arrow

बन्दले स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामीलाई सास्ती

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2044335725.jpeg

म्याग्दी । म्याग्दीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । बेनीस्थित जिल्ला अस्पताल र ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको हो ।

जिंक चक्की, एन्टासीड, गज ब्याडेज, सर्जिकल ग्लोब, एमोक्सिसिलिन, हायासिन ट्याब्लेट र आँखा रोगसम्बन्धी औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । टेण्डर गर्न ढिलाइ हुनु र बन्दका कारण स्वास्थ्य मन्त्रालयअन्तर्गतको केन्द्रीय र क्षेत्रीय मेडिकल स्टोरबाट ढुवानी हुन नसक्दा जिल्लामा औषधि आपूर्ति हुन सकेको छैन ।

निःशुल्क वितरणका लागि तोकिएका औषधि गोदाममा सकिएकाले जिल्लाका स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको स्टोर शाखाका नायब सुब्बा सुरेश पौडेलले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाउने औषधि सकिएपछि सर्वसाधारण निजी क्लिनिकबाट खरिद गर्न बाध्य भएका छन् ।

सत्तरी प्रकारका औषधि हुनुपर्ने गोदाममा अहिले मुस्किलले २०–२५ प्रकारका औषधि उपलब्ध छन् । दोस्रो चौमासिकका लागि गाउँका स्वास्थ्य संस्थामा पठाउने औषधि असोज महिनाभित्रनै जिल्ला आइपुग्नुपर्नेमा अझै प्राप्त भएको छैन ।

यस वर्षका लागि आवश्यक औषधि आपूर्ति गर्नका लागि अघिल्लो वर्षनै टेण्डर आह्वान गर्दा ढिलाइ हुनु र तराई मधेस क्षेत्रमा भएको बन्दका कारण बाराको पथलैयास्थित केन्द्रीय मेडिकल स्टोरमा भएका औषधि ढुवानी हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयले भने चालु आवमा खरिद गर्ने औषधिका लागि टेण्डर प्रक्रिया सुरु गरिसकेको नायब सुब्बा पौडेलले बताए । सरकारले जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५९ र स्वास्थ्य चौकीबाट ४३ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ