arrow

कर्मचारीतर्फका राजदूतको सुनुवाइ सकियो, राजनीतिक भागबण्डातर्फ अन्योल

logo
प्रकाशित २०७३ साउन २० बिहिबार
sunuwai-samiti-rajdut.JPG.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतमध्ये विहिबार युरोपियन युनियन र बेल्जियमका लागि प्रस्तावित राजदूत लोकबहादुर थापाको सुनुवाइ गरेको छ । 
यो संगै सरकारले कर्मचारीबाट प्रस्ताव गरेकाहरुको सुनुवाई सकिएको छ । 
 
प्रस्तावित राजदूत थापा हाल राहदानी विभागका महानिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको समितिको बैठकले प्रस्तावित राजदूत थापासँग उनका भावी कार्य योजना र सोचका बारेमा जानकारी लिएको थियो । 
 
सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले नेपालले युरोपियन युनियनमा आवद्ध २७ देश तथा बेल्जियमसँग आगामी दिनमा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने जानकारी दिए ।  
 
उनले कूटनीतिका विविध आयाममध्ये आर्थिक कूटनीतिकलाई विशेष जोड दिने जानकारी दिँदै यसका लागि द्विपक्षीय उच्चस्तरीय भ्रमण आदान प्रदानको व्यवस्था मिलाउन प्रयास गरिने बताए ।  
 
प्रस्तावित राजदूत थापाले नेपालको पर्यटन प्रवद्र्धन गर्न, ती देशमा रहेका नेपालीको हकहित सुरक्षित गर्न, नेपालको वैदेशिक लगानी प्रवद्र्धन गर्न पनि जोड दिइने आफ्नो कार्ययोजना भएको सुनाए ।  
 
सो अवसरमा समिति सदस्य एवम् नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई सुदृढ बनाउन र नेपाल सुरक्षित छ भन्ने सन्देशलाई प्रवाह गर्न सुझाव दिए । 
 
समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले नेपालको संविधान जारी हुँदाका समयमा युरोपियन युनियनले गरेका गतिविधि आपत्तिजनक रहेको चर्चा गर्दै आगामी दिनमा अनावश्यक गतिविधि गर्न नदिन कूटनीतिक पहल गर्न सुझाव दिए । 
 
यस्तै, समितिका सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले युरोपियन युनियनले सरकारी भन्दा गैरसरकारी संस्थामार्फत सहयोग बढी गरिरहेको हुँदा सबै सहयोगलाई सरकारी ढुकुटीमार्फत गर्न पहिलो प्राथमिकता दिन प्रस्तावित राजदूत थापालाई आग्रह गरे । 
 
समितिका सदस्य आनन्द ढुङ्गानाले नेपाल र नेदरल्यान्डबीचको सोझो हवाई सम्बन्ध रोकिएको हुँदा यसलाई पुनः सुचारु गर्न जोड दिए ।  बैठकमा समिति सदस्य बालकृष्ण खाँण, अनिता परियार, चित्रलेखा यादव, अष्टलक्ष्मी शाक्य, गणेशमान गुरुङ, योगेन्द्र चौधरीले प्रस्तावित राजदूत थापासँग विभिन्न जिज्ञासा राखेका थिए । 
 
हाल बेल्जियममा करिब १० हजार नेपाली रहेका छन् । त्यहाँबाट नेपालमा वार्षिक ५ देखि ६ हजार पर्यटक नेपाल घुम्न आउने गर्दछन् । यसैगरी युरोपियन युनियनमा आवद्ध देशमा कति नेपाली रहेका छन् यसको यकिन तथ्याङ्क छैन । बेल्जियममा राजदूतको निवास छ तर राजदूतावास छैन । हाल युरोपियन युनियनले नेपालको बुढीगण्डकी र तनहुँ जलस्रोत आयोजनामा सहयोग गरेको छ । 
 
राजनीतिक पृष्ठभूमिका प्रस्तावित राजदूतको सुनुवाईमा अन्योल 
राजनीतिक पृष्ठभूमिबाट सिफारिस भएका प्रस्तावित राजदूत–नियोग प्रमुखको संसदीय सुनुवाइ कहिलेबाट सुरु गर्ने भन्ने अन्योल देखिएको छ । 
 
संसदीय सुनुवाइ विशेष समितिले परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको संसदीय सुनुवाइ सिध्याएको छ । 
 
अब राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका प्रस्तावित राजदूतको सुनुवाइ कहिले सुरु गर्ने भन्ने समितिमा अन्योल देखिएको हो । 
 
मन्त्रिपरिषद्को २०७३ वैशाख ७ गतेको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । तीमध्ये १४ जना राजनीतिक पुष्ठभूमिका छन् । 
 
परराष्ट्र सेवा बाहिरबाट महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर केसी, डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई सरकारले राजदूतका लागि सिफारिस गरेको थियो । 
 
समितिका सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले समितिको बैठक शुक्रबार दिउँसो बस्ने र सो बैठकले बाँकी प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कहिलेबाट सुरु गर्ने भन्ने निर्णय गरिने जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ