arrow

राजा आऊ देश बचाऊ भन्दै राजावादीहरु सडकमा

logo
प्रकाशित २०७२ मंसिर १८ शुक्रबार
काठमाडौं । राजा आउ देश बचाउ भन्ने नारा लगाउँदै बिहीबार विराटनगरमा राजावादीहरुले प्रदर्शन गरेका छन् । अन्नपूर्ण पोष्टमा किशोर बुढाथोकी लेख्छन्–नेपाल विद्धत परिषद् मोरङको आयोजनामा राजसंस्था स्थापना हुनुपर्ने, हिन्दु अधिकाराज्य नेपाल हुनुपर्ने, अखण्ड नेपाल हुनु पर्ने र राजासँग भएको सम्झौता लागू हुनुपर्ने लगायतका माग राख्दै राजावादीहरुले जुुलुस निकालेर प्रदर्शन गरेका हुन् । 
 
प्रदर्शन हुने जानकारी अगाडिनै पाएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो ।  जुलुसमा अधिकांश मधेसी समुदायको सहभागिता रहेको थियो । 
 
परिषद्का मोरङ अध्यक्ष पुष्पराज दाहालका अनुसार शनिहाटबाट सुरु भएको जुलुस मेनरोड, गोल्छा चौक, जलजला चौक, गुद्री चौक हुँदै महेन्द्र चौकमा आएर कोणसभामा परिणत भएको थियो । 
 
कोणसभालाई सम्बोधन गर्दै दाहालले जनआन्दोलन प्रश्चात पूनस्थाना भएको प्रतिनिधी सभाले राजासँग गरेको सम्झौता लागू हुनु पर्ने माग गरे । उनले जनआन्दोलन प्रश्चात प्रतिनिधी सभा स्थापना गरेर राजसंस्थाको उत्तराधिकारी संसदले तोकेको व्यक्ति हुने भनेर त्यतिबेला राजा र प्रतिनिधी सभाबीच सम्झौता भएको बताए । 
 
कोणसभामा बोल्दै परिषद्का पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले देश र जनतालाई विषम परिस्थितिमा असहज अवस्था र अन्धकारमा रुमल्याउने काम दलका नेताहरुबाट भइरहेको बताए । 
 
उनले नेपाली जनाताको गहना तथा पहिचानका रुपमा रहेको राजसंस्था र हिन्दु राज्यलाई कौडीको मूल्यमा बेचेर राजनैतिक दलका नेताहरुले गणतन्त्र र धर्मनिरपेक्षताको व्यापार गरिरहेको बताए । 
 
‘मुलुकमा गणतन्त्र र धर्मनिरपेक्षताको व्यापार गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘यस्तो व्यापारले नेपाली जनताको अधिकार खोसेर जनतामाथि कुठाराघात गर्ने काम भइरहेको छ ।’ 
 
परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अज्र्यालले पछिल्लो समयमा मुलुकले भोग्नु परेको अवस्थामा देश र जनतालाई मुक्ती दिलाउनका लागि एउटा मात्र विकल्प राज संस्थाको पुनस्थापना रहेको बताए । 
 
उनले राज संस्था र हिन्दु राज्यको पुनस्थापना नभए सम्म जनताले मुक्ती पाउन नसक्ने भएकाले एकता तथा सद्भावको लागि शान्तिपूर्णरुपमा दबाव दिने काम आफूहरुले गरिरहेको जानकारी गराए ।
 
‘अब गणतन्त्र हैन राजतन्त्र हुनु पर्छ । धर्मनिरपेक्षता हैन हिन्दूराज्य हुनुपर्छ,’ अज्र्यालले भने, ‘गणतन्त्र र धर्मनिरपेक्षताको नाटक गरेर जनतालाई भुल्याउने काम भइरहेको छ । अव जनताले यो नाटक हेर्न चाहँदैनन् ।’
 
उनले मुलुकका सबै समस्या राजनैतिक दलले समाधान गर्न सक्ने अवस्था नभएकाले राजालाई मुलुक संचालनको जिम्मा दिनुको विकल्प नभएको दावी गरे । अध्यक्ष अज्र्यालले भारतसंग मित्रवत व्यवहार गरेर आपूर्ति सहज बनाउनु पर्नेमा जोड दिए । 
 
‘भारतले नाकाबन्दी गरेको हैन । आयात मात्र कम भएको हो । भारतसँग जोरी खोजेर भन्दापनि मित्रवत व्यवहार गरेर आयात सहज गर्नु पर्छ’, ‘उनले भने, ‘भारतसँग मिलेर जनतालाई सुःख दिन सकिंदैन भने सबै समस्याको समाधानका लागि राजालाई शासन सत्ता जिम्मा लगाउनु पर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ