arrow

बाडुली त लागेन ? आँसु चाहिँ रोक्नु प्रधानमन्त्रीज्यू

logo
टेकराज अवस्थी,
प्रकाशित २०७२ मंसिर १३ आइतबार
सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनु अघि उनले संसद बैठकमा भनेका थिए म प्रधानमन्त्री निर्वाचित भएपछि बाडुली लाग्ने गरी काम गर्छु। त्यही बेला मेरो दिमागमा एउटा प्रश्न उब्जिएको थियो यो देशमा यति धेरै प्रधानमन्त्री हुँदा कसैले पनि जनता सन्तुष्ट हुने गरी काम गरेका थिएनन् यिनले चाहिँ के त्यस्तो गर्लान्? अर्को मनले उनका विगत सबै भुलाएर बोल्न राम्रो नराम्रो जे बोले काम पनि बाडुल्की लाग्ने आशामा बसे। सोचे भारतले लगाएको नाकाबन्दी कुटनीतिक तरिकाले समाधान गर्लान्। देशको सुरक्षामा खटिएका सुरक्षाकर्मीको हत्यामा संलग्न नेता सभासद कार्यकर्तालाई कारवाही होला। डाक्टर गोविन्द के.सी. जस्ताले उठाएका मागहरु सम्बोधन होला। भूकम्पबाट आक्रान्त समुदायको समस्या समाधानमा गर्लान्। देशमा मौलाएको डनबाद अन्त्य गर्लान्। भन्ने आशामा सरकारको पैंतालिस दिनसम्म बाडुली लाग्ने आशामा बसिरहेँ। केही बोलिन तर आज एउटा आमा नागरिक भएको हिसाबले केही बोल्न मन लाग्यो। यति भन्दै गर्दा बाडुली कसैलाई नलागेको भन्ने होइन। 
 
बाडुल्की संसदमा दुई चार जना मात्रै सभासद भएकाहरुले कल्पना नै नगरेको उपप्रधानमन्त्री पाएका उपप्रधानमन्त्रीहरुको जमातलाई पक्कै लागेको होला। एकजना मात्रै सभासद भएका विसेन्द्र पासवान मन्त्री भए पछि उनलाई लाग्यो होला। महिनाको एक लाख भन्दा माथिको पत्रपत्रिका विक्री गर्ने पसलेलाई पनि ओलीको बाडुलीले सतायो होला। अनि तपाईका अन्य मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री र सरकारी नियुक्त पाएका आसेपासेलाई पक्कै लाग्यो होला तर जनतालाई बाडुली लाग्ने कुनै संकेत देखिएन। 
 
बाडुल्की त लागेन जनताका आँखाबाट थप आँसु झर्न थालेको छ। तर त्यो रोक्ने पहल पनि हुन सकेको देखिएको छैन। किसानले अहिले गहुँ छरेर वर्षभरी खानका लागि जोहो गर्छ तर गहुँ छर्नका लागि खनजोत गर्न डीजेल र मल नपाएर आँसु झारिरहेको छ। दिनभरी काम गरेर खाने मजदुरले काम नपाएर आँसु झारिरहेको छ। बैंकबाट ऋण लिएर व्यवसाय गरिरहेको व्यवसायीले बैंकको किस्ता तिर्न नपाएर आँसु झारिरहेको छ। टिकापुर घटनामा मारिएका प्रहरीका परिवारले न्याय नपाउँदा आँसु झारिरहेका छन्। 
 
आन्दोलनमा संलग्न नभए पनि घरको छतमा बसिरहेका व्यक्ति राज्यको गोली लागि मृत्यु भएपछि उसको परिवारले आँसु झारिरहेको छ। काखीमा दुधे बालक च्यापेर ग्याँसको लाइन बसिरहेकी एउटा महिलाको आँखाबाट आँसु झरिरहेको छ। तपाईले ग्याँसको विकल्पमा दाउरा त बाँड्नु भयो तर राजधानी बाहिरबाट आएका एउटा विद्यार्थीलाई घरबेटीले दाउरा बाल्न दिएको छैन र खान नपाएर आँसु झारिरहेको छ। भारतले अमानवीय तरिकाले नाकाबन्दी गरेर सारा देशबासीले आँसु झारिरहेका छन्। यी सबैका आँसु रोक्ने कार्य गर्नुहोस्। तपाईको मुखमा मात्र राष्ट्रियता र स्वाभिमानी देखिँदैछ। भारतीय सुरक्षा फौजले नेपाली भूमिमा आएर नेपाली माथि गोली बर्साउदा प्रधानमन्त्री जस्तो व्यक्तिबाट न कुनै विज्ञप्ति आयो न त तपाईको मुखबाट कुनै शब्द। देश पूरै काला बजारियाहरुको हातमा छ। ग्याँस र तेल त भारतले रोकेको छ। दिउँसै आम जनतालाई ठग्नेलाई कारवाही गर्न कसले रोकेको छ? त्यसैले बाडुल्की पछि लाग्दै गर्ला अहिले आम जनताको आँसु रोक्ने कार्य गर्नुहोस्।  
 
प्रतिपक्षलाई पनि केही भन्न भन लागेको छ। आमा बाबुले सन्तान जन्माइसकेपछि उक्त सन्तानको लालन पालन गर्ने हुर्काउने बढाउने काम पनि आमा बाबुकै हो। आफुले जन्माएको सन्तान अरुले पालिदेला भनेर पन्छिनु गलत सोच हो। यो संविधान पनि नेपाली काँग्रेसको सन्तान हो किनकी सात दशक अघि बी.पी. कोइरालाले नेतृत्व गरिरहेकै बेला संविधान सभाबाट संविधानको माग उठाएका थिए। सात दशकसम्म गर्भमा रहेको संविधान पुन नेपाली काँग्रेसकै पालामा जन्मिएको छ। त्यसैले यो संविधान नेपाली काँग्रेसको सन्तान हो। त्यसकारण यो संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस सक्रिय भएर लाग्नुपर्छ। अहिलेको यस संकटपूर्ण घडीमा नेपालको मधेशमा उब्जिएको समस्या समाधानका लागि पनि नेपाली काँग्रेस नै जिम्मेवार हुनुपर्छ किनकी मधेसबाट सबैभन्दा बढी जनमत नेपाली काँग्रेसले प्राप्त गरेको छ र आदोलनकारी मधेशवादी दल पनि काँग्रसको समस्या समाधानका लागि नेपाली काँग्रेसकै आशमा छन्। त्यसैले यस अवस्थामा नेपाली काँग्रेसले सरकार र मधेसवादी दलको वार्ताका लागि मध्यस्थताको काम गर्नुपर्छ। काँग्रेस नेतृत्वदेखि नेता कार्यकर्तासम्म पार्टीलाई यसतर्फ डोहोर्‍याउन सक्लान। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ