arrow

मोर्चाविरुद्ध खनिए भारतीय

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1262013743.jpeg
काठमाडौं । वीरगन्ज-रक्सौल नाकाको मितेरीमा धर्ना दिएर सीमा ठप्प पारेका मधेसी दलका नेता/कार्यकर्तालाई बुधबार राति भारतीयले आक्रमण गरेर लखेटेका छन्।
 
अन्नपूर्ण पोष्टमा क्रान्ति शाह लेख्छन्–दसगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका बासिन्दाले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका हुन्।भारतीयको कुटाइबाट धर्नामा बसेका मधेसी दलका पाँचजना कार्यकर्ता घाइते भएका छन्। 
 
 घाइते हुनेमा बाराको कलैयाका सुरेश साह कानु, फेटा २ का रन्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव, नन्दु यादव र वीरगन्ज १३ का फिरोजबाबु खान छन् । उनीहरूमध्ये कानुको अवस्था गम्भीर छ। घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
 
राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लट्ठी र भाटा बोकेर आएका भारतीयले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीलाई आक्रमण गरेका हुन्।आन्दोलनकारीले धर्नास्थलमा टाँगेको टेन्ट भत्काउनुका साथै भारतीयहरूले धर्नास्थलबाट आन्दोलनकारीलाई लखेटेर वीरगन्जतर्फ अड्किएर बसेको एउटा भारतीय खाली ट्रकलाई रक्सौल छिराएका छन्।
 
नेपालमा सामान खन्याएर भारत फर्कन लागेका खाली भारतीय ट्रक रक्सौल छिराउनकै लागि भारतीयले धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेका हुन्।भारतीयहरूले धर्ना स्थलमा बसेकाहरूलाई कुटपिट गर्दै लखेटेको खबर पाएलगत्तै वीरगन्ज र आसपासको क्षेत्रबाट अरू आन्दोलनकारी बुधबार राति मितेरी पुलमा पुगेर नाका फेरि ठप्प पारेका छन्।
 
धर्नामा बसेका अधिकांश आन्दोलनकारी खाना खानका लागि रक्सौलमा सञ्चालित मेसमा गएको मौका छापेर भारतीयले धर्नास्थलमा आक्रमण गरेको धर्नामा बसेका नेपाल सद्भावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए। 'हामी सबै खाना खान मेसमा गएका थियौं। धर्नास्थलमा २०–२५ जना साथीहरू बस्नुभएको थियो’, उनले भने, ‘त्यही मौकामा उनीहरूले आक्रमण गरेका हुन्।'
 
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले रक्सौल अरिहवा टोलका केही अराजक तत्वले नेपाल प्रहरीको उक्साहटमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेको बताए।यसअघि गत सोमबार बिहान पनि खाली भारतीय ट्रक रक्सौल छिराउन खोजेका भारतीय चालक र आन्दोलनकारीबीच विवाद भएको थियो। 
 
सोमबार बिहान ६ बजेतिर धर्नामा बसेका आन्दोलनकारी शौच गर्न गएका बेला वीरगन्जमा रोकिएका भारतीय खाली ट्रकका चालकले आफ्नो गाडी भारततर्फ छिराउन खोजेपछि आन्दोलनकारीसँग विवाद भएको थियो।भारतीय चालकले बिहान ६ बजेतिर आन्दोलनकारी नभएको बेलामा धर्नास्थलमा रहेको टेन्ट जबरजस्ती हटाउन थालेपछि दुवै पक्षबीच विवाद भई सामान्य झडप पनि भएको थियो। आन्दोलनकारीले भारत छिर्न नदिएपछि भारतीय चालकले खाली ट्रक मितेरी पुलबाट फर्काएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ