arrow

बिदा छ, पेट्रोल छैन

logo
प्रकाशित २०७३ भदौ ४ शनिबार
petrol.jpg.jpeg
काठमाडौं । जनैपूर्णिमाको दिन बिहीबारदेखि नै तेल दिन कसीकसाउ गरेका उपत्यकाका प्रायः पेट्रोलपम्प शुक्रबार बन्दै रहे। कामविशेषले तेल खोजीमा भौँतारिएका उपभोक्ता पम्पैपिच्छे 'पेट्रोल छैन' लेखिएका सूचनाले हैरान भए।  
 
भारतबाट पर्याप्त पेट्रोल आइरहँदा पनि उपभोक्ता रित्तै हात हुनुको प्रमुख कारण हो– पेट्रोलियम वितरणमा नेपाल आयल निगमको चरम अव्यवस्था। निगमको यही लापरबाहीका कारण लगातार सरकारी बिदा पर्नासाथ उपभोक्ताले तेल अभावमा सास्ती बेहोर्नुपर्छ। बिदाका दिन निगमबाट तेल नपाउँदा वितरकले उपभोक्तालाई बाँड्न सक्दैनन्।
 
त्रिपुरेश्वरस्थित पम्पमा शुक्रबार मध्याह्न तेल भर्न आएका प्रमोद लामा पम्प बन्द देखेपछि झोक्किए। 'शनिबार बनेपा नगई भएको छैन,' उनले भने, 'तर, तेल नपाएर योजना तुहिने भो। बिदा हुनासाथ सधैं पेट्रोल अभाव किन हुन्छ?'
 
निगमले दैनिक उपभोग्य वस्तुअन्तर्गत पर्ने पेट्रोल बिदाका दिन पनि उपभोक्तालाई अत्यावश्यक पर्ने यथार्थ बेवास्ता गर्दा पेट्रोलियम पदार्थ भण्डारण र वितरण चुस्त छैन। सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत हुन्छ। माग अझ चुलिँदो छ। आजको नागरिकमा समाचार छ । 
 
बिदाका दिन निगमले पेट्रोल नदिएकाले बिहीबार जसोतसो पुर्‍याए पनि गाईजात्राका दिन शुक्रबार पम्प गर्नुपरेको वितरकको गुनासो छ।
निगमले बिदामा तेल दिने दिए अभाव नहुने मैतीदेवीस्थित पेट्रोलपम्प सञ्चालक नीतेश सरिया बताउँछन्। 'निगमले नै नदिएकाले अभाव भएको हो,' उनले भने।
 
निगमले यो अवस्था निम्तिन नदिन भण्डारण क्षमता बढाउने रटान लगाएको लामै समय बितिसके पनि कार्यान्वयन भने छैन। करोडौं बोनस बाँड्न चलखेल गर्ने निगमसँग बिदाका दिन पनि कर्मचारी खटाएर डिजेल, पेट्रोल वितरण गर्न सक्ने स्रोतसाधन नभएको होइन। तर, जिम्मेवारीबोध नगर्ने प्रवृत्तिका कारण आफूहरू सधैं मारमा पर्ने गरेको उपभोक्ताको गुनासो छ।
 
मागअनुसार आपूर्ति नहुँदा प्रायजसो बिदाका दिन पेट्रोलपम्प बन्द गर्नुपर्ने बाध्यता रहेको पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्ष लीलेन्द्र प्रधानले बताए। 'बिदाका दिन थानकोट डिपो बन्द गरेपछि तेल पाइएन,' उनले भने, 'मागअनुसार तेल आपूर्ति हुनुपर्‍यो।'
 
 थानकोट डिपोको भण्डारण क्षमता नबढाइएकै कारण लगातार बिदा पर्दा र राजधानी प्रवेश गर्ने सडकमा सामान्य अवरोध हुँदा पनि उपत्यकामा पेट्रोलको हाहाकार मच्चिँदै आएको छ।
 
यसपालि थानकोट डिपोको एउटा पेट्रोल ट्यांक बिग्रिएकाले पनि बजार थप प्रभावित हुन पुग्यो। ७ सय ६० केएल (७ लाख ६० हजार लिटर) ट्यांकको फ्लोटिङ रुफ (ढकन) मा समस्या देखिएपछि निगमले त्यसमा पेट्रोल भर्न छाडेको छ। १८ लाख लिटर भण्डारण क्षमताको थानकोट डिपोमा ट्यांक बिग्रिएपछि अहिले १० लाख ४० हजार लिटर पेट्रोल मात्र स्टक बस्छ। दैनिक सरदर ३ लाख ५० हजार लिटर पेट्रोल खपत गर्ने उपत्यकाबासीलाई त्यसले तीन दिन पनि धान्दैन।
 
निगमले भने इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पर्याप्त पेट्रोलियम आयात भइरहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको जनाएको छ। 'बिहीबार रक्षाबन्धन बिदा परेकाले तेल दिन सकेनौं,' निगम आपूर्ति तथा वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले भने, 'बजारमा अभाव भएपछि शुक्रबार नै आपूर्ति बढाएका छौं।' उनले शुक्रबार करिब ५ लाख लिटरभन्दा धेरै पेट्रोल वितरण गरिएको दाबी गरे। 'बिहीबारको अभावसमेत मेट्ने गरी दिएका छौं,' उनले भने, 'अभाव हटिहाल्छ।'
 
थानकोट डिपोको ट्यांक चुहिएको पुष्टि भएपछि त्यसलाई खाली गरिएको निगम इन्जिनियरिङ विभागका निर्देशकसमेत रहेका गोइतले जानकारी दिए। 'ट्यांकको भित्री भागमा समस्या देखिएपछि पेट्रोल भर्न रोकेका छौं,' उनले भने, 'पेट्रोलको भ्यापर हुने भएकाले मर्मतसम्भार गर्नुपर्ने भएको छ, जतिसक्दो छिटो मर्मत गर्ने तयारीमा छौं।'
 
ट्यांक मर्मत गर्न विदेशबाट प्राविधिक झिकाउनुपर्ने भएकाले केही ढिलाइ भएको गोइतले बताए। 'यो बनाउने ज्ञान हामीसँग छैन,' उनले भने, 'प्राविधिक झिकाउन प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले केही समय लाग्छ।'
 
पछिल्लोपटक निगमको कार्यशैलीमाथि पनि चर्को आलोचना हुँदै आएको छ। कार्यकारी निर्देशक गोपाल खड्काले व्यापारीलाई ग्यास बुलेट, ट्यांकरको लाइसेन्स वितरणमा हतारहतार काम गरे पनि बजार व्यवस्थित गर्न भने तत्परता नदेखाएको निगमकै कर्मचारी बताउँछन्। खड्कासहित निगम कर्मचारी कार्यालयसमेत बस्न छाडेपछि तालुकदार निकाय आपूर्ति मन्त्रालयले छड्के गरेको थियो। उसले हाजिरी रजिस्टर नियन्त्रणमा लिएर कर्मचारीलाई स्पष्टीरकणसमेत सोधेको छ। 'निगमका कर्मचारी कार्यालयको काममा दत्तचित्त नदेखिएपछि स्पष्टीकरण सोधेका छौं,' मन्त्रालयका प्रवक्ता आनन्द रेग्मीले भने, 'धेरै कर्मचारी अनुपस्थित भेटिएकाले कारबाही प्रक्रिया सुरु गरेका हौं।'
 
नाकाबन्दीपछि सुधार भएको पेट्रोल वितरणमा एकाएक असहजता आउनुमा डिपोप्रमुख रविन शर्माको समेत दोष औंल्याउँछन् व्यवसायी। उनले मागअनुसार पेट्रोलियम दिन आनकानी गर्न थालेको उनीहरूको भनाइ छ।
 
पेट्रोलियम अभावको मौका छोपी कालोबजारी गरेको आरोपमा प्रहरीले गत मंसिरमा डिपोप्रमुख शर्मालाई पक्राउ गरी मुद्दा चलाएको थियो।
 
अदालतले सफाइ दिएपछि उनी दुई साताअघि फेरि डिपोप्रमुख भएर थानकोट खटिएका छन्। शर्मा गएपछि त्यहाँ सेटिङ मिलाउन आफूनिकटका केही कर्मचारीलाई थानकोट डिपोमा लगेको निगम स्रोतले जनायो। ल्याब अधिकृत विनय शर्मालाई लगिसकेका उनी अब राजकुमार केसीलाई थानकोट डिपो लैजाने तयारीमा रहेको स्रोतको दाबी  छ।
 
आठ महिनापछि निगममा हाजिर भएका शर्माले त्यति बेला असहयोग गर्नेमाथि प्रतिशोध साँध्न थालेको एक पम्प सञ्चालकले बताए। 'प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा असहयोग गर्नेलाई दुःख दिन थालेका छन्,' ती व्यवसायीले भने, 'मलाई कसले के गर्न सक्छ देखाइदिन्छु भन्दै चुनौती दिन थालेका छन्।' शर्मा कार्यकारी निर्देशक खड्कासँग निकट भएकाले सफाइको पत्र बुझ्नासाथ उनलाई थानकोट डिपोमा खटाएका थिए। थानकोट डिपो निगमका 'आकर्षक' कार्यालयमध्ये गनिन्छ। काठमाडौं उपत्यकासहित ठूलो व्यापारिक घरानामा समेत इन्धन वितरण गर्ने भएकाले डिपोमा चलखेल गर्न पाइने निगमकै कर्मचारी बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ