साथीको बिहे

राजेश ढकाल, प्रकाशित मिति : २०७३ असोज १६ आइतबार , ४,९८० पटक हेरिएको
काठमाडौ । दमारे कान्छा  याँ आ त ! मास्टर जंगिए । म एउटा कुनामा बसेर मास्टरको फूर्ति हेरेको छु । घुम्रिएका जुँगामा ताउ–लाउँदै अच्छा लेकिन शैलीमा कुरा गरेका छन् । पूर्तिघाटको लुईंटेलको होटलमा बसेको म मास्टरको चर्तिकला हेरेको छु । घरजान हिँडेका मास्टरसाप् पूर्तिघाटमै रेलिमै भएछन् । रिल्याक्स गरेछन् ।
 
यसै पूर्तिघाट झरेर ,घुमेर निस्कन पर्ला भन्दै झरेको म बजारको माहोलले ततायो फेरी । पुर्तिघाट बजारकी अर्धचेत महिलाले फेरी तमाशा देखाई । ओ राजेश भाई आइज त दाईको फोन आयो । पूर्तिघाटको ब्लु स्काई  बोर्डिङ नेर पुग्दा एउटी केटी मुस्कुराउँदै निस्की । आँखा जुधाउने साहस गरी  । मैले बाल मतलव राखिन । 
 
शारदा मेडमको कान्छो छोरो काठमाडौंबाट ल्याब टेक्निसियन पढेको, खाइलाग्दो,जागिरे यस्ता बाटामा हिँडने तरुनी हेरेर बस्छ ? मनमनै भुतभुताउँदै छिरे बोर्डिङमा । प्रकाश दाई आका रैछन् , जोहाङ्गबाट । दाईले बोलाका रचन् । 
 
आत्मीय दाजुको मिलनले प्रसन्न भएँ । प्रकाश दाई र म यतिबेला घुमाउनी माथिको बेलको रुखनिर  आइपुग्याैं, झमक्क साँझ परेको थियो । केटा–केटा भएसी त्यही न हो, केटीका कुरा......................।
 
“ए राजेश त्यो त पैला गइच नी” प्रकाश दाईले भन्नुभो । को ? म झर्किएँ, त्यो के अनामनगर चोकमा बस्थी नि  ..........? प्रकाश दाईले भन्नुभो । हँ ? म झस्किएँ । को सित नि ? मैले भने खै तेस्का बाले भन्थे हिजो मिर्मी भेटेको तै भन्थे त । 
 
ठिकै भो बाले ससुराली नजिक बनाउन हुन्न कान्छा भन्थे । 
 
पैला गई रामै्र भो, मैले भने । 
 
जागिरे हो रे । बराचौरको  । प्रकाश दाईले भन्नुभयो । 
 
म जंगिएँ । “साला केटीहरु दिनरातसँगै बसेर, काम गरेर राती बाहुपाशमा अल्झेर सुत्न छाडेर, बुढो पाँचथरमा  सिरानी च्यापेर सुत्नी,   यहाँ घरमा बुढी सिरानी च्यापेर, साले केटीहरुको बुद्धि ,भ्रष्टाचारीको बिऊ...”   
 
यतिबेला हामी उर्लेनी घरमा छौं । प्रकाश र बा कुरा गर्दैछन् । बाहिर दलानमा । म गोठमा  बाँधेका बाख्रा थुन्न तम्सिएको छु । बाख्रा त थुनिए तर मन थुन्न सकिएन । मन त जतिबेला नि हानिएर गुदी खोला तर्न खोज्छ । छेक्न खोज्छु फेरी काठमाडैाँको नगरकोट र दामन पुग्छ । ऊ सँगैका रमाइला पलमा अल्झिन्छ यो मन.........।
 
घरमा बा र प्रकाशको गफ चलिराखेको छ । 
 
दुवै गफाडी.....अझ थपिएका छन्  । गाउँका अरु.......
 
मलाई दिक्क लागेको छ । 
 
कहाँ  पुगिहोली नि....? के गदै होली नि.....? फुत्केको माछो ठुलो भने झैँ भाको छ । उतिबेला सन्किनाले बिग्रेको हो । 
 
गाली गर्छु, आफैलाई साँझ सुत्नेबेला भने  ।
 
“दाई साँच्चै हो त ?” हो नि । 
 
रात नसुतेरै गयो । सम्झिन्छु, कोटको पूजा ।
 
 उसको घरबाट पञ्चौली लगेको ।
 
 हाम्राबाट बोका, दुइटै परिवारबाट लगेको  । कारगिलको लडाइँको बेला उसका ठूलाबा कारगीलमै । हाम्री आमाले घरका सपरिवार भएरै जाने निर्णय गर्नुभाको । दाई चितवन पढ्न । म कालो पाठो समातेर निस्किदै गर्दा उताबाट ऊ आई  । कैलो–कैलो कपाल, निलो फ्रक, सेतो सट, रातो रिबन बाँधेकी । पकुल्ली केटीले भेडो समातेकी, म पनि भर्खर कक्षा ७ मा पढ्दै  । 
 
ऊ सानै थिइ तर बालसुलभ प्रेमले तान्यो । पञ्चेबाजा सहित लगेको पञ्चौली । ऊ र म सँग–सँगै हिँड्यौ । मेरो बोकाले उसलाई हान्न खोज्यो तर ऊ तर्की । कोटमा नै उसको र मेरो पहिलो भेट भाको हो । ऊ ठूलीआमाको घर बस्थी । 
 
स्कुल पढ्दा धेरै गाढा भयो, मित्रता......। मैले जिस्काउँथे, ऊ हाँस्थी मात्र । ऊ जुनियर थिई तर म सँग जिस्किन खोज्थी । एवं रितले देउराली हँुदै काठमाडांै सम्म सिञ्चिएर आयो माया । 
 
पछि मैले छोँडे, झोंकमा र जोशमा । हो ,उ आज कसैकी भई.......। 
 
म एकदम निशब्द छु । ओकेङ्ग र चापाखोरमा एकदम स्याल कराएको आवाज छ । मन एकोहोरिएको छ ।
 
रुखमा बसेको चराले उड्दा हाँगो हल्लिन्छ, । त्यस्तै मनमा बास बसेको मान्छेले छोेड्दा पनि मन तरङ्गित हुँदो रहेछ । 
 
माया भन्ने चिज यस्तै रहेछ । पहिले छाडेकीलाई पनि हेर्न मन लाउने । हानिएर गएकी उसको सम्झना आउनी मात्र । अर्कोदिन प्रकाश दाई  ओरालो लागे । हेर्दा हेर्दै गुदीखोला क्रस गरे ।  घुम्तीको छेउमा  बसेर हेरेको छु । घरी उसको घर त घरी प्रकाशदाईलाई ।
 
अर्को दिन फोन आयो बराचौरबाट घनेको....। “ओ, राजेश बिहे गरे यार, भोली पाटी दिनी, भित्र्याउने हो । आइज है...रामनाथ, रमेश अनि तेरो दाई रघुलाई नि भन् है ।”
साले ! सरकारी जागिरे भको भगाएर गर्नु पर्छ त । कसलाई गरिस्, मैले सोधे  हा...हा...हा...हा एक हलको मेला हाँस्दै भन्यो । सरप्राइज यार ...? आइज न त.....। 
 
अर्को दिन सब केटाहरु मिलेर हानियो बराचौरतिर । साथीको बिहे भोज खाने भनेर....।
 
बाँध हँुदै धैरेनी झरियो । गण्डकी माथिको पूल तरी उकालो चढेर  माथि ढुङ्गामा बसियो । बराचौरको सिरानमा देखियो उसको घर । आँगनमा मान्छे डम्माडम्मी ....। ठूलो स्वरमा क्यासेट घन्काका...। हामी आँगनमा पुग्यौं । साथीको नाताले विवाहको गेटमै लिन आयो घनु...। घनु, म, रामे, रमेश, एकैचोटी लडेको लोक सेवा आयोग  ।
 
ऊ पास भो । हामी फालिएको क्षण सम्झँे  । साथीले  प्रगति गरोस् भन्ने कामना गरे । 
 
साले ! ल बधाई छ....। ल भाउजु लाई हेरम् अनि बल्ल बस्ने, हाँस्यो ऊ....।
 
भित्रबाट निस्की विमला । घनुले चिनायो सबै साथीहरु हुन् भनेर ।
 
 म अवाक् थिएँ । आँगनको मेचमा बसेर पूजा गरेको हेरिरहेँ । गीत घन्किरहेको थियो । 
 
तिम्रो र मेरो सम्बन्ध धेरै माथि हो ........
 
तिम्ले बिहे आँटेको केटा त मेरो एकदम मिल्ने साथी हो.........
 
नयाँ