arrow

प्रदेश नं २ भन्छ ‘महासंघको विधानमा हाम्रा गुनासा छन्’

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
State-2.jpeg
काठमाडौं। मुलुक संघीय प्रदेशमा भएपछि महासंघको स्वरूप कस्तो बन्ने भन्ने विषयमा महासंघ भित्र पनि घनिभूत छलफल भएको छ । त्यस्तै महासंघको स्वरूप कार्य विभाजन र यसमा जिल्ला तथा नगरको अधिकारको विषयमा पनि घनिभूत छलफल भईरहेको छ । 
 
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हुँदैछ । कात्तिक दोस्रो साता बस्ने महासंघको विशेष साधारणसभाले संघीय उद्योग वाणिज्य महासंघको विधान पारित गर्दैछ ।
 
यस विषायमा जिल्ला उद्योग वाणिज्य संघहरूले पनि धेरै सुझावहरू प्रस्तुत गरिरहेका छन् । महासंघको अबको नेतृत्व कस्तो हुने र विधान कस्तो बन्ने भन्ने विषयमा अझै पनि एक मत भईसकेको छैन । अहिलेको विधानमा एकातिर नेतृत्व चयनको विषयमा चर्चा रहेको छ भने अर्कोतर्फ अधिकार बाँडफाँडको कुरालाई पनि चर्चाको विषय बनाईएको छ । 
 
जिल्ला उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एउटा महत्वपूर्ण र प्रभावशाली क्षेत्र मानिन्छन् । महासंघको कुनैपनि निर्णयमा जिल्ला उद्योग वाणिज्य महासंघको धारणाले पनि निर्णयक भूमिका निर्वाह गरिरहेको हुन्छ । 
 
यसै विषयमा हाम्राकुरा डटकमले प्रदेश नं २ भित्र पर्ने विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग अबको महासंघको कार्य विभाजन र जिल्ला तथा नगरको हैसियत कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंशः
 
जिल्ला उद्योग वाणिज्य संघमा कुरा गर्दा कतिपयले अझै प्रस्तावित विधान प्राप्त गर्न नसकिरहेको बताएका छन् । यसरी विधान प्राप्त नभएका तथा विधानमा सुझाव अटाउन नसकेकाहरूको पनि राय महासंघसम्म पुर्‍याउने लक्ष्य सहित हाम्रा कुरा डटकमले हरेक जिल्ला उद्योग वाणिज्य संघका सुझावहरू संकलन गरि प्रकाशन गर्दै आएको छ । 
 
हामी नेपाल उद्योग वाणिज्य महासंको प्रस्तावित विधानको विपक्षमा रहेका छौ
राजाराम गिरी
अध्यक्ष
गौशाला नेपाल उद्योग वाणिज्य संघ
 
हामी नेपाल उद्योग वाणिज्य महासंको प्रस्तावित विधानको विपक्षमा रहेका छौ । हामीले यस विषयलाई कसैसँग कुरा त गरेका छैनौं । तर अध्यक्ष त निर्वाचित नै हुनुपर्छ । हामी नेपाल उद्योग वाणिज्य संघको विधान मान्छौं । विधान अनुसार जो पनि हिँड्नुपर्छ । यो हाम्रो पनि स्वीकार्य कुरा हो । तर विधानमा नै यस्तो प्रस्ताव गरिनु भने स्वीकार्य कुरा होईन । 
 
वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावमा त हामी विपक्षमा छौं
कृपा शंकर शाह
अध्यक्ष 
जलेश्वर नेपाल उद्योग वाणिज्य संघ
 
हाम्रो यो विधानमा धेरै गुनासो त छैन । तर, हामीले केही त्रुटी भएका विषयलाई यसमा समेटेका छौं । यस विषयमा केन्द्रले सुधार गरेर अघि बढ्छ भन्ने मलाई लागेको छ । हामीले पहिचान गरेका विषयहरूमध्ये एउटा विषय हो केन्द्रीय सदस्यको व्यवस्था बढी भयो । 
 
अहिलेसम्म ३ सय जनासम्म भएको खण्डमा पनि सदस्यता पाउनसक्ने व्यवस्थालाई परिवर्तन गरेर २ हजारसम्म पुर्‍याउने प्रस्ताव गरिएको छ । यो बढी भयो । धेरै उद्योग वाणिज्य संघलाई यस्तो प्रावधानले समस्या सिर्जना गराउछ भन्नेमा हामी विश्वस्थ छौं । 
 
अर्को कुरा प्रान्तीय अध्यक्षलाई केन्द्रमा केन्द्रीय सदस्यको हैसियतमा मात्रै राख्ने प्रस्ताव गरिएको छ यो आफैंमा विवादित र अधिकार खोस्ने कदम हो भन्ने मैले महसुस गरेको छु । प्रान्तीय अध्यक्षलाई केन्द्रमा कुनै पदाधिकारीको हैसियतमा राख्नुपर्छ भन्ने मेरो माग हो । 
 
अब वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावमा त हामी विपक्षमा नै छौं । यसले महासंघलाई फाइदा गर्दैन भन्ने मेरो कुरा हो । यसमा संशोधन पनि होला यो आवश्यक पनि रहेको छ । 
 
अहिलेको प्रस्तावले महासंघलाई नै कमजोर बनाउँछ
शिव शंकर शाह
अध्यक्ष
जनकपुर नेपाल उद्योग वाणिज्य संघ
 
विधान संशोधन गर्ने विषयमा जति कुरा उठाईएको छ । त्यसले संस्थालाई नै कमजोर बनाउँछ भन्ने मैले बुझेको छु । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावले गर्दा नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्वको गैरजिम्मेवारी पन तथा उत्तरदायित्वबिहीन बन्ने अवस्था सिर्जना हुने निश्चित रहेको छ । 
 
हामीलाई जो अध्यक्ष बनेपनि अब्जेक्सन रहेको छैन । तर मात्रै कुरा के हो भने अध्यक्षलाई भानेट नहाल्दा अध्यक्षको गरिमा कहाँ पुग्छ ? यसरी आफूखुशी निर्णय गर्दै जाने हो भने त वाणिज्यको छुट्टै, उद्योगको छुट्टै वाणिज्य महासंघ बनाए भईहाल्यो नि । यदि यस्तै आफूखुशी गर्दै जाने हो भने उद्योग वाणिज्य संघ फुटन पनि बेर लाग्दैन । 
 
वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा हाम्रो सहमति छैन 
मोहनप्रसाद गुप्ता 
अध्यक्ष
महोत्तरी नेपाल उद्योग वाणिज्य संघ 
 
हामीले विधानको विषयमा अध्ययन गरेर धेरै विषयमा असन्तुष्टि गरेका छौं । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा हाम्रो सहमति छैन । हामी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष समेत निर्वाचन मार्फत् चुनिनुपर्छ भन्ने पक्षका हौं हामी । 
 
अर्काे कुरा प्रान्तीय अध्यक्षलाई केन्द्रमा केन्द्रीय अध्यक्षको हैसियतमा राख्नेकुरा पनि हामीलाई ठीक लागेको छैन । अर्काे कुरा सदस्यताको लागि मापदण्ड थपिएको छ । यस विषयमा पनि हाम्रो असहमति रहेको छ । 
 
हामीले १२ वर्ष अघि माग गरेको प्रस्ताव समेटिएको छ
प्रदीप कुमार केडिया
अध्यक्ष
वीरगञ्ज नेपाल उद्योग वाणिज्य संघ 
 
अहिले प्रस्ताव गरिएको वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव हामीहरूकै हो । हामीहरूकहाँ १२ वर्ष भयो यस्तो व्यवस्था लागू भएको हामीले यस विषयमा पटकपटक कुरा उठाएका पनि थियौं। तर यस विषयमा आसै सुनुवाई भएको थिएन । तर अहिले यस विषयमा कुरा उठेको छ । 
 
यो नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई अस्वस्थप्रतिस्पर्धाबाट मुत्तः राख्नको लागि एकदमै ठूलो हतियार हो । यसलाई पारित गराउनुपर्छ । अध्यक्षबन्नको लागि कुनैपनि नेतृत्वले करोडौं खर्च गर्नु कतिसम्म अपराध हो भन्नुस् त ? त्यसैले अहिले यो विधानमा उल्लेख भएको कुरा स्वीकार गर्नैपर्छ । 
 
 
विधान त हेरेको छैन, तर अधिकार कटौतीगर्ने खालको भए मान्य छैन 
कान्तमणिप्रसाद कलवार
अध्यक्ष
रौतहट नेपाल उद्योग वाणिज्य संघ 
 
हामीले अहिले विधान पाएको पनि छैन । यस विषयमा बोल्नकोलागि त विधानमा के कुरा उल्लेख भएको छ त्यो थाहापाउनुपर्छ । तर मलाई त्यस विषयमा केही जानकारी नभएकोले यस विषयमा म पूरा जानकारी भएपछि मात्रै कुरा गर्छु । 
 
यदी जिल्ला उद्योग वाणिज्य वाणिज्य संघको अधिकार कटौती गर्नेगरी महासंघलाई चाहिँ केन्द्रमा मात्रै केन्द्रीत गर्नेगरी अधिकार प्रत्यायोजन गरिएको छ भने त्यो हामीलाई मान्य छैन । 
 
स्वतः अध्यक्ष बन्नेबाहेक सबै प्रस्ताव स्वीकार्य छ
विनोद प्रसाद शाह
अध्यक्ष
बारा नेपाल उद्योग वाणिज्य संघ 
 
नेपाल उद्योग वाणिज्य महासंघले प्रस्तावित गरेको विधान संशोधनको पहिलो अर्थात् वरिष्ठ उपाध्यक्षलाई अध्इक्ष बनाउने प्रस्ताव बाहेक अन्य सबै प्रस्तावमा हाम्रो समर्थन रहेको छ । कुनैपनि व्यक्तिले आफू स्वतः अध्यक्ष बन्छु भन्ने पक्का भयो भने उसले त्यस पछि आफूभन्दा तलका व्यक्तिहरूप्रति कुनैपनि जिम्मेवारीपन देखाउन सक्दैन । त्यसैले पनि यो प्रस्ताव हामीलाई स्वीकार्य छैन ।
 
यस बाहेक केन्द्रमा प्रान्तीय अध्यक्षलाई केन्द्रीय सदस्यको हैसियतमा राख्ने र सदस्यता लिनको लागि २ हजार जना उद्यामी आवश्यक पर्ने विषयमा हाम्रो सहमति रहेको छ ।
 
यसबाहेकका  जिल्लाहरुमध्ये सप्तरी र रामनगरमा सम्पर्क हुन सकेन भने बाँकी उद्याेग वाणिज्य स‌ंघले ठाेस निर्णय भएपछिमात्रै जानकारी  दिनसकिने जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ