arrow

फेरि फसे प्रधानमन्त्री, बालुवाटारमा मधेसी मोर्चाका नेतालाई यसो भनेछन् ?

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
morchaka-netaharu-baluwatarma-new.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका नेताहरुलाई फेरि फकाएर पठाएका छन् । 
 
मंगलबार बेलुकी बालुवाटारमा मोर्चा नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले फेरि आश्वासन बाँडे । जसले प्रधानमन्त्री फेरि विवादमा फस्ने देखिएको छ । प्रमुख विपक्षी एमाले संविधान संशोनप्रति चिडिएका बेला प्रधानमन्त्रीले फेरि मोर्चाका नेताहरुलाई संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन नगर्ने बचन दिएका छन् । 
 
बैठकमा सहभागि तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बैठकपछि हाम्राकुरासंग भने, ‘हामीले प्रधानमन्त्रीलाई तीन वटा विषयमा प्रष्ट्याउन लगायौं । संविधान संशोधन, मधेस आन्दोलनताकाका मुद्र्दा फिर्ता र स्थानीय तहको निर्वाचन एवं पुनःसंरचना ।’ प्रधानमन्त्रीले संविधान संशोधन प्रक्रिया अविलम्ब अघि बढ्ने र संशोधन विधेयक संसदमा लैजाने तयारी भइसकेको बताएको सुनाउँदै रायले थपे, ‘मुद्दा फिर्ता कानूनी प्रक्रिया अनुसार अविलम्ब फिर्ता गर्ने भन्नु भा छ ।
 
स्थानीय निकायको निर्वाचन संविधान संशोधन गरेर मात्रै सम्भव रहेको भन्दै संविधान संशोन नभई निर्वाचन हुनै नसक्ने विषय राख्नु भएको छ ।’ प्रतिवद्धता समेत उहाँको त्यही छ । ता कि निर्वाचन आयोगले आफ्नो काम गरिरहन्छ, हामी आफ्नो प्रक्रिया टुंगो लगाउनेतिर केन्द्रित हुन्छौं, –प्रधानमन्त्रीको भनाई उदृत गर्दै रायले सुनाए ।
 
रायले फेरि भने, ‘संविधान संशोधन नभई निर्वाचन हुँदैन भन्ने हाम्रो लाइनमा प्रधानमन्त्री आउनु भएको छ ।’ यद्यपि, दाहालले विपक्षीले गरिरहेको खरो विरोधको ख्याल गरेका छैनन् । 
 
यस्तै, नेता रायले आफुहरुले मुख्य तीन दलले सैद्धान्तिक सहमति गरेको र छलफल थालेको पुरानै इलाकालाई आधार मान्ने विषय आफुहरुलाई मान्य नभएको बताए । उनले भने, ‘हामीले स्थानीय तह निर्धारणको अधिकार प्रदेशलाई दिनु पर्दछ भनिरहेका छौं ।’ स्थानीय तहको संरचनाबारे प्रधानमन्त्रीले मधेसी नेताहरुलाई सबै दल टेबलमा बसेर राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने बताएका छन् । 
 
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने मधेसी मोर्चाका नेताहरुले राखेका जिज्ञासाको जवाफ मात्रै दिएको र ती सबै छलफलको विषय भएकाले राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने बताएको जानकारी दिए । बैठकमा सहभागि गृहमन्त्री विमलेन्द्र निधिले मुद्दा फिर्ता कानूनी प्रक्रियामा गइसकेको बताएको खनालले सुनाए ।  
 
बैठकमा मोर्चाका तर्फबाट मुख्य दल मध्ये शीर्ष नेतामा सद्भावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अनिल झा, फोरम गणतान्त्रिकका राज किशोर यादव थिए । यद्यपि, मोर्चा र संघीय गठबन्धनका हस्ती संघीय समाजवादी फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी र तराई मधेस सद्भावना पार्टीका अध्यक्षहरु सहभागि भएनन् । 
 
संघीय समाजवादीबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र लालबाबु राउत, तमलोपाबाट वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल, तमसपाबाट रामनरेश राय, रामसपाबाट केशव झा, थरुहट तराई पार्टीबाट गोपाल दहित र नेपाल पार्टीबाट विजय सैंजु सहभागि भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ