arrow

उखु किसानले भुक्तानी पाएनन्

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1411134638.jpeg
पथरी (मोरङ) । किसानले उखु मिलबाट ठगिएको गुनासो गरेका छन् । मोरङ–सुनसरीका किसानले उत्पादन गरेको उखु क्रसिङ गर्दै आएको सुनसरीको अमाही बेलामा रहेको इस्टर्न सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मूल्य भुक्तानी नगरेको उनीहरुले गुनासो गरेका छन् । मोरङका किसान लक्ष्मण कोइराला रु १० लाख मिलले नदिएकै कारण अब उखुखेती छाड्ने अवस्थामा पुगेको बताउनुहुन्छ । किसानले गत वर्षको रकम पाउनका लागि पटक पटक मिल सञ्चलकसँग कुरा गरेका भए पनि सञ्चालकको बेवास्ताका कारण अब उखुको विकाल्प के खोज्ने भन्नेमा पुगेका कोइरालाको भनाइ छ । 
 
किसानले गत वर्षको रकम अहिलेसम्म भुक्तानी पाउन नसकेपछि उत्पादनमा नै कटौती सुरु गरेका उखु किसान शिवनारायण मेहताको भनाइ छ । सुनसरीको अमाही बेलाहामा २०५४ सालमा सुरु भएको इस्टर्न सुगर मिलमा किसानले ठूलै लगानी गरेका छन् । मोरङ र सुनसरीका सात हजार ५०० बढीले उखुखेती गर्दै आएका थिए । अहिले त्यो सङ्ख्या घटेर चार हजार पुगेको बताइएको छ । गत वर्ष उखु क्रसिङलगत्तै प्रतिक्विन्टल रु २०० का दरले भुक्तानी पाए पनि त्यसपछिको बाँकी रकम अहिलेसम्म किसानले हात पार्न सकेका छैनन् । मिलले गत वर्ष प्रतिक्विन्टल रु ४६१ का दरले किसानबाट उखु किनेको थियो । सबै किसानलाई मिलले रु ४० करोड बढी रकम तिर्नुपर्ने देखिन्छ । 
 
मिलका प्रमुख उखु प्रबन्धक सुरेश मेहताले किसानको रकम किस्ताबन्दीका रुपमा तिर्ने तयारी गरिरहेको बताउनुभयो । “बन्द हड्तालका कारण रकम भुक्तानी गर्न सकिएको छैन” उहाँले भन्नुभयो । प्रबन्धक मेहताले एक वर्ष भित्रमा सबै उखु किसानको रकम भुक्तानी गरिने बताउनुभयो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ