arrow

नेपाली कांग्रेस इलाम सभापतिमा डम्बर खड्का विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
dambar-khadkaa.jpg

इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत इलाम सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे  । आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । खड्कालाई सभापतिका अन्य दाबेदार संस्थापन समूह निकट नै मानिने केशब थापा र इतर समूह निकट भनिएका बर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए ।

अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी भएका छन् ।

दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बने । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने ।

दुई सचिव पदमा दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ मत र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बने ।

त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ मत र प्रविना राईले ६ सय ३६ मत पाएर पराजित बने । २२ जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समेत मिश्रित परिणाम आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ