arrow

छानबिन नभएसम्म मासिक रु १२ लाख रोकिने

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
help.png
काठमाडौँ । जर्मन दाताले नेपालमा रहेको चिल्ड्रेन फ्युचर अर्गनाइजेसनलाई दिँदै आइरहेको मासिक रु १२ लाख अब नदिने भएका छन् । 
 
संस्थामा भइरहेको अनियमितताको स्थानीय प्रशासन तथा सरकारद्वारा छानबिन तथा दोषीलाई कारबाही नगरेसम्म सो सहयोग रकम रोक्न लागिएको हो ।
 
 यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा दाताहरु फ्राउ पेट्र पाच्नर, हर हर्विग जान्ट्सिक एलेन र संस्थाकी संस्थापक डा ओल्गा लासोटाले संस्थाका अध्यक्ष रमेश धमलाले कर्मचारी तथा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने पारिश्रमिक तथा छात्रवृत्तिमा अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् । 
 
उनीहरुले धमलाले राजीनामा दिएर नयाँ दक्ष तथा व्यावसायिक समूहलाई नेतृत्व हस्तान्तरण गरिएमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
दाताले अध्यक्ष धमलाले संस्थाको रकम दुरुपयोग गरी व्यक्तिगत प्रयोजनका लागि खर्चिएको आरोप लगाउँदै संस्थाको भवन र शिशु तालिम केन्द्र खोल्नका लागि आवश्यक रकम उपलब्ध गराएकोमा त्यसको हिनामिना भएकोमा पनि चिन्ता व्यक्त गरेका छन् । 
 
त्यसैगरी, सन् २०१३ मा सीपमूलक तालिमका लागि ३।५ रोपनी जग्गा खरिद गर्दा दाताले पठाएको रकममा धमलाले करिब रु ३० लाख हिनामिना गरेको दाताको आरोप छ । 
 
दाताले प्रत्येक महिना १० हजार युरो संस्थालाई पठाएको जिकिर गरेका छन् । उनीहरुका अनुसार संस्थामा आबद्ध १०४ जना शिशुको शिक्षादीक्षाका लागि उक्त रकम पठाउने गरिएको हो । 
 
अर्गनाइजेसनका काठमाडौँ र धादिङमा कार्यालय भएपनि कार्यक्षेत्र धादिङ हो । संस्थाको स्थापनाकालदेखि नै धमला यसका अध्यक्षमा छन् । उनले आफ्ना नातागोता तथा परिवारको मान्छेलाई उक्त संस्थाको अन्य पदमा राखेका छन् । 
 
उक्त संस्था सन् २००३ मा स्थापना भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ