arrow

निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार छ : महरा

logo
प्रकाशित २०७३ भदौ ३१ शुक्रबार
Mahara_pokhera.jpeg
पोखरा, ३१ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताएका छन् । 
 
पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीमन्त्रीले निजी क्षेत्रले सरकार र सरकारले निजी क्षेत्रलाई सहयोग गरेमा मात्रै देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । 
 
पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग दुई हजार ५०० मिबाट तीन हजार मि बनाउन थप जग्गाको अधिग्रहणको काम छिटो अघि बढाइने जानकारी दिँदै उनले पोखरामा चक्रपथ तथा पोखरादेखि मुस्ताङ र लुम्बिनी जोड्ने राजमार्गको स्तरोन्नतिको काम छिट्टै सुरु गरिने बताए । 
 
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष किशोरकुमार प्रधानले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा राजनीतिक हस्तक्षेप हुन लागेकामा दुःख व्यक्त गरे। 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आर्थिक समृद्धिको नाराभन्दा काम गरेर अघि बढ्न सरकारसँग आग्रह गरे । 
 
सो अवसरमा लक्ष्मी विद्या पदक र नगदबाट विद्यार्थीलाई सम्मान गरिएको थियो । सो पदकबाट एमबिएसमा सर्वोत्कृष्ट अङ्क ल्याउने पृथ्वीनारायण क्याम्पसका लक्ष्मण कुँवर, बिबिएसमा जनप्रिय बहुमुखी क्याम्पसका कृष्णमुरारी पौडेल र नवराज भण्डारी पुरस्कृत भएका थिए । एमबिएसमा सर्वोत्कृष्ट हुने कुँवरले रु २५ हजार र बिबिएसका पौडेल र भण्डारीले रु १५÷१५ हजार पाएका थिए । 
 
सोही अवसरमा उत्कृष्ट उद्योग तथा वाणिज्य क्षेत्रका उद्यमीलाई पनि सम्मान गरिएको थियो । महाधिवेशनले सङ्घको नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ