arrow

रियो ओलम्पिक ३ :सबैभन्दा कम उमेरकी खेलाडी, ‘ओलम्पिक मेरालागि राम्रो प्लेटफर्म’ –गौरिका सिंह

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
final-picture.jpg.jpeg
काठमाडौं । नेपाली पौडीबाजले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा पनि राम्रो प्रभाव जमाउन सकेका छैनन् । त्यस्तोमा १३ वर्षे गौरिका सिंहले गत फागुनमा चमत्कार गरिन् । भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा भारतमा गौरिकाले एक रजत र तीन कास्यपदक जितेर कीर्तिमान रचिन् । 
Rio 2016 Olympics, Rio 2016 Olympics news, Rio 2016 Olympics updates, Gaurika Singh, Gaurika Singh Nepal, Gaurika Singh swimmimg, sports news, sports
 
नेपाली पौडीको इतिहासमा यी फुच्चीको सबैभन्दा ठूलो सफलता हो । यो फुच्ची जलपरीले नेपालमामात्र होइन विश्वमै कीर्तिमान रच्ने सम्भावना बढेको छ । त्यो पनि ओलम्पिक खेलकुदमा । 
 
उनी ब्राजिलको रियो दि जेनेरियोमा हुँदै गरेको रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी हुन् । कान्छी खेलाडी भएको भन्दै खुवै प्रशंसा पनि गरेका छन् । अन्तर्वार्तासमेत लिएका छन् । उनले अचम्म मान्दै खुसीसमेत ब्यक्त गरिरहेकी छिन् । 
Gaurika Singh
 
हुनत पौडीको बेस बन्ने समय नै यही हो । यो समयलाई गौरिकाले खुवै प्रयोग गरेकी छिन् । नेपाली पौडीका ज्ञाताहरु भन्छन् –गौरिका नेपालमै भएको भए यतिराम्रो प्रदर्शन हुने थिएन । 
 
उनी बेलायतमा बस्छिन् । बेलायतमै दैनिक अभ्यास गर्छिन् । लण्डनको मिलहिलस्थित बार्नेट कोपथल पौडीपोखरीमा गौरिकाको अभ्यास चल्छ । उनी दिनको दुईपटक पाँच घण्टासम्म, सातामा ७० किलोमिटरसम्म त्यही पौडीपोखरीमा ओहोरदोहोर गर्ने उनको परिवारले बताएको छ । 
 
उनले जुन मेहनत बेलायतमा बसेर गरेकी छिन् त्यो सबै ब्यक्तिगत खर्चमै हो । ओलम्पिकको सपना चाँडै पूरा भएकामा उनले खुसी पनि व्यक्त गरेकी छिन् । उनी भन्छिन् –‘इट इज ह्युज प्लेटफर्म फर मी’ (यो मेरालागि ठूलो अवसर हो) । 
 
गत वर्ष २० औं राष्ट्रिय पौडी प्रतियोगिताका लागि काठमाडौं आएकी गौरिकाले त्यसपछि पछाडि फर्किनु परेको छैन । उनले पहिलो सहभागीतामै छ वटा राष्ट्रिय कीर्तिमान बनाएर सबैको मन जितिन् । 
 
सोही आधारमा उनी भारतमा भएको १२ औं सागमा पनि छानिइन् । सागमा यसअघि औपचारिकतामै सीमित देखिएको नेपालले यसपटक गौरिकाको प्रदर्शनले कायापलट ग¥यो । धेरै नेपाली हेरेको हे¥यै भए । 
 
अर्थात् धेरैले एउटै बाक्य निकाले ‘फुच्चीले कमालको प्रदर्शन गरी’ । गौरिकाले १ रजत र ३ कांस्यपदक जितिन् । पौडीको व्यक्तिगत इभेन्ट्समा गौरिकामार्फत नेपालले पहिलोपटक रजतपदक जितेको हो । 
 
 
नेपाली पौडीको यो पदक अहिलेसम्मकै ऐतिहासिक हो । यो कीर्तिमान राखेकी गौरिका त्यत्तिकै रोकिएकी छैनिन् । उनले रजत जितेसंगै भनेकी थिइन् –‘अब नेपालमै हुने १३ औं सागमा स्वर्ण जित्छु ।’ 
 
यो दृढ इच्छाशक्तिले नै गौरिकालाई रुसको कजानमा विश्व च्याम्पियनसिपमा लग्यो । १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ०८.२३ सेकेन्डमा खेल सकिन् । नेपालबाट सबैभन्दा बढी फिना अंक ल्याएर गौरिकाले रियो ओलम्पिकका लागि वाइल्ड कार्ड पाइन् । 
 
गौरिकाले सागमा भने कास्यपदक जित्दा १ मिनेट ०७.३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । कीर्तिमानकी खानी गौरिकाले अहिलेसम्म ३२ वटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइसकेकी छिन् । 
 
रियो ओलम्पिकमा उनको चुनौती अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने हो ।  उनको लक्ष्य कम्तीमा १ मिनेट ०६ सेकेन्डमा दूरी सकाउने छ ।
 
उनले विगत छ महिनादेखि निकै कठिन अभ्यास गरिरहेकी छिन् । उनको परिवार वाइल्ड कार्ड भन्दा पनि दक्षिण एसियाबाट सीधै ओलम्पिकमा छनोट हुने सपना देख्दैछ । 
 
अहिलेलाई उनले एउटा प्लेटफर्म बनाए पनि अर्को ओलम्पिकका लागि भने परिवारको सोच अर्कैै छ । त्यो हो समयलाई १ मिनेट ०१ सेकेन्डमा झार्ने अनि ओलम्पिकमा सीधै छनोट हुने । दक्षिण एसियामा अहिलेसम्म कसैले पनि पौडीमा सीधै छनोट भएको घटना छैन । 
 
नेपालमै बसेको भए उनले यो सफलता हासिल गर्लिन् र भनी हावामा उडाउन सकिन्थ्यो होला । तर उनी त बेलायतमा छिन् त्यो पनि सुविधा सम्पन्न पौडीपोखरीमा अभ्यास गरिरहेकी छिन् । उनका बाबुले पनि उनका लागि खुवै लगानी गरेका छन् । यो अर्थमा पनि गौरिकाले नेपालका नाममा केही गर्छिन् भन्ने भरोसा छ । 
 
गौरिकाले १०० मिटर ब्याकस्ट्रोकको प्रतिस्पर्धा साउन २३ गते आइतबार खेल्दैछिन् । नेपाली एउटै प्रतिक्षामा बसेका छन् कि गौरिकाले कति छिट्टै पौडी सकाएर अर्को राष्ट्रिय कीर्तिमान बनाउलिन् । 
 
उनी नेपालमा शान्ति शिक्षा अभियानको सद्भावना दूत पनि हुन् । हरेक राष्ट्रिय कीर्तिमान बनाएपछि उनलाई राष्ट्रिय खेलकुद परिषदले पाँच हजार रुपैयाँ दिने गर्छ । 
 
त्यो रकम उनले गैरसरकारी संस्थालाई विद्यालय भवन बनाउन दिन्छिन् । सो संस्थाले रियो ओलम्पिकमा कतिबेला गौरिकाले कीर्तिमान बनाउलिन् भनेर कुरेको छ । गौरिका पनि सहयोग गर्न आतुर छिन् । 
 
विगत चार वर्षदेखि निरन्तर पौडी खेल्न थालेकी गौरिकालाई यति कम उमेरमै बनाएको कीर्तिमान र खेल सुधारका लागि धेरै धेरै शुभकामना । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ