arrow

विश्वकपका लागि खेलाडी छनोट– यु–१९ लिगमा निलो टोली विजयी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1031725765.gif
काठमाडौँ । उन्नाइस वर्षमुनि (यु–१९) लिग क्रिकेट प्रतियोगिताअन्तर्गत यु–१९ निलो टोलीले यु–१९ हरियो टोलीलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको निलोले निर्धारित ५० ओभरको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २२९ रन बनायो । जवाफी ब्याटिङमा आएको हरियो ४२.४ ओभरमै सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । 
 
निलोलाई सहज जित दिलाउन पवन थापाले ४९, सन्दीप सुनारले ४५, कप्तान आरिफ शेखले ३५, इशान पाण्डेले २३, आशिफ शेखले २० तथा अरुण ऐरीले अविजित रहँदै १४ रनको योगदान गरेका थिए । त्यस्तै, कप्तान आरिफले ४, इर्शाद अहमदले ३, रिजन ढकालले २ तथा दीपेश श्रेष्ठले १ विकेट लिएपछि हरियो टोली पराजित भयो । 
 
हरियोका कुशल भुर्तेलले २४ र हिमांशु दत्तले ३१ रन तथा अविनाश बोहरा र ललित राजवंशीले २-२ विकेट लिए पनि हार टरेन । आजको जितले ४ अङ्क बनाएको निलो टोली समान अङ्क बनाएको रातो टोलीसँगै लिगको शीर्ष स्थानमा छ भने हरियो टोलीले २ अङ्क मात्र जोडेको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जनवरीमा बङ्गलादेशमा हुने यु–१९ विश्वकपका लागि बन्ने टोलीमा ठाउँ बनाउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ