काठमाडौ । भारतपछि बंगलादेश र भुटानले पनि पाकिस्तानको राजधानी इस्लामावादमा आगामी महिनामा हुने १९ औं सार्क शिखर सम्मेलनमा भाग नलिने जनाएको छ । सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन उचित वातावरण नरहेको कारण औंल्याउँदै बंगलादेश र भुटानले पनि सम्मेलनमा भाग नलिने जनाएको हो ।
बंगलादेश र भुटानले आफ्नो निर्णयबारे मंगलवार सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको श्रोतलाई उदृत गर्दे भारतीय संचार माध्यमहरुले जनाएको छ । बंगलादेशले सम्मेलनमा भाग नलिने कुरा कुटनीतिक श्रोतलाई उदृत गर्दे बंगलादेशी संचार माध्यामहरुले पनि जनाएका छन् ।
बंगलादेशले सार्कको थालनीकर्ता नै आफू रहेकोले सधै क्षेत्रीय सहकार्यमा प्रतिवद्ध रहेको र त्यसका लागि अनुकुल वातावरणको आवश्यक रहेको जनाएको छ । तर यी कुराको अहिले अभाव देखिएको भन्दै बंगलादेशले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने जनाएको छ। .
भुटानले पनि क्षेत्रीय सहकार्यमा आफू प्रतिवद्ध रहेपनि वर्तमान अवस्थामा क्षेत्रीय स्तरमा आंतकवाद चरम रुपमा मौलाएको भन्दै १९ औं सार्क शिखर सम्मेलनमा आफ्नो सहभागिताको सम्भावना नरेहेको प्रष्ट्याएको छ ।
उरी हमलामा आफ्नो १८ सैनिक जवान मारिएको घटनालाई लिएर मंगलवार भारतले पाकिस्तानमा आगामी महिनामा हुने तय भएको १९ औं शार्क शिखर सम्मेलनमा भाग नलिने जनाएको थियो । सार्क शिखर सम्मेलनमा एउटा मुलुकले पनि सहभागिता नजनाए सम्मेलनको कुनै अर्थ रहन्न । भारतसँगै बंगलादेश र भुटानले पनि भाग नलिने जनाएपछि अब सार्क सम्मेलन पछि सर्ने निश्चित छ ।