arrow

पढाइ छाडेर ग्यासको लाइन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1900570755.jpeg
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत रमितकुमार मल्लको दैनिकी अहिले क्याम्पसमा होइन, ग्यासको लाइनमा बितिरहेको छ। शुक्रबार साँझबाट लाइन बसेका उनले ग्यास पाउने टुंगो भने छैन। उच्च शिक्षाका लागि सुर्खेत झरेका कालिकोटका मल्लजस्ता थुप्रै विद्यार्थी रातभरि लाइन बसे। 'हल्लै–हल्लामा शुक्रबार साँझबाट लाइन बसेको छु,' उनले भने, 'न त घरबेटीले दाउरा बाल्न दिन्छन्, न ग्यास आउँछ।' दुई महिनायता ग्यास नपाएर समस्या परेको उनले बताए।
 
 
एक तथ्यांकअनुसार वीरेन्द्रनगरका स्कुल तथा क्याम्पसमा अध्ययनरत झन्डै सात हजार विद्यार्थी भाडामा बस्दै आएका छन्। भाडाको बाससँगै उनीहरू ग्यास अभावको नयाँ चुनौती सामना गरिरहेका छन्।
 
विश्वविद्यालयमै अध्ययनरत जाजरकोटका राजकुमार परियार पनि हल्लै–हल्लामा रातभरि लाइनकम रहे। 'रातदिन लाइनमै बित्यो,' निराश हुँदै उनले भने, 'ड्राइफुड कति खानु, नखाऊँ त कोठामा ग्यास छैन।' कोठा जान पनि समस्या भइरहेको भन्दै उनले बिहानी कक्षामा समेत सहभागी हुन नसकेको बताए। आपूर्ति समितिले पेट्रोल–डिजलमा जस्तै ग्यासको पनि वितरण तालिका लागू गर्नुपर्ने उनको माग छ।
 
जन उच्च माविमा अध्ययनरत कृष्ण चौलागाईंको कोठामा पनि ग्यास सकिएको दुई साता भयो। उनले दाउरामा पकाउँदै आएका छन्। 'दाउरा पनि काँचो छ, औद्योगिक क्षेत्रमा भनेजति दाउरा पाइँदैन,' उनले भने, 'हामी विद्यार्थीको समस्या कसले सुनिदिने?'
 
कृष्णले दाउरा बाल्ने अवसर पाए पनि अधिकांश विद्यार्थी त्यसबाट समेत वञ्चित छन्। घरबेटीले दाउरा बाल्न नदिँदा भाडामा बस्दाको पीडा असह्य भइरहेको परियारले बताए। ग्यास सकिएपछि होटलको भर पर्नुपर्दा विपन्न विद्यार्थीको थाप्लोमा महँगी थपिएको छ। सुर्खेतका मल्लले एक महिनादेखि होटलमा खादा खाँदै आएको बताए। 'अब त होटल पनि बन्द होलाजस्तो छ,' उनले भने, 'त्यसपछि कहाँ गएर खाना खाने?'
 
दाङ, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत घनश्याम केसी पनि सातायता होटलमा खाना खाइरहेका छन्। 'प्रतिछाक ९० रुपैयाँ तिरेर होटलमा खाना खाइरहेको छु,' उनले भने, 'दिनहुँ घोराहीस्थित डिलर धाउँदा पनि ग्यास पाइएको छैन।'
 
घर फर्कंदै विद्यार्थी
 
ग्यास अभावमा खाना खानै समस्या भएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा डेरा गरी बस्ने विद्यार्थी घर फर्कन थालेका छन्। देखतभुली–९, कटानका सन्तराम चौधरी डेरामा ग्यास सकिएपछि साताअघि घर फर्किए। 'ग्यास पाइने आशामा केही दिन होटलमा खाना खाएँ,' भीमदत्त नगरपालिका–१८, भगतपुरमा डेरा लिएका चौधरीले फोनमा भने, 'तर, ग्यास पाइने छाँट नदेखिएपछि पढाइ छोडेर घर फर्कनुपर्योन।' सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत चौधरीले आफूसँगै पढ्ने छ–सात जना अन्य पनि पढाइ छाडेर घर फर्किएको बताए।
 
अधिकांश डेरावाल विद्यार्थीको अवस्था उस्तै छ। सुदूरपश्चिम विश्वविद्यालय, विज्ञान क्याम्पसलगायतमा बाहिरबाट अध्ययनका लागि आउने प्रायः विद्यार्थीले ग्यास अभावमा समस्या झेल्नुपरेेको छ।
 
स्थानीय पश्चिम नेपाल दैनिकमा 'पार्ट टाइम' काम गरेर अध्ययन गर्दै आएका बाजुराका नृपबहादुर शाहले ग्यासकै अभावमा दुई सातादेखि होटलमा खानुपरेको दुखेसो सुनाए। उनी सुदूरपश्चिम विश्वविद्यालयमा बिएड दोस्र्रो सेमेस्टरमा अध्ययनरत छन्। 'ग्यास आए पनि चिने–जानेका र होटलवालालाई दिने गरेका छन्,' उनले भने, 'विद्यार्थीका संगठनले पहल गरे पनि पहुँच भएकाले मात्रै पाउँछन्।'
 
कञ्चनपुर सदरमुकाममा भेरी, मनकामना र रेडिएन्ट ग्यासका विक्रेता छन्। करिब डेढ साताअघि मात्रै सदरमुकाममा केही सिलिन्डर ग्यास आएको विक्रेता बताउँछन्। ग्यास अभावमा उनीहरूले पसल नै बन्द गरेका छन्। सामान्य रूपमा पसल खोले पनि विक्रेताले खाली ग्यासका सिलिन्डर लिन बन्द गरेका छन्।
 
दाङमा समेत सदरमुकाममा डेरा गरी बस्ने विद्यार्थी पढाइ छाडेर घर फर्कन थालेका छन्। महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत राजकुमार विष्टले ग्यास अभावले खाना खाने विकल्प नभएपछि एक साथी घर फर्किएको बताए।
 
ग्यास नहुँदा भोकै
 
नेपालगन्जस्थित होलिल्यान्ड उच्च माविका छात्र सन्तोष बुढाले ग्यास खोज्दै बजार धाउन थालेको दुई साता बितिसक्यो। उच्च शिक्षा अध्ययनका लागि नेपालगन्जमा डेरा गरी बस्दै आएका सल्यान, देवस्थल निवासी बुढाले दुखेसो पोखे, 'ग्यास नपाएर हैरान भइसकेँ, जहाँ गए पनि पाइन्न।'
 
पढाइका लागि उनी तिहारलगत्तै नेपालगन्ज आएका थिए। डेरामा मंसिर ३ गते ग्यास सिद्धियो। त्यसयता उनी कहिले रित्तो सिलिन्डर बोकेर विभिन्न डिलर धाउँछन् भने कहिले भोकै कलेज जान बाध्य छन्। अध्ययनका लागि नेपालगन्जमा डेरा गरी बस्ने अधिकांश विद्यार्थीको समस्या उस्तै छ। भारतले गरेको नाकाबन्दीपछि ग्यास अभाव हुँदा उपभोक्ताले सास्ती खेपेका हुन्। पहुँचवालाले सहजै पाए पनि सामान्य व्यक्तिले ग्यास पाउन सकिरहेका छैनन्। नागरिक दैनिकमा खबर छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ