arrow

पूर्वमन्त्री श्याम सून्दर गुप्ता नख्खु कारागारमा, साथमा प्रहरी इन्सपेक्टर पण्डित पनि

दुवै दोषी देखिएका छन् : एसएसपी अधिकारी

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
gupta-news.jpeg
काठमाडौं । अपरहण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेको पूर्वमन्त्री श्याम सून्दर गुप्ता र सहयोगी प्रहरी निरीक्षक अनिल पण्डित पुर्पक्षका लागि जेल चलान भएका छन् ।
 
जिल्ला अदालत ललितपुरले गुप्तासहित गुप्तालाई सघाउने भैसेँपाटीका प्रहरी प्रभागका निरीक्षक पण्डितलाई समेत जेल चलान गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताए ।
 
अधिकारीले हाम्रा कुरासंग भने, ‘दुवैलाई शुक्रबारै पुर्पक्षका लागि जेल चलान गरिएको छ । गुप्ताको साथमा हाम्रो प्रहरी निरीक्षक पण्डित पनि छ । नख्खु कारागार पठाइएको छ ।’ अपहरण तथा शरीर बन्धकमा दुवै दोषी देखिएका छन् । थप अनुसन्धानबाट अन्य पनि केही खुल्ला,–अधिकारीले भने ।    
गुप्ताले सशस्त्र प्रहरीका पूर्वडिआइजी रन्जन कोइरालाकी प्रेमिका तारा रेग्मीसँग ५० लाख माग गरेका थिए । सोही सिलशिलामा प्रहरी निरीक्षक पण्डितले  रेग्मीसँग ७५ हजार धम्काएरै लिएका थिए । 
 
गुप्ता व्यापारी पवन सांघाइलाई अपहरण गरेको आरोपमा ३ वर्ष ६ महिना डिल्लाबजार कारागारमा बस्दा कोइराला, रेग्मी र पण्डितसंग चिनजान भएको थियो । कैद भुक्तान गरेको एक वर्षमै गुप्ता फेरि पक्राउ परे ।  
 
महानगरीय प्रहरी परिसर ललितपुरले धोवीघाटस्थित रेडरोज इन्टरनेसनल म्यानपावर कम्पनी सञ्चालक तारालाई धम्की दिई ५० लाख रुपियाँ मागेको भन्दै भदौ २० सोमबार दिउँसो पक्राउ गरेको थियो । पछि गुप्ताको नाममा उजुरी गर्ने फरार अभियुक्त रेग्मीलाई समेत ललितपुर प्रहरीले पक्राउ गरेको थियो । 
 
गुप्ता पक्राउ परेपछि रेग्मी र गुप्तालाई सघाउने प्रहरी निरीक्षक समेत प्रहरीको फन्दामा परे । रेडरोज इन्टरनेसनल म्यानपावरकी सञ्चालक चितवन भरतपुर–४ घर भएकी ४२ वर्षीय तारा रेग्मी सशस्त्र प्रहरीका पूर्वडीआइजी कोइरालाकी प्रेमिका हुन् ।  
 
अहिले श्रीमती हत्याको अभियोगमा कोइराला जेलमै छन् । सोही जेलमा प्रहरीले उनकी प्रेमिकालाई समेत पठाईदिएको छ । रञ्जन कोइरालाले गरेको श्रीमती हत्या घटनामा मतियारको रूपमा दोषी देखिएकी ताराविरुद्ध जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाखमा एक वर्ष जेल सजाय सुनाएको थियो । 
 
तर, उनी अदालतको पूरा सजाय भुक्तान नगरी फरार थिइन् । उनलाई कोइरालाले नै भगाएका बताइन्छ । हत्या मुद्दामा ताराले ११ महिना १० दिन जेल सजाय भुक्तान गर्न बाँकी छ । 
 
म्यानपावरका नाममा सर्वसाधारणलाई ठग्ने र गुन्डा प्रयोग गरी कुटपिट गर्नेजस्ता अपराधका घटनामा संलग्न म्यानपावर सञ्चालक तारासँग आर्थिक लेनदेनको विषयमा मनमुटाव बढ्दै गएपछि रूपन्देही भैरहवा घर भई ताल्छीखेलमा बस्दै आएका पूर्वमन्त्री गुप्ताले पटक–पटक ५० लाख रुपैयाँ मागे थिए । 
 
उमेरले ७० काटे पनि गुप्ताले ५० लाख नदिए तारालाई अपहरण र इज्जत लुट्नेसम्मको धम्की दिएपछि उनी उजुरी दिन प्रहरी परिसरमा पुगेकी थिइन् ।   डिल्लीबजार कारागारमा रहेका रञ्जन र गुप्ताबीच जेलमा राम्रो सम्बन्ध थियो । 
 
सोही बेला जेलमा रञ्जनलाई भेट्न जाने क्रममा गुप्ता र ताराबीच पनि चिनजान भएको प्रहरीको भनाइ छ । जेलबाट छुटेलगत्तै तारासँग मिलेर वैदेशिक रोजगारसम्बन्धी गोप्य रूपमा काम गर्दै आएका उनीहरूबीच गत वैशाखबाट विवाद सुरु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ