नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस देशभर मनाइँदैछ । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो ।
बिपी नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउन सफल एकमात्र खम्बा मानिन्छन् ।
उनको क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका अहिले पनि जुनसुकै दल र विचारधाराका व्यक्तिहरु प्रभावित छन् । उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेको भन्दै प्रशंसा गर्नेहरु अहिले पनि उत्तिकै छन् ।
२००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेर ‘अहिंशा परमो धर्म’ लाई आत्मसात् गरेकोजस्तो लाग्छ ।
कतिपय अवस्थामा बीपीका विचार महात्मा गान्धीसंग मिल्दछन् । ‘क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न’ भनेर बीपी नेपाली काँग्रेसका कार्यकर्तालाई सम्झाउँथे ।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका बीपी नेपालकोमात्र होइन भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए ।
राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालमा भएको पहिलो आमनिर्वाचनपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।
बीपीलाई अपदस्थ गरी २०१७ साल पुस १ गते राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि भने बीपीको जीवनमा खुवै उतारचढाव आयो । उनी थुप्रै समय जेलमा बसे ।
वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक भएकैले प्रधानमन्त्रीको नेतृत्व सम्हालेका बेलामा उनले अंगीकार गरेको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भएको नपचेपछि महेन्द्रले सैनिक सहयोगमा बीपीलाई अपदस्थ गरेका हुन् ।
पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका बीपी लामो समय भारतमा निर्वासित जीवन जिउन वाध्य भए । तर देशको राष्ट्रियता कमजोर बन्दै गएपछि उनी २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी आठ वर्षे निर्वासित जीवन बिताएर भारत प्रवासबाट स्वदेश फर्किए ।
पुस १६ को सम्झनामा हरेक वर्ष राष्ट्रिय मेलमिलाप दिवस नै मनाउने गरिन्छ । त्यतिबेला तत्कालीन राज्यसत्ताले उनलाई फाँसीसमेत दिनसक्ने अवस्था थियो । तर सो परिस्थितिको पर्वाह नगरी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
मुलुकमा अहिले पनि बीपीको त्यही मेलमिलापको नीति सान्दर्भिक मानिन्छ । बीपी बिते पनि उनको त्यो योगदान अझै पनि स्मरणमा छ ।
२०४६ सालको बहुदलपछि दलहरुबीच देखिएको खिचातानी र आजको मितिसम्म सत्ताका लागि भएका हानथापले राष्ट्रिय मेलमिलापको नीति कत्तिको महत्वपूर्ण छ भनेर स्पष्ट पार्छ ।
बीपी राजनीतिमा जति सभ्य हुन खोज्थे साहित्यमा भने उश्रृंखल मानिन्छन् । बीपीका जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाइ, आत्मकथालगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।
नेपाली राजनीतिमा कुनै असहज परिस्थिति भयो र दलहरूबीच एकता जरूरी भए सम्झने नेपालका एकमात्र नाम बीपी कोइराला हुन् ।
आफ्नै पार्टी काँग्रेसलेमात्र होइन कट्टरबादी कम्युनिष्ट र पञ्चहरूले पनि बीपीको नाम अगाडि सारेर एकताको कुरो गर्न चुक्दैनन् । काँग्रेस पनि अहिलेसम्म बीपीकै आदर्शबाट चलेको भन्छ ।
नेताहरू बीपीकै नाम रट्छन् । तर बीपीको विचारलाई पछ्याउँदैनन् । बीपीको आदर्शलाई अबलम्बन गर्ने हो भने उनीप्रतिको सच्चा श्रद्धासुमन अर्पण हुने थियो कि !