arrow

सहकारी विधेयक सदनमा

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
samsad.gif
काठमाडौँ। व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न नयाँ विधेयक आएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको शुक्रबारको बैठकमा सो प्रस्तावलाई सदन समक्ष प्रस्तुत गरेका हुन् । 
 
सो विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सहकारी र वाणिज्य बैँकबीचको काम स्पष्ट हुनुपर्ने र सहकारीको भावनाअनुरुप सहकारीको अनुगमन गर्नुपर्नेमा जोड दिए  । 
 
नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ऐन २०४८ लाई समयसापेक्ष बनाउन नयाँ विधेयक आउनु राम्रो भएको बताए  । उनका अनुसार विसं २०४८ मा आठसयको हारहारीमा रहेका सहकारीमा एकलाख सदस्य सङ्ख्या रहेकामा हाल ३२ हजार सहकारी संस्थामा ५१ लाख सदस्य आवद्ध भई  ५३ अर्ब पुँजी परिचालन भइराखेको छ । 
 
सोही पार्टीका गुरुप्रसाद बुर्लाकोटीले सहकारी अर्थतन्त्रको प्रमुख खम्बाको रुपमा संविधानले समेत स्वीकार गरिसकेको अवस्थामा विधेयकलाई अझ परिमार्जन गर्न सुझाव दिए । सोही पार्टीका पशुपति चौलागार्इँले नेपालको अर्थतन्त्रलाई माथि उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए । 
 
नेकपा (एमाले)का केशव बडाल र रेवतीरमण भण्डारीले नेपाली काँग्रेसका भरतकुमार साहले सहकारीलाई प्रवद्र्धन र समृद्धि गर्न विधेयकले काम गर्ने बताए । छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुन्तीकुमारी शाहीले सहकारीबाट जनता ठगिने र पीडित हुनबाट जोगिन नयाँ विधेयक आवश्यक रहेकामा जोड दिए । छलफलमा १६ जना सांसदले भाग लिएका थिए । 
 
सहकारीले आथिक एवम् सामाजिक विकासमा टेवा पुगेको छ : मन्त्री थानी 
 
छलफलमा उठेका प्रश्नका जवाफ दिँदै सहकारी तथा गरिबी निवारण मन्त्री थानीले बैँक पुग्न नसकेका ग्रामीण कुनाकन्दरामा सहकारी पुगी ग्रामीण जनताको आर्थिक उन्नतिमा लागि परेको बताए । मन्त्री थानीले सहकारीमा ५३ लाख जनसङ्ख्या आवद्ध भएको बताउदै सहकारीले आथिक एवम् सामाजिक विकासमा टेवा पुगेको छ भने । 
 
उनले १३३ सहकारी समस्याग्रस्त रहेको चर्चा गर्दै एक व्यक्ति एक सहकारी विधेयकको मुख्य उद्देश्य रहेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ