arrow

एसएसबीको आडमा पेट्रोलबम

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1098364229.jpeg
काठमाडौं । बुधबार दिउँसो रुपैडिहा (भारत) छिर्ने प्रवेशद्वारको उत्तरतिर नेपाली सुरक्षाकर्मी र दक्षिणतिर भारतीय सुरक्षाकर्मी तैनाथ थिए। दसगजामा धर्ना कसिरहेका थिए– आन्दोलनकारी। नेपाली सुरक्षाकर्मीले त्यहाँबाट हट्न दबाब दिएपछि आन्दोलनकारी भारतीय भूमितिर दौडिए। र, केही क्षणमै उताबाट पेट्रोलबम प्रहार गर्न थाले।
 
नागरिक दैनिकमा कलेन्द्र सेजुवाल र अर्जुन ओली लेख्छन्–आफ्नै सामुन्ने हातमा ढुंगा र पेट्रोलबम बोकेर नेपालतिर प्रहार गरिरहँदा भारतीय सुरक्षाकर्मी भने मूकदर्शक बनिरहे। 'उनीहरुकै आड लिएर हामीमाथि पेट्रोलबम प्रहार भइरहँदासमेत भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई केही गरेनन्,' नेपाल प्रहरीका एक अधिकृतले भने, 'तनाब बढ्दै गएपछि भने धपाएजस्तो गरेर तितरबितर पार्योी।' निरन्तर पेट्रोलबम र ढुंगा प्रहार भइरहेपछि नेपाली पक्षको आग्रहमा मात्र भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई तितरबितर पारेको उनले बताए।
 
रुपैडिहा–जमुनाह नाका ठप्प हुने गरी भएको बुधबारको झडपमा भारतीय सुरक्षाकर्मीको भूमिका आन्दोलनकारीलाई हौसला मिल्ने खालको थियो। आन्दोलनकारीले भारतीय सुरक्षाकर्मीको आड लिएर मोर्चा कस्दा नेपाली पक्षलाई भने प्रतिकार गर्न हम्मे भइरह्यो। 'त्यसैले उताबाट पेट्रोलबम प्रहार हुँदासमेत हामीले फायर खोल्न सकेनौं,' ती प्रहरी अधिकृतले भने, 'भारतीय सुरक्षाकर्मीले भने आन्दोलनकारीलाई कडा व्यवहारसहित धपाउने काम गरेनन्।' भारतीय सुरक्षाकर्मीकै अगाडिबाट करिब दुई दर्जन पेट्रोलबम प्रहार भएको उनले बताए।
 
आन्दोलनका कारण नाकामा भइरहेको तनाब रोक्न मंगलबार बाँकेका दुई जना सहायक प्रमुख जिल्ला अधिकारी र बहराइज (भारत) जिल्लाका समकक्षीबीच मौखिक सहमति भएको थियो। सोहीअनुसार बुधबार बाँकेका प्रहरीप्रमुख एसपी बसन्त पन्त, सशस्त्र प्रहरी बलका एसपी नेत्रकुमार खत्री र भारत बहराइचका सहायक जिल्ला अधिकारी अमिताभ यादव तथा बहराइचका एसपी भरत यादव सीमाक्षेत्रमा खटिएका थिए। तैपनि आन्दोलनकारीको प्रहारसामु भारतीय पक्ष मौन बसिदियो।
 
बहराइच जिल्लाका एसपी यादवको भनाइले समेत भारतीय पक्षको नियतमा खोट देखिन्थ्यो। 'दसगजा (नो म्यान्स ल्याण्ड)मा हाम्रा जनता गएर धर्ना बस्छन् भने हामीले धपाउँछौँ,' नेपाली पत्रकारसँग कुराकानी गर्दै उनले भने, 'उताबाट आएका मान्छेलाई त नेपालले हटाउनुपर्योर नि, यो उताकै दायित्व हो।'
 
बाँकेका प्रहरीप्रमुख पन्तले 'नो म्यान्स ल्यान्ड' जस्तो संवेदनशील क्षेत्रमा बसेका व्यक्तिलाई हटाउने दायित्व दुवै देशका सुरक्षाकर्मीको भए पनि आन्दोलनकारीले दसगजा र भारतीय भूमि प्रयोग गरेर नेपालतर्फ ढुंगा र पेट्रोलबम हान्ने गरेको बताए। यद्यपि, बुधबार भारतीय सुरक्षाकर्मीको सहयोगमा आन्दोलनकारीलाई भगाउन सफल भएको उनको भनाइ छ। 'यस्तो समन्वय सधैँ हुन्थ्यो भने आन्दोलनकारी दसगजामा बस्न सक्दैनथे,' उनले भने, 'आज हामीले आन्दोलनकारीलाई धपाउन सहयोग माग्यौं, उनीहरुकै सहयोगमा धपाउन सफल भयौं।'
 
तीन दिनदेखि आयात ठप्प
रुपैडिहा नाकाबाट सोमबारयता कुनै पनि पेट्रोलियम ट्यांकर र अन्य मालवाहक सवारीसाधन आएका छैनन्। इलाका प्रहरी कार्यालय, जमुनाहका अनुसार नाका प्रवेश हुन नपाउँदा रुपैडिहामा २३ वटा पेट्रोलियम ट्यांकर र करिब साढे दुई सय मालवाहक ट्रक तथा कन्टेनर रोकिएका छन्। नेपालबाट भारततर्फ जाने ५० भन्दा बढी खाली ट्रक तथा कन्टेनर पनि जमुनाह क्षेत्रमा रोकिएका छन्।
 
नेपाल आयल निगमका मध्यपश्चिम क्षेत्रीय प्रबन्धक बिनितकुमार उपाध्यायले खाली ट्यांकरहरु केही मात्रामा गए पनि लोड भएर आएका ट्यांकर भने रुपैडिहामै रोकिएको जानकारी दिए।
 
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता आइतबार बेलुका दसगजा क्षेत्रमा टेन्ट टाँगेर बसेका थिए। उनीहरुको धर्नाले सोमबार दिनभर नाकामा ठूला सवारीसाधन रोकिएका थिए। धर्नामा बसेका आन्दोलनकारीलाई प्रहरीले हटाउन खोज्दा सोमबार बेलुका झडप भएको थियो।
 
भारतीय पक्षले सीमामा बढेको तनाब र उत्तरप्रदेशमा डिसेम्बर ५ मा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नाकामा कडाइ गरेको बताएको छ। सुरक्षा कडाइको प्रभाव भने विशेषगरी नेपाल प्रवेश गर्ने इन्धन ट्यांकर र मालवाहक सवारीमाथि परेको छ।
 
रिक्सा, मोटरसाइकललगायत सवारीसाधन निर्वाध रुपमा आवतजावत गरिरहेका छन्। नेपालतिरबाट खाली सवारी पनि गइरहेका छन्। 'अरू आवतजावत खुला गर्ने, तर सुरक्षाको कारण भन्दै ट्यांकर र मालवाहक सवारीलाई मात्र रोक्ने व्यवहार हास्यास्पद छ,' एक नेपाली सुरक्षा अधिकारीले भने, 'यसो गर्नुको भित्री कारण पश्चिम नाकालाई ठप्प गरेर नेपाललाई थप अप्ठेरोमा पार्नु हो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ