arrow

शंकर भण्डारीको यात्राः तनहुँको भण्डारी गाउँदेखि सिंहदरबारसम्म

logo
प्रकाश अधिकारी,
प्रकाशित २०७३ भदौ ११ शनिबार
shankar-bhandari.jpeg
काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र न.१ बाट निर्वाचित सांसद शंकर भण्डारी वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारीका साथ मन्त्रीमण्डलमा सामेल भएका छन्। नेपाली काँग्रेसका यूवाहरुका प्रिय भण्डारी तनहुँको पर्कोटको भण्डारी गाउँमा जन्मिका थिए। ५० बर्षिय भण्डारी स्वर्गीय पिता दयानिधी भण्डारी र दमयन्ती भण्डारीका कान्छा छोरा हुन्। दुई पटक कांग्रेसको केन्द्रीय सदस्य भइसकेका भण्डारी विद्यालयदेखि नै नेविसंघको राजनीतिमा आवद्ध भएपनि २०३६ को विद्यार्थी आन्दोलनदेखि सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए।
 
काँग्रेस परिवारमा जन्मिएका भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए। मन्त्री भण्डारी २०४० सालमा एस.एल.सी. दिए पछि उच्च शिक्षाका लागि राजधानी आएका थिए। राजधानी गएपछि सरस्वती क्याम्पसमा भर्ना भएका उनले त्यहाँ पनि आफ्नो राजनीतिक यात्रा अगाडि बढाए। २०४६ सालसम्म पद लिनुपर्छ भन्ने मानसिकता नभएका भण्डारी लहलहैमा कार्यकर्ताकै हिसाबले २०४६ सालको आन्दोलनमा सक्रिय भए।
 
२०४६ सालमा लौहपुरुष गणेशमान सिंहको घरमा भएको पार्टी सम्मेलनमा मञ्च व्यवस्थापन समितिमा परे। पार्टीको काम गर्दैगर्दा उनी पक्राउ परे। २९ दिनसम्म उनी प्रहरी हिरासतमा परेका थिए। बहुदल आएपछि भण्डारी त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए। २०४८ सालमा नेविसंघ इकाई सभापति बन्न सफल भए। राजनीतिक यात्रा अगाडि बढ्दै जाने क्रममा भण्डारी २०४९ सालमा स्ववियुको निर्वाचन भयो। त्यसमा निर्वाचित पनि भए। २०५१ मा स्ववियु सभापतिको कार्यकाल सिद्धिएपछि भूमिका बिहिन रहे। त्यसपछि भने २०५३ सालमा तनहुँ क्षेत्र न.१ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन सफल भए।
 
राजनीतिक यात्रा अगाडि बढ्दै जाँदा भण्डारी बालकृष्ण खाँडको नेतृत्वमा गठन भएको नेपाल तरूण दलको केन्द्रीय समितिमा रहे। पछि काँग्रेस विभाजनसँगै उनी नेपाली कांग्रेस प्रजातान्त्रिक तर्फ आवद्ध हुन पुगे। त्यक्रममा नेपाल तरूण दलको केन्द्रीय अध्यक्षमा उनी प्रतिस्पर्धामा उत्रिए। तर जम्मा १६ मतले पछि परे। उनको राजनिती प्रभाव उनको पराजयले रोकिएन बरु बढ्दै जान थाल्यो। पार्टी एक हुन पुगेपछि उनी झन् मजबुत बने। त्यही बललाई प्रयोग गर्दै पाटीको बाह्रै महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडे। देशभरिका कार्यकर्ताको मत पाएर १९ औ नम्बरमा निर्वाचित भए। दोस्रो संविधानसभाको चुनावमा तनहुँ क्षेत्र १ बाट टिकट पाएका भण्डारी करिब ५००० मतको अन्तरले चुनाव जिते। भण्डारी कांग्रेसको १३ औ महाधिवेशनबाट १७ औ नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भए। तनहुँको जनताको माया पाएका भण्डारी वन तथा भूसंरक्षण मन्त्री बन्न समेत सफल भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ