arrow

एचआईभी सङ्क्रमण र मृत्यु दर घट्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
98246005.jpeg
चितवन । एचआईभी सङ्क्रमितहरुले एआरटी नियमित प्रयोग गर्न थालेपछि सङ्क्रमण दर घटेको छ भने मर्नेको सङ्ख्यामा पनि कमी आएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रका संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१४ को नोभेम्बर मसान्त सम्ममा ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत वर्षको नोभेम्बर मसान्तसम्ममा यो सङ्ख्या ९० रहेको थियो । त्यसैगरी यस वर्ष एचआईभी सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । गत वर्ष सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष यो तथ्याङ्क २५ जना रहेको संयोजक सापकोटाले बताउनुभयो । जिल्लामा हालसम्म एक हजार २५८ जना सङ्क्रमित खुलेका छन् । जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या दुई हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । 
 
जसमध्ये भरतपुर अस्पतालको एआरटी केन्द्रबाट ६३२ जनाले नियमित रुपमा एआरटी र सहयोग तथा हेरचाहको सुविधा लिई रहेको संयोजक सापकोटाले बताउनुभयो । सुविधा लिनेमध्ये २९३ पुरुष, २७८ महिला र ६० जना बालबालिका छन् । एआरटी नियमित प्रयोगकर्ताबाट सङ्क्रमण कम मात्रामा सर्ने र ‘कण्डम’ प्रयोगकर्ता बढेकाले सङ्क्रमित थपिने दरमा कमी आएको जिल्ला एड्स समन्वय समिति चितवनका पूर्वसंयोजक रामहरि न्यौपानेले बताउनुभयो । 
 
गएको एक वर्षमा २७ हजार ८३० वटा कण्डम प्रयोग भएका छन् । गत वर्ष १६ हजार ३०० कण्डम मात्र वितरण गरिएको थियो । औषधि प्रयोगकर्ताले नियमित औषधि सेवन गरेका र उपचार पद्धति प्रभावकारी बनेकाले मृत्यु दर पनि घटेको अनुमान गरिएको छ । जिविस चितवनका कार्यक्रम अधिकृतसमेत रहनुभएका न्यौपानेले भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रले गुणात्मक सेवा दिएका कारण मृत्यु दर घटाउन सफल भएको बताउनुभयो । 
 
त्यसैगरि आज अठ्ठाइसौँ विश्व एड्स दिवसका अवसरमा आयोजित कार्यक्रममा एचआईभी एड्सको सङ्क्रमण अन्त्य गर्न सामाजिक रुपमा जनचेतना अपरिहार्य भएकामा जोड दिइएको छ । वाइक्याप नेपालको आयोजनामा पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल, नयाँबजार हुँदै सभागृहसम्म गरिएको एड्स विरुद्धको सचेतनायालीको समापन समारोहमा वक्ताले एड्स एउटा जटिल स्वास्थ्य समस्या भएका कारण यसलाई सुरुमा नै लाग्न नदिन यस बारेको सचेतना अपरिहार्य हुने बताउनुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड श्रीकृष्ण श्रेष्ठले एड्सका सम्बन्धमा जनचेतना अपरिहार्य भएको बताउँदै सबैको सामूहिक प्रयासमा यो सम्भव हुने धारणा राख्नुभयो । 
 
अझै पनि समाजमा लुकिराखेका एड्स रोगीलाई उपचारको दायरामा ल्याउनु चुनौती रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा रोग लाग्नै नदिने प्रतिबद्धता र रोग लागिसकेका व्यक्तिलाई समाजमा राम्रो व्यवहारको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले केही दशकको अन्तरालमा नै तीव्र रुपमा विस्तार भएको एड्सले लाखौँ मानिसको ज्यान लिइसकेको बताउनुभयो । पोखरामा हाल ८०० जनाले एड्सको उपचार गरिरहेको चर्चा गर्दै उहाँले लुकेका रोगीलाई उपचार गर्न आउने किसिमको वातावरण तयार गरिनुपर्ने उल्लेख गर्नुभयो । 
 
नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख वामदेव ढुङ्गानाले एड्सका सम्बन्धमा सामाजिक जागरण ल्याउनु आवश्यक भएको बताउँदै सबैको सकारात्मक पहल भएमा भावी समाजलाई एड्स निर्मूल समाजका रुपमा विकास गर्न सकिने बताउनुभयो । कार्यक्रममा पश्चिम क्षेत्र एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचन, दिलीप गुरुङलगायतले एड्स सङ्क्रमणलाई निर्मूल पार्न घर, गाउँ, हुँदै देशभर जनचेतचना अभियानलाई तीव्र पार्नुपर्ने बताउनुभयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ