arrow

भारतमा हुने १२औं सागका लागि जुडो खेलाडी छनौट

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
काठमाडौं । भारतमा माघ–फागुनमा हुने आसन्न १२ आंै दक्षिण एसियाली खेलकुद सागका लागि जुडोका ६ खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघले गरेको छनोट प्रतियोगितामा आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष–महिला गरी ६ खेलाडी छनोट भएका हुन् । 
 
सागमा जुडोबाट समान ६–६ पुरुष–महिला गरी १२ खेलाडी सहभागी हुने छन् । बाँकी खेलाडीको टुंगो आइतबार लाग्ने छ । पुरुषको ६६ केजीमुनि काठमाडौंका रमेश मगर पहिलो भए । उनले फाइनलमा नुवाकोटका रामभक्त तामाङलाई पराजित गरे । ८१ केजीमुनि नेपाल आर्मीका पवनकुमार श्रेष्ठले नेपाल प्रहरीका राजबहादुर चन्दलाई हराउदै पहिलो भए । सय केजीमुनि कुनै प्रतिद्वन्द्वी नभेटेका आर्मीका शिवबहादुर बराम स्वतः छानिए ।
 
महिलातर्फ ५२ केजीमुनि आर्मीकी लीला अधिकारी पहिलो भइन् । लीलाले काठमाडौंकी कविता नेपालीलाई फाइनलमा हराइन् । ६३ केजीमुनि आर्मीकी फुपुल्हामु खत्री शीर्ष स्थानमा रहिन् । फुपुले फाइनलमा प्रहरीकी निशा चौधरीलाई पाखा लगाइन् । ७८ केजीमुनि एपीएफ क्लबकी पुनम श्रेष्ठले बाँकेकी कुर्समा राइदासलाई पन्छ्याउदै सागका लागि स्थान पक्का गरिन् ।प्रतियोगितामा ६५ पुरुष र ३४ महिला गरी ९९ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ