arrow

जोखिमपूर्ण घटनाबारे मौसमी सूचना प्रणाली, मनसुन कमजोर

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
climate.jpg.jpeg
काठमाडौँ । वर्षात्को समयमा बाढीपहिरो र डुबानका सम्भावित जोखिमपूर्ण घटनाबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउने उद्देश्यले प्रभावकारी मौसमी सूचना प्रणालीको व्यवस्था गरिएको छ । 
 
जल तथा मौसम विज्ञान विभागले वर्षात्का कारण हुने प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गरी जनधनको क्षति हुन नदिन यस्तो सूचना यन्त्र प्रणाली जडान गरेको हो । 
 
मुलुकका ४२ स्थानमा बाढीपहिरोजन्य घटनाको जोखिमबारे स्वचालित पूर्व सूचनायन्त्र प्रणाली जडान गरिएको विभागका महानिर्देशक ऋषिराम शर्माले जनाए । 
 
उनका अनुसार यस्ता यन्त्र कन्काई, कोसी, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा जडान गरिएको छ । जडान गरिएकामध्ये आठ वटा बाढी र डुबानबारे जानकारी दिने नदी यन्त्र प्रणाली हिमालसमेत समेटिएका छन् भने बाँकी पहाडी क्षेत्रमा वर्षात्का आधारमा अत्यधिक वर्षाका कारण हुनसक्ने बाढीपहिरोका घटनाबारे जानकारी दिने यन्त्र छन् । 
 
स्वचालित यन्त्र प्रणाली नदी र खोलाको किनारमा राडर जडान गरिएको हुन्छ, जसले पानीको सतहबारे जानकारी दिन्छ । 
 
कतिपय नदी खोलामा कति पानी भयो र सम्भावित बाढीपहिरो र डुबानबारे खतराको सिंह सङ्केत गर्छ । यसैका आधारमा विभागले सञ्चार प्रणाली एसएमएसमार्फत सम्बन्धित क्षेत्रका जनतालाई सूचना प्रवाह गर्छ । 
 
महानिर्देशक शर्माका अनुसार यस्ता यन्त्र दुई÷तीन वर्षअघि नै सुरु गरिएको भए पनि प्रभावकारी थिएनन् । गृहमन्त्रालय र प्रजिअलाई मात्र सूचित गरिन्थ्यो । 
 
अहिले यो सूचना सरोकारवाला सबै जनताले सहजै थाहा पाउँछन् । विभागले हालै नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलसँग सम्झौता गरी एसएमएसमार्फत मौसमजन्य सूचना प्रवाह गरिरहेको छ । 
 
विभागले मौसमी सूचना प्रणालीलाई प्रभावकारी बनाउन चालु आवभित्रै पाल्पाको रिबिद्धिकोट, सुर्खेतको रातानाङ्ला र उदयपुरको (स्थान निश्चित नभएका) मा मौसमी राडर राख्ने तयारी गरेको महानिर्देशक शर्माले बताए । हाल ८८ स्थानमा स्वचालित मौसमी सूचना यन्त्र रहेका छन् । 
 
मनसुन कमजोर बन्दै 
 
मनसुन कमजोर भएसँगै मुलुकभर वर्षात् कम भएको छ । झन्डै एकसातादेखि कम वर्षात् भएको हो । यो वर्ष मनसुनमा विगत ३० वर्षको तुलनामा सरदरभन्दा बढी वर्षात् भएको छ । 
 
मनसुन न्यूनचापीय रेखामध्ये भारततर्फ रहेकाले उता बढी वर्षात् हुँदा नेपालमा कम वर्षात् भएको मौसमविद्को भनाइ छ । 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सबैभन्दा बढी धनगढीमा २४.३, दाङमा १४.४ र सबैभन्दा कम ताप्लेजुङमा एक मिलिमिटर वर्षात् भएको छ । त्यस्तै काठमाडौँमा १.८ मिलिमिटर वर्षात् भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ