arrow

सरकारी कोटामा विदेश पढ्न गएका उतै हराए, कारबाही सुरू

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
globe.jpeg
काठमाडौं । सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ ।
 
सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको हो ।
 
विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया थालिएको हो । 
 
सरकारी कोटाबाट अध्ययन बिदामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, मलेसिया, बेलायतलगायतका देशमा गएका कर्मचारी उतै बेपत्ता भएका हुन् ।
 
विभिन्न मन्त्रालय मातहत रहेर विदेश गएका अन्य कर्मचारीबारे खोजी क्रम जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 
 
मन्त्रालयका अनुसार झन्डै ८३ हजार कर्मचारीमध्ये पाँच सयदेखि हजारभन्दा बढी कर्मचारी निजामती सेवा ऐन र नियमावलीलाई चुनौती दिँदै विदेशमै लुकेका हुन् ।
 
सामान्यले विदेशमा पढाइ सकेपछि स्वदेशमै आएर काम गर्ने कबुलियत गरेर विभिन्न देश गएका कर्मचारी उतै बेपत्ता हुने क्रम बढेपछि उनीहरूबारे खोजी गर्न विभिन्न सर्च टोली बनाएको थियो ।
 
विदेश लुक्ने कर्मचारीको संख्या ठूलो भए पनि विभिन्न मन्त्रालयले कर्मचारीको विवरण नै लुकाउने गरेकाले खोजी गर्न कठिन भइरहेको सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ