arrow

थ्रीस्टार क्लव बोर्डोलोई फुटबलको फाइनलमा, उपाधि भिडन्त इष्ट बंगालसंग

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
three-star-new.jpeg
गुवाहाटी । भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालको थ्रीस्टार क्लबले भारतको इष्ट बंगालसंग खेल्ने भएको छ । बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले युनाईटेड सिक्किम र ईस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
गुवाहाटीको नेहरु स्टेडियममा भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले युनाईटेड सिक्किमलाई अतिरिक्त समयको खेलमा ४–१ ले पराजित गर्यो । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
 
पहिलो हाफको खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेनन । खेलको १७ औ मिनेटमा निराजन खड्काको उत्कृष्ट क्रसलाई सुनिल वलले गोलको दिशा दिन असफल रहे । 
 
बिमल घर्तिमगरले ३९ औ मिनेटमा प्रहार गरेको कर्नरमा देबेन्द्र तामाङले गरेको हेड पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा भने थ्रीस्टारले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । असिमजंग कार्कीको स्थानमा विजय गुरुङलाई मैदान छिराउने प्रशिक्षक मेघराज केसीको रणनीति सफल देखियो । ६८ औ मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले एक्लो प्रयासमा गोलकिपरलाई विट गर्दै थ्रीस्टारको खाता खोले । 
 
जित नजिक पुगेको थ्रीस्टारको डिफेन्स लाईनको गल्तिको फाईदा उठाउदै खेल सकिन २ मिनेट अघि सिक्किमका सोनाम छिरिङले बराबरी गोल फर्काए । दोस्रो हाफमा धेरै अवसर सिर्जना गरेपनि थ्रीस्टारले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलियो ।
 
थपिएको अतिरिक्त समयको खेल थ्रीस्टारले पुर्ण रुपमा आफ्नो पक्षमा राख्यो । खेल सुरु भएको पाचौ मिनेटमा मार्टिनले पुन थ्रीस्टारलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि सिक्किमका डिफेन्डरले क्लियर गर्न नसेकेको बलमा विजय धिमालले गोल गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा शुनिल वलको क्रसलाई उपयोग गर्दै विजय गूरुङले थ्रीस्टारका लागि चौथो गोल थपे । 
 
क्लब सेमिफाईनल पुगेकोमा खुसी ब्यक्त गर्दै प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा खेलाडीको गरेको प्रर्दशनमा भने असन्तुष्टि ब्यक्त गरे । ‘प्रतिद्धन्द्ीको स्तर हेर्दा निर्धारित समयमै हामीले खेल जित्नुपर्ने थियो । खेलाडी बढी आत्मविश्वासी देखिदा पहिलो हाफमा गतिलो प्रर्दशन गर्न सकेनौ ।’ केसीले भने । सेमिफाईनल जित्न दबाब रहेको स्विकार गर्दै उनले दोस्रो हाफमा पर्याप्त मौका सिर्जना गरे पनि गोल हुन नसकेको बताए ।
 
‘प्रतियोगिताको सबै खेलको दोस्रो हाफमा हामीले उत्कृष्ट प्रर्दशन गरेका छौ । गोल खाएपछि खेलाडीले वास्तविक खेल प्रर्दशन गरेका छन ।’ उनले भने ‘सेमिफाईनलमा निर्धारित समयमा निस्कनु पर्ने नतिजाका लागि अतिरिक्त समय कुर्न पर्यो । नजिता आफ्नो पक्षमा आएपनि खेलाडीको प्रर्दशनबाट सन्तुष्ट हुने ठाउ देखिएको छैन ।’ ६ बर्ष अघि क्लबलाई प्रतियोगिताको फाईनल पुर्याएका प्रशिक्षक केसीले फाईनलमा इन्डियाको शसक्त क्लबबिरुद्ध खेल्नु पर्ने भएकाले मानसिक रुपमा खेलाडी तयार हुनुपर्ने बताए ।
 
टोलीका कप्तान बिक्रम लामाले समग्रमा प्रर्दशन राम्रो भएपनि क्षमता अनुसारको प्रर्दशन गर्न नसकिएको स्विकार गरे । ‘प्रतिद्धन्द्ीलाई कमजोर सोच्दा पहिलो हाफ राम्रो हुन सकेन । तर गल्ति सुधार गर्दै दोस्रो हाफपछि खेलमा फर्कन सफल भयौ । त्यसैले अतिरिक्त समयमा फराकिलो अन्तरको जित निस्कियो ।’ उनले भने ।
 
थ्रीस्टारले उपाधिका लागि आगामी शुक्रबार भारतको ईस्ट बंगाल फुटबल क्लबसंग खेल्नेछ । दोस्रो सेमिफाईनलमा ईस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई १–० ले हराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ