arrow

स्क्रब टाईफसको प्रकोप बढ्यो,दुई जनाको मृत्यु

logo
प्रकाशित २०७३ असोज १ शनिबार
scrub-typhus.jpeg
चितवन । गत वैशाखदेखि देखिएको स्क्रब टाईफस रोगबाट हालसम्म जिल्लामा २०५ जना प्रभावित भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार वैशाखमा एक, जेठमा एक, असारमा ३१, साउनमा ७७ र भदौ महिनामा ९५ जनामा यो रोग देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीका अनुसार चितवन मेडिकल कलेजमा १८८, नारायणी सामुदायिक अस्पतालमा नौ र भरतपुर अस्पतालमा आठ जनामा यो रोग देखिएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चितवन र तनहुँका एक/एक जनाको मृत्यु भएको हो । 
 
भरतपुर अस्पतालले निःशुल्क रुपमा यो रोगको ल्याव परीक्षण गरिरहेको छ । कार्यालयले २०० कीट उपलब्ध गराएपछि अस्पतालले निःशुल्क परीक्षण गराएको हो । हरेक महिना यो रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि कार्यालयले समुदायस्तरसम्म पुग्ने गरी स्थानीय सञ्चारमाध्यम, पम्प्लेट र छलफललगायत माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 
जिल्लामा रोगको प्रकोप बढेपछि केन्द्रीय टोलीले मुसाको भिसेरा परीक्षण गर्न नमूना सङ्कलन गरेको छ । केसीका अनुसार टोलीले १०० वटा मुसाको जाल हाले पनि १० वटा मुसा समात्न सफल भएको थियो । १० वटा मुसा परीक्षण गर्दा सात वटामा माइट फेला परेको थियो । 
 
टोलीले स्क्रब टाइफस रोग सङ्क्रमण भएका बिरामीको घरमै पुगेर मुसा समातेको हो । केसीका अनुसार स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल काठमाडौँ, कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौँडा र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि टोलीमा संलग्न थिए । 
टोलीले पश्चिम चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोकमा रहेका विभिन्न घरमा मुसाको नमुना सङ्कलन गरेको थियो । सङ्कलित मुसा माइट सङ्क्रमित छ कि छैन भन्ने परीक्षणपछि मात्रै पत्ता लाग्ने केसीले जानकारी दिए । त्यसैगरी मुसाको कलेजो, फोक्सो, मुटु, मिर्गौला र रगतको समेत नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगिएको छ । उक्त नमुना काठमाडौँमा थाइल्याण्डबाट आएका विशेषज्ञसहितको टोलीले परीक्षण गरिरहेको छ । 
 
यसैगरी टोलीले स्क्रब टाइफस सङ्क्रमण भएका, स्क्रब टाइफसका कारण मृत्यु भएका व्यक्तिको परिवार तथा छिमेकीको समेत गरी ८६ जनाको रगतको नमुनासमेत सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौँ लगेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ