arrow

वीपी र गणेशमानका नातीहरु तरुण दलमा भिड्दै

logo
राजनीतिक व्यूरो,
प्रकाशित २०७३ भदौ २१ मंगलबार
siddhartha-prabhasman.jpeg
काठमाडौं। नेपाली काँग्रेसको राजनीतिमा नाती पुस्ताको प्रवेश भएको छ। राणा शासन विरुद्ध आम नागरिकलाई गोलवन्द गर्दै प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन नेताहरुले गठन गरेको काँग्रेसमा अब उनीहरुकै नाती पुस्ता पनि प्रवेश गरेको छ। नेपाली काँग्रेसका संस्थापक वीपी कोइराला र लौह पूरुष गणेशमानसिंहका नातीहरु नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका हुन्। वीपी कोइरालाका नाती सिद्धार्थ र गणेशमानका नाती प्रभासमानसिंह काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गरेका हुन्। उनीहरु दुवैले काँग्रेसको राजनीतिमा प्रवेश गर्ने माध्यम भने तरुण दललाई बनाएका छन्। 
 
त्यसो त वीपी र गणेशमानका छोराहरु नेपाली राजनीतिमा नयाँ नाम होइन। वीपीका सबै छोराहरु राजनीतिमा छन्। जेठा छोरा प्रकाश राजनीतिमा भएपनि काँग्रेससँगको लगाव कम छ। शशांक कोइराला महामन्त्री छन्। श्रीहर्ष पनि राजनीतिमा धेरै सक्रिय नभएपनि राजनीतिमा अभ्यस्त छन्। गणेशमानका छोरा प्रकाशमानसिंह पनि नेपाली काँग्रेसको राजनीतिमा छन्। उनी यसअघीको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए। वीपी र गणेशमानका छोराहरुको अहिलेसम्म प्रत्यक्ष प्रतिष्पर्धा देखिएको छैन। पार्टीको राजनीतिमा दुबै एउटै समुहमा छन्। राजनीतिमा वदलिइरहने समिकरणका कारण अबका दिनमा यि दुई राजनीतिक घरानाका दोस्रो पुस्तामा प्रतिष्पर्धा हुन सक्ने आँकलन गरिएको छ। यो प्रतिष्पर्धाको वातावरण बन्दै गर्दा यि दुबै घरानाले आफ्ना उत्तराधिकारीलाई पनि राजनीतिमा उतार्ने तयारीमा लागेका छन्। कोइराला र सिंहको परिवारबाट तरुण दलमा उतारिएका काँग्रेसको तेस्रो पुस्ता आगामी महाधिवेशनसम्म पार्टीको राजनीतिमा स्थापित गराउने रणनीति अन्तर्गत भएको काँग्रेसी कार्यकर्ताहरुमा चर्चा शुरु भएको छ। 
 
तरुण दलको स्थानिय समितिहरुबाट दुवै परिवारका उत्तराधिकारीहरुको प्रवेश सहज रुपमा भएको उनीहरु सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा आएबाट पनि देखिन्छ। कोइराला सुनसरीबाट महाधिवेशन प्रतिनिधी बनेका छन्। सिंह काठमाडौंबाट महाधिवेशन प्रतिनिधी भएका छन्। बौद्धका भोला थापा, जोरपाटीका शेखर सुवेदी र साँखुका वलराम मल्ललाई मनाएर गणेशमानका नातीलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधी बनाइएको थियो। भोला थापाले सहजै छोडेपनि शेखरलाई हरिवोल भण्डारीले फिर्ता लिन मनाए। अन्तिमसम्म फिर्ता लिन नमानेका मल्ललाई प्रकाशमानसिंहका सहयोगी श्रीराम लामिछानेले मनाएका थिए। सर्वसम्मत नभए महाधिवेशन प्रतिनिधी छोड्न तयार भएका प्रभासमानलाई निकै कसरत पछि सर्वसम्मत बनाइएको थियो। सोमबार भएको काठमाडौं तरुण दलको अधिवेशनबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधी भएका सिंहको यात्रा तरुण दल केन्द्रीय समितिमा भएको धेरैले चर्चा गरेका छन्। अधिवेशनमा रहेका एक तरुण कार्यकर्ताले भने नत्र यस्तो कसरत किन गर्नुपर्‍थ्यो र ? 
 
प्रभासमानले भने आफू महाधिवेशन प्रतिनिधीमा मात्र सर्वसम्मत भएको बताएका छन्। उनले तरुण दलको नेतृत्वको लागि आफूले अहिले कुनै तयारी नगरेको बताएका छन्। हाम्राकुरासँग कुरा गर्दै सिंहले भने अहिले केहि प्रोजेक्टहरुमा संलग्न भएका कारण तिनिहरु आफ्नो प्राथमिकतामा रहेको बताए। राजनीतिमा लाग्दै नलाग्ने त हैन तर अहिले तरुण दलको केन्द्रीय समितिमा जाने गरि तयारी नगरेको उनले बताए। तर काँग्रेस नेता प्रकाशमान सिंह निकटहरु उनका जेठा छोरालाई तरुण दल मार्फत राजनीतिमा ल्याउन चाहिरहेका छन्। उनीहरुले प्रकाशमानसिंहलाई पनि तेस्रो पुस्तालाई राजनीतिमा ल्याउन ढीला गर्न नहुने सुझाव समेत दिदै आएका छन्। सिंह निकटहरुले प्रभासमानलाई सर्वसम्मत बनाउन गरेको गृहकार्य यसैको कडी भएको बताइएको छ।
 
जननायक वीपी कोइरालाका नाति सिद्धार्थ कोइराला पनि नेपाल तरुण दलको नेतृत्व सम्हाल्ने गरि तयारी गरिरहेका छन्। लामो समयदेखि तदर्थवादमा चलेको तरुण दललाई नयाँ नेतृत्वको खाँचो रहेको औल्याइँदा सिद्धार्थ राम्रो विकल्प हुनसक्ने आँकलन कोइराला परिवारले गरेपछि सिदार्थ मैदानमा उत्रिदैछन्। विशेषगरि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा उनको चर्चा अहिले एक्कासी ह्वात्तै बढेको छ। नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षा देखिदा उनलाई नेपाली काँग्रेसमा प्रवेश गर्ने एक राम्रो अवसरसमेत बन्ने बिश्लेषण कोइराला परिवारमा पनि छ। यहि आँकलन र विश्लेषणका साथ कोइराला परिवार उनलाई तरुण दल मार्फत काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन चाहिरहेको छ। 
 
वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता थिए। उनले भारतमा केही चलचित्रमा अभियन गरेका छन्। उनी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन्। सिद्धार्थले हाम्राकुरासंगको कुराकानीमा पदाधिकारीमा आउन लागेको खुलासा गरे। अरुले महामन्त्रीमा लड्ने बताइरहँदा सिद्धार्थले परेका खण्डमा नेतृत्व सम्हाल्न पनि सक्ने गरी तरुण दलमा जान लागेको बताए। यसको मतलव उनी परेको खण्डमा अध्यक्षका पनि सम्भावित उमेद्वार हुन। नत्र पदाधिकारीमा भने उनी कन्फर्म उमेद्वार हुन्। सिद्धार्थलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री तथा सिद्धार्थका काका डा. सशांक कोइरालाले साथ दिइरहेका छन्। स्रोतका अनुसार तरुण दलमा अहिलेको चुनावी समितिका सदस्यहरुले चुनाव लड्न पाएनन् भने सिद्धार्थलाई राजनीतिक रुपमा थप फाइदा हुनेछ। 
 
कोइराला र सिंह यो पटक एकै पदमा भने लड्नै सम्भावना कम छ। उनीहरु एउटै खेमाबाट चुनाव लड्नेछन्। तरुण दलमा आफ्नो पक्ष वलियो रहेको देउवा पक्षले दावी गरिरहँदा यूवा मतदाताहरुलाई आकर्षित गर्न पौडेल पक्षले दुवै नेताका नातीहरुलाई मैदानमा उतार्ने तयारी गरेको हो। यसबाट तरुण दलमा फाइदा पुग्ने आकँलन पौडेल-कोइराला-सिंह पक्षको छ। 
 
तरुण दल मार्फत दुई राजनीतिक घरानाका तेस्रो पुस्ता राजनीतिमा प्रवेश गरिरहँदा पार्टीका कार्यकर्ताहरुमा भने मिश्रीत प्रतिक्रिया छ। कतिपय आफू सम्वद्ध गुटमा नयाँ देखाउन लायक अनुहार आएपछि खुसी समेत छन् भने कतिपयको प्रतिक्रिया भने धेरै सकारात्मक छैन। राजनीतिमा वंश परम्पराको विरोध गर्ने कतिपयले राजनीतिक घरानाका नयाँ पुस्ता राजनीतिक व्याज खान आएको पनि बताएका छन्। तर दक्षिण एशियाको राजनीतिमा झाँगिएको वंश परम्परा तोड्न तिनै कार्यकर्तारुहले पनि त्यति सहज देखेका छैनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ