arrow

चिनियाँ दम्भ

जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा

यस्तो छ जमीन, टापुदेखि समुद्र अतिक्रमणको स्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
china-border-all.jpg

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाली भूमि अतिक्रमण गरेको विषय खुला रुपले सरकारी स्तरबाटै उठिसक्दासमेत चीन मौन बनेर बसेको छ । सरकारले चीनविरुद्ध भूमि अतिक्रमण गरेको विषयमा बोल्दा चीनले अनेकौं किसिमका रणनीतिहरु अपनाउने हुँदासमेत एक किसिमले सरकार मौन रहेको टिकाटिप्पणी हुने गरेका छन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदन नै लिक भएपछि आज मात्रै पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छ्यापछ्याप्ती समाचारहरु आएका छन् । यद्यपि चीनले भूमि अतिक्रमण गरेर विवाद रहेको देश नेपाल मात्रै भने हैन । जति पनि मुलुकहरुसँग चिनियाँ सीमा जोडिएको छ ती लगभग सबैजसो मुलुकहरुको भूमिमा चिनियाँ नजर रहेको आरोप लाग्ने गरेको छ ।

कुन कुन मुलुकको छ चीनसँग सीमा विवाद ?

नेपाल
अनौपचारिक रुपमा नेपाल र चीनबीचको सीमामा विवाद हुँदै आए पनि गत भदौमा सरकारी टोलीले नै सीमा क्षेत्रको विवादको अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले चीनले नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ ।

भुटान
नेपालको जसरी तिब्बतसँग युगौंदेखिको बलियो सांस्कृतिक, ऐतिहासिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको भुटानी भूमिमा समेत चीनले अतिक्रमण गरेको छ । सन् १९९८ मा चीन र भुटानले सीमा क्षेत्रमा शान्ति कायम राख्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तर, चीनले सन् २०१७ मा भुटानको डोकलाममा कब्जा गर्दै रोड विस्तार गर्न खोजेको थियो । जसको बचाउका लागि भारतीय सेनाले भुटानको साथ दिएको थियो । यो र यो बाहेक भारतसँग महत्व राख्ने भुटानी सीमामा चीनले लामो समयदेखि अतिक्रमण एवं हस्तक्षेप गर्दै आएको छ ।

भारत
भारतको लद्दाखको ले जिल्लामा रहेको अक्साई चेन क्षेत्रमा समेत चीनले आफ्नो दाबी गर्ने गरेको छ । यस्तै लद्दाखको डेप्साङ मैदानहरुमा समेत चीनले आफ्नो दाबी गर्दै अतिक्रमण गर्न खाजेको छ ।

अर्कातर्फ भारतको अरुणाञ्चल प्रदेशका विभिन्न भागहरुमा समेत चीनले आफ्नो दाबी गर्दै अतिक्रमणको प्रयास गर्ने गरेको छ ।

जापान
अरु त अरु चीनले जापानका समुद्री टापुहरुमा समेत आफ्नो दाबी गर्दै अतिक्रमण गर्न खाजेको छ । चीनले जापानको सेन्काकु टापुलाई आफ्नो दाबी गर्दै अतिक्रमणको प्रयास गर्दै आएको छ ।

माछा मार्नका लागि नजिक पर्ने हुँदा र यहाँ तेलको भण्डार भएको कुरा बाहिर आएपछि जापानको सेन्काकु टापुमा चीनले आफ्नो दाबी गर्न थालेको हो ।

ताइवान
सीमामा अतिक्रमण गर्नु, समुद्री टापुमा दाबी गर्नु एक किसिमको कुरा हो । तर चीनले पूरै ताइवान देशलाई आफ्नो प्रान्त भन्दै कब्जा गर्न खाजेको छ । ताइवानी नागरिक र ताइवान सरकारले आफू एक अलग देशको भएको बताउँदै आएका छन् । यसका विपरित चीनले भने ताइवान कब्जा गर्नका लागि आफ्नो प्रयास निरन्तर जारी राखेको छ ।

भियतनाम
चीन र भियतनामबीच साउथ चाइना सीमा रहेको पारासेल टापुको विषयलाई लिएर विवाद रहेको छ । अन्तर्राष्ट्रिय समुद्री कानूनअनुसार भियतनाममा पर्ने टापु क्षेत्रमा चीनले आफ्नो दाबी गर्दै कब्जा गर्न खोजेको छ ।

फिलिपिन्स
साउथ चाइना सीमा फिलिपिन्सको अधिकार क्षेत्र स्कारबोरो रिफ र स्प्रेटली टापुमा चीनले आफ्नो दाबी गर्दै कब्जा गर्ने प्रयास गर्दै आएको छ ।

यी बाहेक चीनको सीमा विवाद रहेका र समाधान भइसकेका मुलुकहरुमा काजकिस्तान, कीर्गिजस्तान, लाओस, मंगोलिया, म्यानमार, उत्तर कोरिया, पाकिस्तान, रुस र ताजिकिस्तान पनि पर्छन् । यी मुलुकहरुसँग चीनको सीमा विवाद समाधान भइसकेको भनिए पनि केही मुलुकहरुमा सीमामा नेपालसँग झैं तनावपूर्ण स्थिति निरन्तर रहिआएको छ ।

भूमि बाहेक चीनले पानीलाई लिएरसमेत विभिन्न मुलुकहरुमाथि हस्तक्षेपकारी भूमिका खेल्ने गरेको छ । भारतसँगकै कुरा गर्ने हो भने पनि चीनले तिब्बत हुँदै बगेर भारत आइपुग्ने ब्रह्मपुत्रमा नदीमा बाँध बनाएर पानी नियन्त्रण गर्न खोजेको छ ।

भारत, बंगलादेश र अन्य छिमेकी क्षेत्रहरूलाई असर पर्ने गरी चीनले जानीजानी जलविद्युतका लागि ठूला बाँध बनाइरहेको र पानीलाई अर्कै दिशातर्फ मोड्न खोजेको घटनाले समेत भारत र चीनबीच विवाद जारी रहेको देखाउँछ ।

अर्कातर्फ कम्बोडिया, लाओस, भियतनाम, थाइल्याण्ड र म्यानमार हुँदै बग्ने र यी देशका लागि सिँचाई र माछा व्यवसायका लागि निकै महत्वपूर्ण मेकोङ नदीमासमेत चीनले यस्तै रणनीति अपनाएको छ ।

चीनले मेकोङ नदीमा ६ वटा ठूला बाँधहरू बनाएको छ भने थप तीनवटा नयाँ बाँध बनाउने तयारी गरेको छ । चीनले नदीको आधा जति पानी कम पारी दिँदा यी देशहरुमा खडेरी नै परेको समाचारहरुले यसअघि नै विश्वको ध्यान तानेको थियो ।

उता दक्षिण चीन सागर (साउथ चाइना सी) मा चीनले पूरै समुद्र नै कब्जा गर्न खोजेको छ । दक्षिण चीन सागरमा ब्रुनई, मलेसिया, फिलिपिन्स, ताइवान र भियतनामसँग चीनको खरो विवाद छ । अन्तर्राष्ट्रिय समुद्री ढुवानीमार्गलाई नै आफ्नो कब्जामा ल्याउने किसिमले चीनले पूरै दक्षिण चीन सागर कब्जा गर्न खोजिरहेको छ । यसको विश्वव्यापी विरोध र आलोचना हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ