arrow

ओलीकै बाटो पछ्याउँदै दाहाल : धुर्मुस–सुन्तली फाउण्डेशनलाई एक महिनाको तलब

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
Dhurmus-suntali-prachanda-PM.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेका छन्। 
 
वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले सो घोषणा गरेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरी सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलब तपाइहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’
 
भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत गरे । प्रधानमन्त्री दाहलले थपे,  ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’ प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनःर्माणलाई उत्साहबद्र्धक बनाउने बताए ।
 
यद्यपि, दाहालले यो नौलो काम भने गरेका होइनन् । उनले अघिल्लो सरकार प्रमुख एमाले अध्यक्ष केपी ओलीकै शैलीले चन्दा बाँडेर पपुलिष्ट काम गरेका हुन् । यसअघि, ओलीले समेत धुर्मुस–सुन्तलीलाई सहयोग गरेका थिए भने । आफ्नो एक महिनाको तलब राखेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको सुभारम्भ गरेका थिए । तत्कालिन प्रधानमन्त्री ओलीले एक महिनाको तलब दिने   घोषणा मात्र गरेनन् । मन्त्रिपरिषद्बाटै सबै मन्त्रिहरुको एक महिनाको तलब जम्मा गर्ने बताए । तर, उनका मन्त्रीहरुले रकम जम्मा नै गरेनन् । 
 
विज्ञहरुले मुलुकको सरकार प्रमुखले यो निर्णय गर्नु स्वभाविक भएपनि वास्तविक त्यसो नगरि राज्यको सिस्टमलाई नै सक्रिय बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले कसैलाई एक दुई महिनाको तलब दिएर पपुलिष्ट बन्न खोज्नु आफैमा राम्रो नभएको बताएका छन् । उनीहरुको भनाईमा प्रधानमन्त्री कोही चन्दा दाता होइन, देशको कार्यकारीणी व्यक्तिले कसैलाई एक महिनाको तलब दिनु बुद्धिमानी होइन । राज्यका हरेक निकायहरुले बरु त्यस्ता अभियन्ताहरुलाई सघाउन सक्रिय गराउनु पर्ने विज्ञहरुको भनाई छ । 
 
प्रधानमन्त्रीसंगको भेटमा धुर्मुस–सुन्तलीले समेत आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नदिएको, पुनःनिर्माणले तीब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्नु पर्ने आवश्यकता औंल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ