arrow

तल्लोस्वराडको दुःख : चितुवाको त्रासले घरभित्रै दिसापिसाब

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
cheetah_05.jpeg
बैतडी । बैतडीको तल्लोस्वराडका बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला तर यो साँचो हो । राज्य पक्षबाट समेत हेपिएको भनेर भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लोस्वराडमा ५ वर्ष यता चितुवाले २१ जनाको ज्यान लिएपछि स्थानीय बासिन्दाले भयले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् । 
 
एकपछि अर्को गर्दै चितुवाले बालबालिका र महिलामाथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गतवर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ्नै आँखा अगाडि चितुवाले आक्रमण गरी ७ वर्षिय नाति शिवराज साउदको ज्यान लिएको घटना सम्झँदै उदयदेव–४ का कृष्ण साउदले भने – “नातिलाई आक्रमण गरेको त्यो क्षणको स्मरण ताजै छ ।” 
 
गएको वर्ष शिवराज मारिनु अघि चितुवा तल्लोस्वराडमा मानव वस्तीतिर देखिएको थिएन भने स्थानीय बासिन्दा समेत त्रासवाट मुक्त भइसकेका थिए । तर केही दिन अघि साँझ उदयदेव मकैल ब्याल्धमका हीरा चन्दकी ७ वर्षिया छोरी चञ्चला चन्दलाई आँगनमा खेलिरहेका बेला एक्कासी आएको नरभक्षी चितुवाले आक्रमण गरेपछि स्थानिय बासिन्दा त्रसित बनेका छन् । उनको शरीर घरभन्दा करिव ७०० मिटर टाढा खोलामा मृत अवस्थामा फेला परेको थियो । 
 
“दिउँसो तथा रातिको समयमा हँसिया, खुकुरी लगायतका सामग्री बोकेर मात्रै घरबाट निस्किने गरेका छौं,” उदयदेव ४ का शिवराज साउद भने – “महिलाहरु घाँसदाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन् । ” 
 
बालबालिकालाई विद्यालय पठाउँदा समेत पाको मान्छेसँगै जानुपर्ने अवस्था छ । तल्लोस्वराडकै विशालपुर ७ का जनक भट्टका भतिजा ७ वर्षिय नवीन भट्टको पनि ४ वर्ष पहिला चितुवाकै आक्रमणबाट ज्यान गएको थियो । एकपछि अर्को गर्दै लगातार चितुवाले आक्रमण गर्न थालेपछि वस्तीमै भय व्याप्त हुन पुगेको छ । 
 
महाकाली ६ का मोहन बहादुर चन्द भने वन विभागले चितुवा मार्न स्थानीय बासिन्दालाई अनुमति नदिँदा यस्तो घटना दोहोरिँदै आएको बताए । उदयदेवका स्थानीय बासिन्दा वीरेन्द्र महताले राज्यले जहिले पनि तल्लोस्वराड भनेर हेप्ने गरेकाले समस्या विकराल बन्दै गएको बताए । “केन्द्रबाट सुदूरपश्चिम भनेर हेपियो, सुदूरपश्चिमका सदरमुकाम तथा सुगम ठाउँका जनताले सधैं तल्लोस्वराड भनेर हेपेकाले समस्या थपिँदै गएको हो,” उनले भने  – “यो समस्या समाधान गर्न अब राज्य तयार हुनुपर्छ ।” 
 
चितुवाले  घरभित्रै पसेर आक्रमण गरेपछि स्थानीय बासिन्दा बढी त्रसित भएका हुन् । “घरआँगनै असुरक्षित भएपछि ढुक्क भएर विद्यालय पठाउन सक्ने अवस्था छैन,” चन्दले भने  – “बालबालिकामाथि आँखै अगाडि आक्रमण हुँदै आएको छ ।” 
 
प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले यो घटना दुःखदायी भएकाले यसको लागि छिट्टै पहल थालिने बताए । उनले भने –“पीडित पक्षलाई तत्काल राहत वितरण गर्छौं र त्यसपछि चितुवा नियन्त्रणको अभियान थाल्छौं ।” 
 
तल्लोस्वराडको कुलाउ, बिशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २१ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । चितुवाले विशेष गरी साँझतिर बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेका छन् । विस २०६८ सालदेखि चितुवाले तल्लोस्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । 
 
जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार चितुवाले तल्लोस्वराडमा २०६८ मा ४ जना, २०६९ मा ११ जना, २०७० मा ३ जना र २०७१, २०७२ र २०७३ मा १-१ जनाको ज्यान लिएका थिए । 
 
मृत्यु हुनेमध्येमा विशालपुर गाविसका ९, पञ्चेश्वर र आमचौरा गाविसका ३-३ , उदयदेव गाविसका ३ जना र कुलाउ, गिरेगाडा र शर्माली गाविसका ११ जना रहेको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । मृत्यु हुने १८ जना १५ वर्षमुनिका बालबालिका छन् । 
 
जिल्ला वन कार्यालय कै तथ्याङक अनुसार थप ५ जना चितुवाको आक्रमणबाट घाइते भएका छन । घाइते हुनेमा गुजर ४ का १८ वर्षिय वासुदेव पन्त, रेडिदेवल ५ की लीला भण्डारी, उदयदेव ७ की कमला महता, उदयदेव ५ की ललिता साउद र महाकाली गाविसका सचिन साउद रहेका छन् । 
 
स्थानीय बासिन्दाले पटकपटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन् । विसं २०६९ असोजयता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हुँदै आएको छ । यसअघि, जिल्ला प्रशासन कार्यालय बैतडीले चितुवाले महिनैपिच्छे ज्यान लिएपछि २०६९ सालमा चितुवा मार्न नेपाली सेना र प्रहरी परिचालन गरेको थियो । 
 
अनुसन्धान गर्न आएको चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञ टोलीले आहारको कमी, घरआँगनमा राति उज्यालो नहुनु जस्ता कारण चितुवाले मानव सिकार गर्न थालेको औंल्याएको थियो । जिल्ला वन कार्यालयले गतवर्षदेखि कैलाश पवित्र भूपरिधि संरक्षण र विकास कार्यक्रमको सहयोगमा जिल्ला वन कार्यालयले चितुवाका लागि आवश्यक पर्ने बासस्थानको संरक्षण, चितुवाले खाने वन्यजन्तुको अवैध शिकारमा रोक, वासस्थानको खण्डीकरणमा रोकलगायत चितुवाको आक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायहरुका बारे प्रभावित क्षेत्रका १६ वटा सामुदायिक वनका प्रतिनिधिहरुलाई तीन फरक फरक स्थानमा सचेतना गोष्ठी सञ्चालन गर्दै आएको छ । 
 
कार्यालयले चितुवा आक्रमणवाट आफन्त गुमाएका २० परिवार र केही घाइते परिवारलाई गत वर्ष सौर्य बत्ती वितरण गरेको जनाएको छ । यसैबीच, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग सम्बन्धी निर्देशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाख ५० हजार का दर र ६ मृतकका परिवारलाई रु तीन लाखका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीले जानकारी दिएको छ ।
 
 यस्तै, गम्भीर घाइते दुई जनालाई रु ५० हजारका दरले र सामान्य घाइते भएका ३ जनालाई रु १० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ