arrow

प्रवेश परीक्षामा चर्को असुलीले मर्का

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
rupees.jpg.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ । आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । यो रकम एउटा कार्यक्रमको मात्रै हो । एमबीबीएसमा आवेदन गर्ने विद्यार्थीले बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । 
 
 
आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष ०७३र७४ का लागि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बीफर्मा, बीएएस, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फारम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको हो । फारम भर्ने म्याद भदौ १८ सम्म छ । 
 
शिक्षा मन्त्रालयले एक वर्षअघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो । मन्त्रालयका अनुसार एक हजार लिँदा पनि खर्च कटाएर बचत हुन्थ्यो । आईओएमले आफूखुसी शुल्क लिँदा अभिभावक र विद्यार्थीमा आर्थिक भार थपिएको छ । ‘एक हजार लिँदा त मन्त्रालयको खर्चभन्दा बढी रकम उठ्थ्यो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो कमाउने खेल हो ।’ 
 
प्रश्नपत्र तयारी, छपाइ, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र नतिजा सार्वजनिकसमेत गरी प्रतिविद्यार्थी आठ सयदेखि साढे आठ सय भए पुग्छ । यो रकम १० हजार विद्यार्थीको परीक्षा सञ्चालन गर्दा लाग्ने खर्च हो । जतिसुकै विद्यार्थी भए पनि प्रश्नपत्र खर्च एक लाख रुपैयाँ भए पुग्छ । १० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएमा खर्च अझ कम हुन्छ । आईओएम स्रोतले भन्यो, ‘यहाँ त विद्यार्थीसँग ब्रह्मलुट भइरहेको छ ।’ 
 
दुई घण्टे परीक्षा सञ्चालन गर्न यतिको रकम लिएर आर्थिक शोषण गरेको अभिभावक र विद्यार्थीको आरोप छ । ‘दुई घण्टाको प्रवेश परीक्षा दिन साढे तीन हजार लिँदा पनि यसलाई रोक्न कसैले चासो दिएको छैन,’ परीक्षाको तयारीमा रहेका सन्देश उप्रेतीले भने, ‘यदि मुलुकमा सरकार छ भने आवेदन शुल्क घटाएर देखाओस् ।’ मेडिकल शिक्षा अध्ययन गर्न चाहने न्यून आयका विद्यार्थीलाई फारामको चर्को शुल्क लिएर प्रवेश परीक्षाबाट समेत वञ्चित गराएको अभिभावकको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययन गर्न प्रवेश परीक्षा दिने गर्छन् ।
 
आईओएमका प्राध्यापक भरतमणि पोखरेलका अनुसार सबै कार्यक्रममा गत वर्ष १६ हजारको हाराहारीले प्रवेश परीक्षा दिएका थिए । एमबीबीएसका लागि मात्रै साढे नौ हजार विद्यार्थी थिए । 
 
यस अनुसार आईओएमले गत वर्ष पाँच करोड ६० लाख रुपैयाँ रकम उठाएको थियो । ‘उठाएको रकमको एक तिहाई पनि खर्च हँुदैन ।’ आईओएम स्रोतले भन्यो, ‘सरकारले पनि बजेट दिएको हुन्छ । आम्दानीको अरू स्रोत छैन । यस्तै परीक्षाबाट उठाएको रकम नै डिन कार्यालयको आम्दानी हो ।’ 
 
परीक्षा बोर्डले निर्णय गरेर तोकिएको शुल्क लिने गरेको पोखरेलले बताए । ‘परीक्षा चलाउन निरीक्षक तथा सेन्टरलाई दिनुपर्ने हुन्छ,’ उनले भने, ‘देखिनेभन्दा नदेखिने खर्च धेरै हुन्छ ।’ उत्तरपुस्तिका पनि कम्प्युटर प्रणालीबाट परीक्षण गरिन्छ । यसबाट पनि खर्च कम हुन्छ  ।
 
आईओएमले तोकेको आवेदन दस्तुर साउन २७ देखि भदौ १७ सम्म हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरेर भौचर स्क्यान गरी पठाउनुपर्ने नियम छ । अनलाइनमार्फत फारम भरेपछि प्रवेशपत्र विद्यार्थी आफैंले प्रिन्ट गरेर लिनुपर्ने हुन्छ । आवेदकको नाम, फोटो, तथा भौचर नम्बर फरक परेर सच्याउनुपरे फेरि तीन हजार पाँच सय रुपैयाँ बैंकमा जम्मा गरेर नयाँ फारम भर्नुपर्नेछ । त्यसअघि बुझाएको रकम फिर्ता नहुने व्यवस्था छ । यसले पनि आईओएमले विद्यार्थीसँग जतिसक्दो धेरै रकम असुल्न चाहेको प्रस्ट हुन्छ । 
 
एमबीबीएस र बीपीएच शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा भदौ २५ मा र अन्य शैक्षिक कार्यक्रमको भदौ २६ मा तय गरिएको छ । प्लस टुमा न्यूनतम ५० प्रतिशत अंक ल्याएका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ