arrow

गगन थापाले छोडेको कृषि–जलस्रोत समिति सभापतिको निर्वाचन शुक्रबार

logo
प्रकाशित २०७३ असोज १० सोमबार
samsad.jpg.jpeg
काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिको सभापति चयनका लागि आउँदो शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्तीले सोमबार आफ्नो कार्यकक्ष सिंहदरबारमा डाकेको प्रमुख तीन दलका नेता एवं प्रमुख सचेतकको बैठकले सभापति चयनका लागि शुक्रबार निर्वाचन गर्ने निर्णय गरेको हो । 
 
त्यसको थप कार्यविधि र सार्वजनिक लेखा समितिको सभापति चयनका लागि विहिबार बस्ने बैठकले थप निर्णय गर्ने सभामुख घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । यसअघि कृषि तथा जलस्रोत समितिको सभापति रहेका गगन थापा स्वास्थ्यमन्त्री भएपछि समिति नेतृत्वविहिन भएको छ । 
 
सो समितिमा सभापति रिक्त रहेकाले निर्वाचनको कार्यक्रम तय भएको उनले बताए । यस्तै, सार्वजनिक लेखा समितिको सभापति रहेका जनार्दन शर्मा समेत अहिले उर्जामन्त्री छन् । 
 
यस्तै, बैठकले संविधानले निर्दिष्ट गरेको महाअधियोग समिति र  संविधान कार्यन्वयन तथा अनुगमन निर्देशन समिति गठनमा भइरहेको ढिलाईबारे समेत सामान्य छलफल भए पनि निर्णय हुन सकेन । 
 
संविधान जारी भएको एक वर्ष वितिसकेपछि त्यसअघि नै गठन गर्नुपर्ने दुई महत्वपूर्ण समिति गठन भएका छैनन् । दलहरुले संविधानमै एक वर्षभित्र संविधान कार्यान्वयन तथा अनुगमन निर्देशन समिति गठन गर्ने भनेका छन् ।  
 
यस्तै, संसदीय सुनुवाई विशेष समितिको सदस्य चयन गर्नेबारे पनि छलफल हुन सकेन । यसबारे अर्को बैठकमा छलफल हुने प्रेस सल्लाहकार शर्माले बताए । 
 
बैठकमा कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता महेश आचार्य सहभागि थिए । प्रमुख विपक्षी एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल तथा सत्तारुढ माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, प्रमुख सचेतक टेक बहादुर बस्नेत र रामनारायण विडारी सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ