानिसहरू मास्क लगाएर, सामाजिक दूरी कायम गरेर, हातमा स्यानिटाइजर दलेर काममा संलग्न हुन थालेका छन् । भ्याक्सिन लगाउने क्रम जारी छ । बिस्तारै आर्थिक क्रियाकलापहरू चल्न थालेका छन् । अफिस कार्यालयहरूबाट सेवा प्रवाह सुरु भएको छ । घरबाट पनि अफिसका कामहरू भएका छन् । अनलाइन बिजनेस चलेको छ । तर बन्द स्कुल कलेजहरू खुल्न सकेका र विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । विद्यार्थीको शैक्षिक वातावरणको व्यवस्थापन कसरी जोगाउन सकिएला भन्न विषयमा विभिन्न कोणबाट चिन्तन र बहस भइरहेका छन् । 

व्यवस्थापनका लागि प्रस्ताव
विद्यार्थीहरूलाई अनलाइन र दूर कक्षाहरू चलाउने, अनलाइन र दूर कक्षा सञ्चालन गर्न शिक्षकहरूलाई तालिम दिने, सक्ने स्थानीय तहले रेडियो टेलिभिजन बाँड्ने, शिक्षकहरूले घरदैलो शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्कुल बोलाएर विद्यार्थीलाई होमवर्क दिएर होमवर्कमार्फत पढाउने, भर्चुअल ल्याब बनाएर विद्यार्थीलाई विज्ञान वा विविध विषयको सीप सिकाउने प्रयासहरू पनि गरिरहेका छन् । तर पढाई र सिकाइको पहुँच तथा गुणस्तर कसरी मापन गर्ने भन्ने चिन्ताको विषय बनेको छ । 

गत वर्षको भन्दा यस वर्ष परिस्थिति केही बदलिएको र सजिलो भएको छ । हाम्रो देशमा करोडभन्दा धेरैले खोप लगाई सकेका छन् । स्कुलका शिक्षक कर्मचारीहरूले पनि खोप लगाई सकेका छन् । सङ्क्रमण मत्थरोन्मुख पनि देखिएको छ । स्कुलका विद्यार्थीहरू सबैभन्दा अनुशासित वर्ग हो । तर विद्यार्थी उमेरका बालबालिकाहरूले खोप लगाउन पाएका छैनन् । यस कारण अहिले बालबालिकाहरू नै बढी जोखिममा रहेको बताइन्छ । 

यस पृष्ठभूमिमा सङ्क्रमणको मध्यवादी चरणको अवस्थामा शैक्षिक सत्र जोगाउने, विद्यार्थी स्कुल जान पाउने वातावरण बन्ने र उनीहरूमा कुनै प्रकारको मनोवैज्ञानिक समस्या नआओस् भन्ने उद्देश्य राखी विकासकालागि  देहाय बमोजिमको रणनीतिक प्रस्ताव प्रस्तुत छ । सरकारले अस्थायी रूपमा पाठ्यक्रमको भार घटाएर सानो बनाउने, बाह्र कक्षाको परीक्षाको विषयमा तत्काल निर्णय लिने, हरेक कक्षाहरू हप्तामा पाँदिन चलाउने, अनलाइन तथा दूर शिक्षाको पढाइलाई मान्यता दिने ।
   
विद्यालयले विद्यालय शिक्षा र अनलाइन कक्षाहरू सँगसँगै चलाउने । अनलाइन शिक्षणको लागि मार्ग निर्देशिका बनाउने, विद्यालय शिक्षा नभएका दिनमा चार दिन अनलाइन कक्षाहरू चलाउने, विद्यालयहरूमा अनलाइन कक्षा चलाउन कम्प्युटर ल्याब बनाउने र आवश्यक परे शिक्षकलाई तालिम दिने, सङ्क्रमित नभएका जिल्लाहरूमा कम भीड हुने गरी स्कुलमा नै कक्षाहरू चलाउने व्यवस्था गर्ने,   विद्यार्थी, शिक्षकहरूले अनिवार्यरुपमा मास्क लगाउने, स्यानिटाइजर बोकेर हिँड्ने र शिक्षकले विद्यार्थीहरूलाई हरेक कक्षा अगाडि र पछाडि स्यानिटाइजर हातमा लगाउन लगाउने । मास्क लगाए नलगाएको अनुगमन गर्ने,  कक्षामा कराएर पढाउँदा थुकका छिटाहरू कक्षाभरि फैलन सक्ने भएकाले शिक्षकले बाक्लो मास्क लगाएर पढाउने । 

विद्यालयहरू हरेक हप्ता बिहान ९ बजेदेखि साँढे बाह्र बजेसम्म र एक बजेदेखि साँढे चार बजेसम्म गरी दुई सिफ्टमा सीमित कक्षा (सेक्सनसहित) हरू सञ्चालन गर्ने,  एउटा कक्षा (वा सेक्सन) को पढाई हप्तामा सीमित दिन मात्र गर्ने,  विद्यार्थीको सङ्ख्या हेरेर विद्यालयले कुन सिफ्टमा कुन कक्षालाई बोलाउने निर्णय गर्ने, दूरी कायम गर्न एउटा कक्षामा पन्ध्र बिस जनाभन्दा धेरै विद्यार्थी नराख्ने, कक्षाका साना साना सेक्सन बनाएर पढाउने,  एक दिनमा सबै विषयको पढाई गर्न सक्ने गरी कक्षाहरूको समय विभाजन गर्ने, हरेक कक्षाहरूमा शिक्षक, विद्यार्थी विद्यार्थीबिचको दूरी कम्तीमा एक मिटर कायम गर्ने, ब्रेकको समयमा विद्यार्थीहरूलाई एक आपसमा छोएर खेल्ने खेलहरू खेल्न वा गफ गर्न मनाही गर्ने,  विद्यार्थीहरूलाई कक्षा कोठामा जाँदा र निस्कँदा दुई मिटरको दूरी बनाएर हिँड्न लगाउने,  अविभावकहरुले नै विद्यार्थी लैजाने ल्याउने व्यवस्था गर्ने, स्कुल बस प्रयोग नगर्ने, विद्यालय र कक्षा कोठाहरू हरेक दिन निसंक्रमित गर्ने र विद्यालयमा स्यानिटाइजर, साबुन पानीको व्यवस्था गर्ने, शिक्षकले विद्यार्थीलाई होमवर्क दिने र सो को जवाफ शिक्षकले कक्षामा बताई दिने ।

 विद्यार्थीको कपिकिताव नछुने,  स्कुलमा पढाइका अतिरिक्त कुनै पनि प्रकारको अतिरिक्त कार्य नगर्ने र भिडभाड हुन नदिने, अभिभावकले छोराछोरी स्कुलबाट फर्केपछि उनीहरूको कितावकपि निसंक्रमित गर्ने र ब्याग तथा ड्रेस धुने व्यवस्था गर्ने, विद्यार्थीले स्कुलमा पिउने पानीबाहेक कुनै प्रकारको टिफिन नलैजाने, स्कुल क्यान्टिन पनि नचलाउने र एक दिनमा सीमित कक्षाका परीक्षाहरू मात्र सञ्चालन गर्ने वा अनलाइन परीक्षा लिने ।

यी बुँदाहरू मान्ने पर्छ भन्ने होइन तर उपयुक्त भने हुन सक्छन् । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । स्कुल गएर पढन नपाउँदा किशोर किशोरीहरूमा मानसिक समस्या आउन पनि सक्छ । मनोवैज्ञानिकहरू कोभिडको सङ्क्रमण भन्दा विद्यार्थी घरभित्रै बसिरहँदा हुन सक्ने घटना र मानसिक तनावको जोखिम उच्च हुने तर्क गरिरहेका छन् । यस कारण विद्यालयहरू खोल्न पढाउने सम्बन्धमा सबै सरोकारवालाहरूले गम्भीर र संवेदनशील भएर पहल गर्नुपर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ