arrow

राष्ट्रिय खुला लनटेनिस : संरक्षक र मायांका च्याम्पियन

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
lan-tines-winer.jpeg
काठमाडौं । संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर एक कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।
 
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन् । उक्त फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो । माहिका राणा र भगवती विक संयुक्त रुपमा तेश्रो भए ।
 
मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन् । मायांकाले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन् । विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भए ।
 
त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भए । संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोश्रो भए भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेश्रो स्थानमा रहे ।
 
कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५–५ हजारका दरले नगद पुरस्कार पाए ।
 
पाँचदिने प्रतियोगितामा विभिन्न ४ स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । समानका अवसरमा विभिन्न विद्यालय र क्लब गरी १६ संस्थालाई जुनियर टेनिसको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) बाट प्राप्त र्‍याकेट र बल हस्तान्तरण गरिएको थियो । लनटेनिस संघका केन्द्रीय महासचिव मनोहरदास मुलले सामाग्री हस्तान्तरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ