arrow

नेपाल–जापान मैत्री सम्बन्धको ६०औं बर्षगाँठ र नेपाल फेस्टिबल

logo
संगिता कुवँर,
प्रकाशित २०७३ साउन १० सोमबार
SANGITA-kunwar.jpg.jpeg
नेपाल–जापानको औपचारिक सम्बन्ध ६० वर्ष देखिको हो। नेपाललाई माया गर्ने थोरै देश मध्येको एक जापान हो भन्ने कुरा उसको व्यवहार र सहयोगले पुष्टी गरेको छ। नेपालीहरु पनि यो मान्दछन्। नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ। नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ। 
 
नेपाल–जापान मैत्री तथा कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा यतिखेर जापान तथा नेपालमा विभिन्न कार्यक्रमहरु भइरहेका छन्। नेपालको सांस्कृतिक तथा प्राकृतिक पहिचानबारे जापानी माझ बुझाउन पछिल्लो समय विभिन्न कार्यक्रम भईरहेका छन्। आगामी दिनमा जापानमा नेपाल फेस्टिबलसमेत हुँदैछ। 
 
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुन लागेको फेष्टिबलमा नेपाली राजदुतावास टोकियो तथा परराष्ट्र मन्त्रालयको बिषेश सहयोग रहेको छ। अगष्टको ६ र ७ मा टोकियोको योयोगी पार्कमा फेष्टिबल हुने भएको हो। एनआरएनए जापानका अध्यक्ष एवम फेस्टिबल मुल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार, “अतिथि देवो भव” भन्ने नारासंगै जापानी समुदायबिच कला संस्कृति, भेषभूषा लगायतका मौलिक पहिचानबारे अझ व्यापक रुपमा प्रवर्द्धन गर्न फेस्टिबल आयोजना गरिको हो। 
 
जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडी पुगिसकेको छ। जापानका नागरिकहरुमा राष्ट्रियताको भावना, सामुहिक मेलमिलाप, इमान्दारिता, कामप्रति जिम्मेबार जस्ता उल्लेख्य गुणहरु धेरैका लागि अनुकरणीय छन्। जापान बसाइँका क्रममा प्राप्त अनुभवले पनि यस्तो देखाएको छ। जसका कारण जापान साँच्चिकै भौतिक विकासको क्षेत्रमा अग्रपंक्तिमा दरिन सफल भएका छन्। 
 
जापान र जापानीसँग नेपालको कुटनैतिक मात्रै होईन भावानात्मक र आत्मिय सम्बन्ध रहेको छ। गत वर्षको विनाशकारी भुकम्पको बेला जापानले नेपाललाई गरेको सहयोगले यसलाई झनै दरिलो बनायो। जापानीहरुले देखाएको सद्भाव, माया, ममता, सहयोगको जतिनै प्रशंसा गरे पनि कम हुन्छ। त्यसो त जापान र नेपालको विकास तथा आर्थिक सहयोगी राष्ट्रहरु मध्ये एक मूख्य राष्ट्र पनि हो। जापानी आर्थिक तथा प्राविधिक सहयोगमा भएका विकासका नमुनाहरु नेपालमा देख्न तथा उपयोग गर्न सकिन्छ। नेपालको विकासमा देखिएको यो सहयोग नेपालीमाझ जापानको सम्मान बढाउने बिषय पनि हुन्।   
 
जापानमा पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्यामा वृद्धी हुदै आएको छ। नेपालीहरुमा जापानप्रति मोह समेत बढ्दो रुपमा देखिन थालेको छ। पछिल्ला केही तथ्याङ्कहरुलाई हेर्ने हो भने जापानमा वैधानिक रुपमै झण्डै ६० हजार नेपालीहरु छन्। त्यसका अलावा, अवैध रुपमा बस्नेहरुको संख्या पनि उल्लेख्य रहेको अनुमान गरिन्छ। जापानमा विभिन्न व्यवसाय, अध्ययन अनुसन्धान रोजगारीका क्षेत्रमा नेपालीहरु सक्रिय छन्। हाल जापानका केही स्थानहरु नेपालीमय भएको देखिन्छ। केही वर्ष यतादेखि जापानमा अध्ययनकालागि आउने नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ। 
 
सन् १९०२ मा पहिलो पटक आठ जना विद्यार्थीहरुको आवागमनबाट सुरु भएको जापान अध्ययनको यो सिलसिला अहिले संख्यात्मकरुपमा व्यापक परिवर्तन आएको छ। हाल वर्षेनी झण्डै ५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु जापान आउने गरेका छन्। यसरी अध्ययन, भ्रमण, धर्म संस्कृति हुँदै फस्टाएको, नेपाल–जापान बीचको अनौपचारिक सम्बन्ध निकै पुरानो भएता पनि औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको भने यो वर्ष ६० औँ बर्षमा छ। त्यसैले यो वर्ष जापान तथा नेपाल दुबै मुलुकमा ६० औँ वर्ष विशेष कार्यक्रमहरु आयोजना भईरहेका छन्। केहि समय अघि भुकम्पको बेला जापानले गरेको सहयोगको प्रशंसा गर्दै धन्यबाद जापान कार्यक्रम पनि सम्पन्न भएको थियो।
 
जीवन भुवा भन्दा हलुका र कर्तव्य पहाड भन्दा वजनदार मान्ने जापानी पेसागत ईमान्दारिता र प्रष्ट बिचारमा अब्बल छन्। इमान्दार, लगनशील, दृढ जापानीहरुबाट हामीले केबल आर्थिक तथा प्राविधिक सहायता प्राप्त गरेर मात्र हाम्रो परिवर्तनको सपना पुरा हुन सक्दैन्। बरु आर्थिक, प्राविधिक सहयोगसंगै उनीहरुको जस्तो निष्ठा, लगन र मेहनतका केही अंशहरुको मात्रै भए पनि अनुसरण गर्न सक्यौ भने धेरै प्रगति गर्न सक्नेछौ। 
 
पछिल्ला वर्षहरुमा नेपालीहरुको बढ्दो संख्यासँगै कतिपय जापानीहरु नेपालको संस्कृति, कला, भाषा र भेषभुषासँग नजिक छन्। आत्मीयता पनि उत्तिकै दर्शाउछन्। अझ धेरै जापानीलाई बुद्ध जन्मेको देश, सगरमाथाको देश, प्राकृतिक रुपले सुन्दर देश नेपालको बारेमा बुझाउनै बाँकी छ। 
 
विदेशमा व्यस्तता र समयको सिमितताका बिच देशको पहिचान र पर्यटन प्रर्वद्दन सम्बन्धी काम तथा कार्यक्रम हुन्छन् जसले गर्दा त्यी अवसरहरुमा पनि पर्याप्त प्रवद्र्धन गर्न सकिरहेका हुँदैनौँ। तर सरल तरिकाले लिने हो र आआफ्नो स्थानबाट लाग्ने हो भने सहजै सम्भव पनि छ। ६० हजार नेपाली रहेको जापानमा, एक जना नेपालीले एक जना जापानीलाई नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिबारे सुनायो र बुझायो भने मात्र पनि हरेक वर्ष ६० हजार जापानीहरुसंग नेपालको पर्यटन विकास तथा व्यवसायीक सम्बन्ध अझ प्रगाढ बन्नसक्छ। 
 
हाल जापानका रहेका कार्यबाहक नेपाली राजदुत गेहेन्द्रराज भण्डारी जापानमा रहेका नेपालीका समस्या समाधानका लागी राजदुतावास एवम एनआरएनएले सहयोगी भुमिका खेल्ने गरेको बताउँछन्। सिन्जुकोमा रहेको सिमिन बुन्खा खाइखानमा आयोजित नेपाल–जापानको मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाठ्को अवसरमा आयोजित  सास्कृतिक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली कार्यबाहक राजदुत भण्डारीले जापान र नेपालको दौत्य सम्बन्ध मजबुत रहेको बताएका थिए। यही कुराले पनि दुई देश बिचको साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निभाएको छ भन्ने प्रष्ट हुन्छ। 
 
जीवन भुवा भन्दा हलुका र कर्तव्य पहाड भन्दा वजनदार मान्ने तथा पेसागत ईमानदारीतामा प्रष्ट र अब्बल जापानीहरुबाट हामीले केबल आर्थिक,तथा प्राविधिक सहायता प्राप्त गरेर मात्र हाम्रो परिवर्तको सपना पुरा हुन सक्दैन। औपचारीक सम्वन्धको ६०औं बर्षगाँठका अवसरमा हामीहरुले आर्थिक, प्राविधिक सहयोगसंगै उनिहरुको जस्तो निष्ठा, लगन र मेहनतका केहि अंशहरुको मात्रै भए पनि अनुसरण गर्न सिक्यौ भने हामीहरुले पनि धेरै प्रगती गर्न सक्छौ। यो पक्का छ। 
 
(गुल्मी नेपालकी कुँवर हाल जापान, टोकियोमा छिन्।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ