arrow

पारा तेक्वान्दोमा नेपाललाई स्वर्ण

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
Para-teQando-new.jpg.jpeg
काठमाडौं । भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको के ४२ क्याटगोरीअन्तर्गत पुरुष ५५ केजीमा नेपालका सोमबहादुर सुनुवारले नेपाललाई स्वर्ण दिलाए । 
 
पहिलो खेलमा इरानका अब्दुल खालिदलाई ७–४ ले पराजित गर्दै सोमले भारतका सोमित भर्डोजसंग उपाधि भिडन्त पक्का गरेका थिए । निर्धारित समयको फाइनल खेल ७–७ को बराबरीमा सकिएको थियो । थप गरिएको समयमा सोमले सोमितलाई ‘गोल्डेन प्वाइन्ट’ का आधारमा पाखा लगाए । समग्रमा सोम ८–७ ले विजयी भए ।
 
भारतको प्रेरणा नामक संस्थाको सहकार्यमा अगष्ट ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी नवराज कार्कीले रजत जिते । के ४४ क्याटगोरीअन्तर्गत पुरुष ५० केजीमा प्रतिस्पर्धा गरेका नवराज ‘वाई’ पाउदै फाइनलमा पुगेका थिए । नवराज फाइनलमा भारतका यमुना कुँवरसंग हारे । पदक विजेता दुवै खेलाडीलाई दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले प्रशिक्षण दिदै आइरहेका छन् ।
 
प्रतियोगितामा नेपाल पारा तेक्वान्दो संघका उपाध्यक्ष भीमसेन केसी अफिसियल तथा लोकेन्द्र आचार्य प्रशिक्षकका रुपमा सहभागी भएका थिए ।
 
पारा तेक्वान्दो संघले खेलाडीसहित टोलीको सम्मानमा बुधबार स्वागत तथा बधाइज्ञापन कार्यक्रम आयोजना गर्‍यो । पारा तेक्वानदो संघका अध्यक्ष जनार्जन ढुंगेल, उपाध्यक्ष मोहन कार्की, सदस्य भूवनलाल श्रेष्ठ र मधु ढुंगेल, पूर्व कर्णेल रविराज कार्कीलगायतले टोलीलाई खादा र टीका लगाइ एक कार्यक्रमबीच स्वगात गर्नुका साथै बधाइ दिएका थिए ।
 
सो अवसरमा उपाध्यक्ष कार्कीले अध्यक्ष ढुंगेलले पारा तेक्वान्दोको विकास र विस्तारमा पुर्‍याएको योगदानले गर्दा खेलाडीले सफलता प्राप्त गरेको बताउदै आगामी दिनमा पनि पारा तेक्वान्दोले सफलता हासिल गर्दै जाने विश्वास गरे ।
 
अध्यक्ष ढुंगेलले खेलाडीले पदक प्राप्त गरेर पारा तेक्वान्दोको मात्र नभइ सिंगो राष्ट्रको शिर उचो बनाएको बताउदै दृढ इच्छाशक्ति भए अपाङ्गता भएका खेलाडीले पनि सपाङ खेलाडीझै मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने धारणा राखे । उनले पारा खेलकुदमा राज्यले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ