arrow

नेपाल भएर जाने रेल मार्ग चीनको सबैभन्दा शक्तिशाली बाटो

चिनियाँ प्रविधि हिमालयन क्षेत्रमा रेल सेवा प्रभावकारी बनाउँदै

logo
प्रकाशित २०७३ साउन २१ शुक्रबार
china-rail.jpg.jpeg
एजेन्सी। चीन अहिले तिब्बतदेखि दक्षिण एसियामा रेल सेवा विस्तारको अभ्यास गरिरहेको छ। विश्लेषकहरुका अनुसार हिमालयन क्षेत्रको सबैभन्दा चम्किलो क्षेत्रको फेदसम्म आइपुग्नका लागि एक सय किलोमिटर प्रति घण्टाको गतिको रेल सेवा सञ्चालनको योजना सपनाबाहेक केही नरहेको बताउँछन्। चिनियाँ रेलसेवा विज्ञहरुले सबैभन्दा चम्किलो हिमालयन क्षेत्र पूरै हिउँले ढाकेको र त्यसबाट बगेका हिमनदीहरुको कारण रेल सेवा विस्तार गर्नु निकै कठिन रहेको बताएका हुन्। 
 
चीन आफ्नो प्रविधिको प्रयोग गर्दै थप १९ हजार किलोमिटर बराबरको रेलमार्ग निर्माणको योजना चीन सरकारको रहेको छ। उक्त रेल मार्गमा रेलको गति भने तीन सय ५० किलोमिटर प्रतिघण्टा बराबरको रहने योजनामा उल्लेख गरिएको छ। यसले चीनको समग्र दक्षिण एसियाको व्यापारलाई जोड्नेछ। 
 
हिमालयन क्षेत्रको रेलमार्ग चीनको छिगेजबाट सुरु हुनेछ। छिगेज तिब्बतको एक सहर हो। उक्त सहरबाट त्यो रेल सेवा चीनको सीमा नाकासम्म पुर्‍याइनेछ त्यही मार्ग नेपालमा पनि विस्तार गर्ने चिनियाँ योजना छ। यद्यपि यो रेलमार्ग तीव्र गतिको रेल सेवा प्रदान गर्नको लागि निर्माण गर्न लागिएको हो। विहीबार बेइजिङमा भएको कार्यक्रममा विज्ञहरुले आफ्नो धारणा राखेका हुन्।
 
सन् २००६ मा चीनले आफ्नो उच्चस्थलमा रहेको तिब्बत जोड्ने अभिप्रायका साथ ११ सय किलोमिटर बराबरको रेल मार्ग विस्तार गरेको थियो। सन् २०१४ मा चीनले आफ्नो तिब्बत क्षेत्रको दोस्रो सबैभन्दा ठूलो सहरको रुपमा रहेको छिजेगदेखि ल्हासासम्म २५० किलोमिटरको रेलमार्गको निर्माण गरेको थियो। चीनको सन् २०१६ देखि २०२० सम्मको लागि ल्याइएको योजनामा एक सय किलोमिटर प्रति घण्टाका उक्त रेलमार्ग तिब्बतको रेल सिस्टमको नियमानुसार सञ्चालन हुनेछन्। साथै यो मार्ग छिगेजदेखि गेइरोङसम्म सीधामार्ग हुनेछ। 
 
चीनले आफ्नो रेल सेवा काठमाडौंसम्म विस्तार गर्ने आशा राखेको छ। यसलाई चीन नेपाल अन्तर्राष्ट्रिय रेल सेवाको एक भागको रुपमा हेरिएको छ। चिनियाँ राष्ट्रपति सि जिङपिङले प्रस्ताव गरेको योजना अनुसार चीनले रेलको माध्यमबाट नेपालसँगको आर्थिक, सांस्कृतिक तथा धार्मिक सञ्चारमा विस्तार हुने आशा राखेको छ। 
 
समस्याको रुपमा ल्हासा सामुद्रिक सतहबाट ३७ सय मिटरको उचाइमा रहेको छ भने छिगेज ३८ सय मिटरको उचाइमा रहेको छ। जसको कारण रेल उक्त स्थानमा रेल मार्ग बनाउन कठिना हुने देखिएको छ। तिब्बत स्वायत्त क्षेत्रका अध्यक्ष लोसाङ जाम्बकानले गत जुलाई १ मा अहिले विस्तार हुन लागेको रेल मार्ग दक्षिण एसियाको लागि चीनको सबैभन्दा शक्तिाशाली बाटोको रुपमा रहने बताएका थिए। गत मार्च महिनामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङको बैठकपछि दुवै मुलुकहरु सीमापार गर्ने किसिमको रेलसेवा निर्माणको लागि सहमत देखिएका थिए भने संरचना निर्माण गर्ने कम्पनीलाई पनि दुवै मुलुकले सहयोग गर्ने बताएका थिए। 
 
गत जुलाई २ मा काठमाडौं पोष्टले कम्तीमा दुई चिनियाँ कम्पनीहरु चीन र नेपालको बीचमा सञ्जाल विस्तारको लागि इच्छुक देखिएको बताएको थियो। चीनको सीएएमसी इन्जिनियरिङ्ग कम्पनीले एक सय २१ किलोमिटरको काठमाडौं रसुवागर्ढी हुँदै केइरुङ सम्मको रेल मार्ग विस्तारको प्रस्तावना गरेको थियो। चिनियाँ रेलमार्ग निर्माता कम्पनीले काठमाडौं–रसुवागढी रेलमार्गको अध्ययनका लागि नेपालको रेल विभागमा प्रस्तावसमेत गरेको थियो। चीनको इन्टिच्युट अफ कन्टेम्पोररी इनटरनेशनल रिलेसनका अनुसन्धानकर्ताले हिमालयन क्षेत्रमा निर्माण हुने रेल मार्गले चीनको आर्थिक क्षेत्रलाई एसियाको तेस्रो ठूलो अर्थतन्त्र बोकेको भारतसँग जोड्नका लागि सहयोग पुग्ने बताएका छन्।
 
एक भू–परिवेष्ठित मुलुकको रुपमा रहेको नेपालले चीनको प्रस्तावलाई आर्थिक विकासको एक मौकाको रुपमा लिएको छ। चीनसँगको आर्थिक सम्बन्धले नेपालको अर्थतन्त्रलाई माथि उकास्न सकिने नेपाली विश्वास छ। बेइजिङको जियाटोङ युनिभर्सिटिका प्राध्यापक झोउ युहुइ, जो भर्खरै चीन र नेपालको सीमामा पुगेर फर्किएका थिए, उनले नेपाल र चीनको सीमा क्षेत्रमा पर्यटन विस्तारको राम्रो सम्भावना रहेको बताएका छन्। उनले त्यहाँ रहेका जंगल, नदी र परम्परागत संस्कृतिले पर्यटन विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। यद्यपि यो क्षेत्र पछिल्लो समय विकासका दृष्टिले भने पछाडि रहेको छ। जब केइरुङको पर्यटन तथा व्यापारिक क्रियाकलापमा सुधार हुन्छ तब त्यस क्षेत्रका मानिसहरुको गरिबी नियन्त्रणमा आउनेछ। नेपालसँगको रेलमार्गले सीमा क्षेत्रका मानिसहरुको जीवनस्तर आधुनिक बनाउनका लागि पनि ठूलो सहयोग पुग्नेछ।
 
चीनले सन् २०३० सम्मको लागि ल्याएको योजनामा तिब्बतबाट दक्षिण एसियालाई जोड्ने तीन नाका विस्तारको योजना समावेश छ । जसमा दुई नाका नेपाल भएर जानेछन् भने एक नाका भने सोझै भारतमा जानेछ। त्यसका लागि चिनियाँ नाका याडोङ, केरुङ र बुराङको प्रयोग गर्ने योजना चीनको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ