arrow

अमरेश सिंह प्रवृतिलाई निस्तेज गर्ने कि प्रोत्साहन दिने ?

logo
अमरदीप मोक्तान,
प्रकाशित २०७३ साउन १० सोमबार
amardeep-moktan.jpg.jpeg
नेपाली राजनीतिमा अमरेश सिंह यस्तो नाम हो जो सर्वशक्तिमान राजनैतिज्ञको श्रेणी पर्दछन्। यदि कसैले शेर बहादुर, केपी ओली, प्रचण्ड नेपालका शक्तिशाली नेता हुन् भनि बुझेका छन् भने त्यो पूर्ण रुपमा गलत हो भ्रम हो। अमरेश सिंह नेपालका कानुन भन्दा माथि भएका व्यक्तित्व हुन् भन्ने कुरा समय समयमा नेपाली जनताले देखिरहेका छन् अनुभव गरि रहेका छन्। तर कसैले उनको उदण्डतामा अंकुश लगाउन सकेका छैनन्। भारतमा खुलेआम धर्मान्तरणको नाटक मन्चन गर्ने खुलेआम कानुनको धज्जी उड़ाउने तथाकथित धर्मगुरु जाकिर नायक कानूनको भय ले आज भागी हिड्नु परेको छ भने नेपालको राजनीतिमा खुलेआम दुर्गन्ध फैलाउने अमरेश सिंहलाई अंकुशको त कुरा परै जावोस एक शब्द उच्चारण गर्न समेत डराई रहेको छ। केपी ओलीको अपमान भनेको एमालेको अपमान मात्र होइन काँग्रेस माओवादी लगाएत राष्ट्रको अपमान पनि हो। राजनीतिमा विरोधी भनेको प्रतिद्वन्दी हो शत्रु होइन। तर नेपालका राजनीतिज्ञमा यस कुराको किञ्चित भर ज्ञान छैन भन्ने कुरा वर्तमान केपी ओलीको सरकार विरुद्ध अविश्वाश प्रस्तावको समर्थनमा बोल्ने क्रममा अमरेश सिंहले दिएका छन्। प्रधानमन्त्री जुनसुकै पार्टीको किन नहोस् सभासद जस्तो गरिमामय पदमा पुगेका व्यक्तिले प्रधानमन्त्रीको अपमान गर्दै अशोभनीय भाषाको प्रयोग गर्नु भनेको नेपाली राजनीतिमा उदण्डता तथा उच्छृङखलताको प्रवेश हुनु हो। जसले भविष्यमा सांसदको गरिमालाई पूर्ण रुपले ध्वस्त गर्ने छ। याद रहोस केपी ओली माथि शब्द वाण प्रहार हुँदा थपडी बजाउनेहरुले के बुझे हुन्छ भने यदि यस्ता छाडातन्त्रलाई अंकुश लगाइएन भने त्यो शब्द वाण कुनै दिन त्यहि व्यक्तिद्वारा शेर बहादुर, प्रचण्ड माथि पनि प्रहार हुन् सक्छ। संसदको गरिमा माथि प्रहार कसले गर्न सक्छ जो संसद भन्दा माथि हुन्छ जसले संसदको अनादर गर्छ। अमरेश सिंहको क्रियाकलापले यसमा कुनै शंका नै छैन। अमरेश सिंह नेपालका सबैभन्दा हेविवेट तथा उच्च्च कदका नेता हुन् जसको अगाडी संसदको गरिमाको केहि अर्थ छैन? आखिर किन र के कारणले अमरेश सिंह हेविवेट नेता हुन् त्यसका लागि अमरेश सिंहको विगतदेखि वर्तमान सम्मका क्रियाकलाप बारे जान्न जरुरी छ। 
 
स्मरण रहोस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क भन्दा पहिल्यै नेपाल भ्रमणमा आउने जानकारी कांग्रेस सभासद अमरेश सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट पश्चात एक समाचारपत्रलाई जानकारी दिएका थिए। कुटनैतिक मर्यादाको घोर उल्लंघन भएतापनि प्रधानमंत्रि नरेन्द्र मोदीको नेपाल भ्रमणवारे जानकारी भारत स्थित नेपाली राजदुतावास, नेपाल स्थित भारतीय राजदुतावास तथा भारतीय विदेश मंत्रालयबाट जारी गरेको सुचनाको आधारमा नभई नेपाली कांग्रेस सभासद अमरेश सिंह  मार्फत समाचार प्राप्त भएको थियो। भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले अमरेश सिंहसँग २० मिनेटको समय दिनु सामान्य कुरा होइन। त्यति मात्र कहाँ हो र मोदीले   भेटघाटको क्रममा साउन १९ गते नेपाल भ्रमणमा आउने जानकारी तथा सभासद अमरेश सिंहले भारत सरकारद्धारा भुटानलाई पाँच हजार करोड तथा अफगानिस्तानलाई तीन हजार करोड अनुदान दिने गरेको तर नेपालको तराई क्षेत्रको विकास नभएकोले गर्दा नेपाललाई दिएको छ सय करोड अनुदान अपूग भएकोले अनुदान बढाउन आग्रह गरेका थिए। नेपालको संविधान निर्माण एक वर्षको समय सिमाभित्र बन्ने सम्भावना न्यून रहेको यदि संविधान बनिहाले पनि आदिवासी तथा मधेसी समुदायले आन्दोलन गर्न सक्ने विश्लेषण मोदीलाई सुनाएको भनी एक समाचार पनि सार्वजनिक भएको थियो जो अहिले सत्य भएको छ। मोदीको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री शुशिल काईरालाद्धारा उठाउनु पर्ने महत्वपूर्ण विषय सभासद अमरेश सिंहद्धारा उठाईयो आखिर किन? कांग्रेस पार्टीले अथवा नेपाली कांग्रेस एमाले गठवन्धन सरकारले उठाउने अधिकार किन प्रदान किन गरे? सभासद अमरेश सिंह भारतिय प्रधानमन्त्रीलाई भेट्न जादा शुशील कोइरालालाई अथवा काँग्रेस पार्टी यस वारे जानकारी किन गराएनन्? परराष्ट्र मंत्रालयमा अमरेश सिंहको प्रधानमन्त्री मोदीसंग हुने भेटघाटको जानकारी थियो की थिएन? अखिर किन र कुन आधार मा  प्रधानमन्त्री नरेन्द्र मोदीले सभासद अमरेश सिंहलाई प्राथमिकता प्रदान गरेका हुन भन्ने सन्दर्भ नेपाली जनमानसमा पनि रहस्य बनेको छ।
 
त्यस बखत भारतको प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सार्क देश भ्रमणका लागी भुटान पश्चात नेपाललाई दोस्रो प्राथमिकताको देशमा चयन गर्नु नेपालीका लागि सुखद समाचार थियो तर भ्रमण पूर्व एक सामान्य सभासदलाई नेपाल सरकारको आधिकारिक प्रतिनिधि सरह आफ्नो अति वहुमुल्य समय मध्येको वीस मिनेट खर्चिनुले ठूलो प्रश्न जन्माएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनधिकृत व्यक्ती अमरेश सिंहलाई महत्व दिनु को अर्थ के हो? अमरेश सिंह नेपालको दोश्रो संविधान सभाका एक सभासद मात्रै  थिए। गम्भीर प्रश्न के हो भने भारतको नवनिर्वाचित प्रधानमन्त्रीको ऐतिहासिक नेपाल भ्रमण अगाडी भारतीय प्रधानमन्त्रीलाई भेट गरी देशको आन्तरिका समस्याको विषयमा कुरा गर्ने आधिकारिकता कसले प्रदान गर्यो। कांग्रेस पार्टीले अमरेश सिंहलाई नरेन्द्र मोदीको भ्रमण अगाडी कार्यक्रम तय गर्न जानकारी प्राप्त गर्न पठाएका हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन तर तत्कालिन कांग्रेस एमाले गठवन्धनको सरकार भएको हुँदा दुवै पार्टीको सहमतिमा आधिकारिकता प्रदान गरी अमरेश सिंहलाई नरेन्द्र मोदीलाई भेट गर्न पठाईएको कुरा सार्वजनिक न भएता पनि काँग्रेस एमालेका प्रमुखहरुको मौनताले अमरेश कति शक्तिशाली हुन् भन्ने पुष्टि हुन्छ।
 
अमरेश सिंह नेपाली राजनितिका यस्ता पात्र हुन जो हमेशा समाचारको सुर्खीमा रहेको पाईन्छ। हालको सत्ता परिवर्तन दिल्लीमा विद्रोही माओवादी तथा सरकारवीच भएको १२ बुँदे समझदारीदेखी लिएर प्रत्येक महत्वपूर्ण निर्णयस्थलमा अमरेश सिंहको उपस्थिति देखियो। भारत सरकारका राजनीतिज्ञ, कुटनीतिज्ञ, कुटनीतिक नियोगका उच्च पदस्थ अधिकारीको अमरेश निवासमा निर्वाध रुपमा आवत जावत रहेको समाचार सार्वजनिक भएको छ। अमरेश सिंह कांग्रेसबाट निर्वाचित भएका एक सभासद मात्र हुन्। कांग्रेस पार्टीका कुनै ठुला पदाधिकारी पनि हाईनन् तर भारत सरकारले अमरेश सिंहलाई यति धेरै महत्व दिनुको अर्थ रहश्यमय छ? अमरेश सिंहको प्रार्दुभाव १२ वुँदे समझदारीबाट सुरु भई महन्त ठाकुरको निजी सचिब देखि दोश्रो संविधान सभाका सभासदसम्म आइपुग्दासम्म भारत सरकार तथा नेपाल सरकारले अति महत्व दिनुको कारण अज्ञात छ? अमरेश सिंह भारत सरकारका नेपाल विषय हेर्ने आधिकारिक व्यक्ती पनि होइनन्। नेपाल सरकारको तर्फबाट भारतसंग समन्वय कायम गर्ने आधिकारिक व्यक्ती पनि होइनन तर नेपालको कुनै पनि राजनैतिक घटना क्रममा अमरेश सिंहको उपस्थिति तथा संग्लग्नता किन देखिन्छ?
 
यो त एक उदाहरण मात्रै हो। स्मरण रहोस अमरेश सिंहको निवासमा भारतीय राजदूत विदाई भोजका कार्यक्रम हुनु तथा उक्त भोजमा भारतीय राजदूतको उपस्थीति हुनु, वरिष्ठ निजामतीको सरुवा बढुवा, प्रहरी सेनाको सरुवा बढुवा हुनका लागि उच्च तहका अधिकृतहरु अमरेश निवासमा चाकरी गरेको समाचारले अमरेश सिंह नेपाल सरकार वाहेक एक समानान्तर सरकारका प्रमुखको रुपमा रहेको प्रतित हुन्छ। केहि वर्ष अगाडी अमरेश सिंहले गरेको रात्री भोजमा रअ का पदाधिकारी, भारतीय राजदूतवासका कुटनीतिज्ञ पियुस श्रीवास्तव, राष्ट्रिय अनुसन्धान विभागका भूतपूर्व आइ जी पि देवीराम शर्मा डि आई जी राजेन्द्र सिंह भण्डारी, ब्रीफकेस उजागर गरेका कारण छानवीनको दायरामा परेका एस एस पी रमेश खरेल लगायात उच्च प्रहरी अधिकृतहरुको उपस्थितिले सभासद अमरेश सिंहको शक्ति तथा प्रभाव कतिसम्म रहेछ स्पस्ट रुपमा छर्लङग हुन्छ। नेपालमा राजनैतिक समस्या आईपर्दा छिमेकीको नाताले भारतीय उच्च तहका राजनीतिज्ञ जनता दल युनाइटेडका प्रभावशाली समाजवादी नेता डि पि त्रिपाठी तथा प्रभावशाली वामपन्थी नेता सिताराम येचुरीको समय समयमा नेपाल आगमन हुने गर्दछ। नेपालका ठूला पार्टीको विचारधारा समाजवादी तथा वामपन्थी भएको हुनाले यसलाई स्वभाविक प्रकृया तथा सकरात्मक रुपमा हेर्न सकिन्छ तर अमरेश सिंह नेपाली कांग्रेसका कुनै उच्च पदाधिकारी नभई एक सामान्य सभासद भएता पनि भारत तथा नेपाल सरकारले उच्च महत्व किन दिएका होलान? यसले पनि अमरेश सिंह शक्तिमान तथा नेपालका हेविवेट राजनीतिज्ञ हुन् भन्ने  प्रमाणित हुन्छ। कुनै पनि अन्तर्वार्तामा उनको बारम्बारको थेगेमा राजनीतिशास्त्रका विद्यार्थी भएको अर्थात् अमरेश बाहेक नेपालमा विद्वान राजनीति शास्त्रका विद्यार्थी कोहि छैनन् कि के हो? के पी ओलीको राजीनामा तथा बहिर्गमनले राष्ट्र मजबूत हुने हो कि अमरेश प्रवृति मजबूत हुने हो त्यो चिन्ताको विषय बनेको छ। हेक्का रहोस यदि अब पनि अमरेश जस्ता पात्रलाई अंकुश लगाउने प्रयास गरिएन भने नेपाल एक दुर्बल राष्ट्रमा परिणत हुने अवस्यम्भावी छ भनि बुझे हुन्छ। अमरेश सिंह जस्तो प्रवृतिको उदय हुनु भनेको नेपाल एक कमजोर निरीह राष्ट्रमा परिणत हुनु हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ