arrow

कांग्रेस १४औं महाधिवेशन

अधिवेशन नगरेको प्रदेश २ बाट कति आउँछन् कांग्रेस महाधिवेशन प्रतिनिधि ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
congress-province-2-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन यही २४ मंसिरबाट शुरु हुँदैछ। कांग्रेसले देशका ७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश तहको अधिवेशन सम्पन्न गरेसँगै केन्द्रीय महाधिवेशनको रौनक पनि बढेको छ ।

कांग्रेसका हालसम्म ७७ मध्ये ६१ जिल्लामा जिल्ला तहका अधिवेशन पनि सकिएका छन् भने बाँकी प्रदेश २ का ८ सहित १६ जिल्लामा भने केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले बताइसकेको छ ।
 
कांग्रेसले प्रदेश २ मा भने प्रदेश अधिवेशन नै गर्न सकेको छैन । सो प्रदेशमा केन्द्रीय महाधिवेशपछि मात्रै प्रदेश तहको नेतृत्व चयन हुने २ को अधिवेशन गराउन कांग्रेसले संयोजक तोकेका नेता रमेश रिजालले जानकारी दिएका हुन् ।

सर्लाहीमा चार वटै क्षेत्रको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन बाँकी छ भने महोत्तरी ३ मा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन पुनः गर्न माग गरिएको छ। यस्तै सप्तरीको क्षेत्र नम्बर ४ को अधिवेशन भएको छैन। बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख) मा पनि अधिवेशन बाँकी छ। रौतहटको क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।

प्रदेश २ मा ८ जिल्ला छन् । ती सबै जिल्लामा चार चार वटा प्रतिनिधि सभा अन्तर्गतका निर्वाचन क्षेत्र छन् । ती प्रत्येक क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुन्छन् । 

अर्थात् एक जिल्लाबाट एक सय जना प्रतिनिधि आउँछन् । आठ वटा जिल्लाबाट गरेर आठ सय जना महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट सहभागी हुन्छन् । यो संख्यामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पनि पर्छन् ।

यसैगरी निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कांग्रेस विधानमा छ ।

यस्तै तोकिए बमोजिमका भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका अधिवेशनबाट निर्वाचित भइ आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुन पाउने छन् ।

यसैगरी केन्द्रीय सभापतिले संविधानले तोकेको विभिन्न क्लष्टरबाट मनोनित गरिएका महाधिवेशन प्रतिनिधिहरुको पनि केन्द्रीय महाधिवेशनमा सहभागीता रहनेछ ।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशसरण महतले प्रदेश २ मा एक दुई दिन भित्रमा नै सबै क्षेत्रमा अधिवेशन सम्पन्न भएर महाधिवेशनका लागि प्रतिनिधि आउने बताए ।

‘प्रदेश २ केही जिल्लामा प्रतिनिधि सभाको अधिवेशन बाँकी छ, भली वा पर्सिमा प्रदेश २ का बाँकी जिल्लामा पनि प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिन्छ र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि तय हुन्छ।’ महतले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ